पत्रकारितास्थानिय समाचार

नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागद्वारा तीन पत्रकारहरुको सम्मान

२४ फागुन २०७८ ।
केके मानन्धर, काठमाडौं ।

नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागले सम्पन्न गरेको कार्यक्रममा तीन पत्रकारहरुलाई सम्मान गरेको छ । आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएबापत उनीहरुलाई ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सम्पन्न भएको कार्यक्रममा सम्मान गरेको हो । सम्मानित हुनेहरुमा क्रमशः सञ्चारकर्मीहरु मञ्जु बज्राचार्य, अनिता गुरुङ तथा पूर्णिमा शाक्य हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानित हुने तीनै जना पत्रकारहरुलाई बधाई दिँदै महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताए । मेयर शाक्यले आफ्नो सम्बोधनको क्रममा उहिले महिलाहरुलाई घरकै मात्र काममा सीमित गराइएको थियो । त्यसोभएर घरका बुज्रुकदेखि महिला र पुरुषहरुले पनि सोही बमोजिम व्यवहार गरिन्थ्यो । तर अहिलेको अवस्था त्यस्तो छैन । घरकी छोरी, बुहारी, आमा र सासुदेखि सक्षम भएका सबैले क्षमता बमोजिमको काम गर्नुपर्ने सोचको विकास भएको बताए । समावेशी संविधानले महिलालाई पनि नीतिगत र नेतृत्व तहमा ठाउँ दिएको हुनाले पुरुषको अगाडि महिला वा महिलाको अगाडि पुरुष नभएर हातेमालो गरी सँगसँगै अगाडि बढ्नुपर्ने मेयर शाक्यले बताए ।

त्यस्तै, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले अझै पनि महिलाहरु चुलोमै सीमित हुनु परेको हुनाले सोचे बमोजिमको प्रगति हुन नसकेकोमा गुनासो गरिन् । “म राजनीतिकर्मी भएको हुनाले नेताहरुलाई भेट्न जानै प¥यो । बिहान ७ बजे भेट्न जाने हो भने बिहान पाँचै बजे उठेर भात पकाएर, घरका सदस्यलाई खुवाएर जानुपर्ने बाध्यता छ । पुरुषहरु जस्तै तयार भएको ब्रेकफास्ट खाएर जाने हो भने उहिल्यै महिला प्रधानमन्त्री भइसके होलान् ।” सम्बोधनको क्रममा उपमेयर श्रेष्ठले बताए । अब महिलाहरु टिकट दिने ठाउँमा पुग्ने हो भने राजनीतिमा पनि मनग्य प्रगति हुने बताइन् । आजको दिनमा राष्ट्रपति महिला भइसकेको हुनाले हामीले चाहने हो भने अवसर रहेको उहाँको भनाइ थियो ।

त्यस्तै, वरिष्ठ पत्रकार शुभेच्छा विन्दुले शताब्दी पुरानो नेपाली पत्रकारितामा पचासौं वर्षपछि मात्र महिला पत्रकारहरु सक्रिय भएको बताइन् । १९५५ मा नेपालमै छापिएको सुधासागर नामक पत्रिकाबाट सुरुआत भएको नेपाली पत्रकारितामा २००८ सालमा मात्र साधना प्रधानले कामक्षदेवीसँग मिलेर आफ्नै सम्पादनमा पत्रिका छपाएकी थिइन् । यो आधारले नेपाली पत्रकारितामा महिलाहरुको सहभागिता ५३ वर्ष पछाडि रहेको देखिन्छ । तर पछिल्लो समयमा महिला पत्रकारहरु फिल्ड रिपोर्टिङमा जाने, क्यामेरा बोकेर समाचारको लागि जोखिमपूर्ण काममा समेत खटिएको शुभेच्छाले बताइन् । नेपाल पत्रकार महासंघले विधानलाई संशोधन गरेर समावेशी बनाएपनि महिला पत्रकारहरु निर्णायक तहसम्म पुग्न नसकेकोमा गुनासो गरिन् । त्यसैले अब समाजलाई आँखा देखाउने दायित्व रहेको पत्रकारितामा महिलाहरु पनि सशक्त बन्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सञ्चारकर्मी अनिता गुरुङले पत्रकारितामा पुरुषले जस्तै महिलाले पनि समान रुपमा श्रम गर्ने हुनाले त्यसमा विभेद गर्न नहुने बताइन् । महिलाहरुको लागि हरेक क्षेत्रमा दया होइन अवसर दिनुपर्नेमा गुरुङले जोड दिएकी थिइन् । तर हामी महिलाले त्यसमा क्षमता विकास गरेर दक्ष हुनपर्ने विचार गुरुङको थियो ।

दबूकी उपाध्यक्ष तथा महिला विभागकी संयोजक रचना श्रेष्ठको संयोजनमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, सञ्चारकर्मी मञ्जु बज्राचार्य, दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, सहसचिव प्रेरणा शाक्य लगायतले आआफ्नो विचार राखेका थिए ।

उक्त कार्यक्रममा सल्लाहकारद्वय रमेश काजी स्थापित, विजयरत्न असंबरे, किरण शाक्य, काठमाडौंका अध्यक्ष अरविन्द्र मान सिंह, काभ्रेका अध्यक्ष सिद्धिबहादुर कर्माचार्य लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *