संस्कृतिस्थानिय समाचार

बाका देय् सनाःगु खलःको २४ औं वार्षिक साधारण सभा सम्पन्न

१२ पुस २०७९, केके मानन्धर, काठमाडाैं ।
काठमाडौंको इन्द्रचोकस्थित मानन्धरहरुको बाका देय् सनाःगु खलःको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गुठीले ऐतिहासिक र धार्मिक महत्त्व बोकेको बाका भैरवको चर्चा गरी कार्यक्रम गरेका छन् ।

कार्यक्रममा शिक्षा सेवी विजय कुमार मानन्धरले इन्द्रजात्राको क्रममा आकाश भैरवसँगै प्रदर्शन गरिने बाका भैरवको महत्त्वको विषयमा प्रकाश पारे । ‘उहिले बाका भैरवले तत्कालीन काठमाडौं नगरको आधा भूभाग जितेका थिए । बछि र बाखा भैरव शब्द अपभ्रंश भएर बाका भैरव हुन पुगेको सुनेको छु । बछिको अर्थ स्थानीय भाषामा आधा भन्ने हुन्छ । यो आधारले उहिले आधा नगर जितेका भैरवलाई हामीले संरक्षण गर्दै आएका छौं ।’ मानन्धरको भनाइ थियो । उहाँले किंवदन्ती र परम्पराकै आधारमा इन्द्रजात्राको एक दिन अगाडि प्रदर्शन गरेर जात्रा सकिएको भोलिपल्ट बाका भैरव भित्र्याउने चलन रहेको बताए ।
हुन पनि सत्ययुगमा महामायाले त्रिदेवलाई ५ किसिमको वर दिए पश्चात् भैरवको उत्पत्ति भएको विश्वास गरिन्छ । स्थिर वैंश, स्त्री शक्ति, शताब्दी आयु, त्रिगुण र कर्तव्यको वरदान प्राप्त गरेका त्रिदेव  नै हाम्रो लागि रक्षक र क्षेत्रपाल भएको शास्त्रमा उल्लेख छ ।

 

कार्यक्रममा संघीय सांसद माननीय विराजभक्त श्रेष्ठले बाका भैरव गुठीलाई व्यवस्थित गर्ने क्षेत्रमा सक्दो सहयोग गर्ने बताए । माननीय श्रेष्ठले सामुदायिक रूपमा संगठित भएकाहरूले संस्कृति संरक्षणमा दिएको योगदानलाई कदर गरी स्थायित्वको लागि आग्रह समेत गरे ।

त्यस्तै, काठमाडौं ८ ‘क’ का प्रदेश सांसद शैलेन्द्र मान बज्राचार्यले निस्वार्थ भावनाबाट प्रेरित भएर काम गर्नुपर्नेमा जोड दिए । देश र जनताको लागि समर्पित जनप्रतिनिधिहरूलाई समुदायले प्रोत्साहन दिन समेत आग्रह गरे ।

कार्यक्रममा फरक विधामा योगदान दिएका र शैक्षिक क्षेत्रमा उपलब्धि हासिल गरेका समुदायभित्रका १८ जना महानुभावहरू सम्मानित भएका थिए । गुठीका कजि न्हुच्छे नारायण मानन्धरको सभापतित्वमा सामाखुसीमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय मानन्धर संघका सभापति मनोज कुमार मानन्धर, राजनीतिज्ञ, समाजसेवी, गुठीका पदाधिकारीहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *