शिक्षासमाजसेवास्थानिय समाचार

ललितपुरमा ज्यापु कल्याण भवनको शिलान्यास सम्पन्न

२६ फागुन २०७८, ललितपुर ।

“विगतमा म पनि यस ज्यापु समाजको अध्यक्ष भै काम गरिसकेको छु, मेरो कार्यकालमा म लगायत मेरा सहयोगी मित्रहरु र मेरा अग्रजहरुको सल्लाहमा भिजन २०२० कार्यक्रम ल्याएको थिएँ । त्यसैको बलमा आज ज्यापु समाज यस स्थितीमा पु-याउन सकेकोमा म आफूलाई भाग्यमानी सम्झेकाे छु । त्यसैले तपाईहरुले पनि आगामी दिनमा यस ज्यापु समाजलाई अग्रगमनमा लानको लागि भिजन २०४० वा भिजन २०३० को कार्ययोजना बनाउनोस् त्यसलाई सफल बनाउन हामी लागी पर्छौं ।” ललितपुर महानगर वडा नं. ११ सैंथुगणेश पलँध्वाखामा ज्यापु समाज यलको आयोजना ज्यापु कल्याण भवनको हिजो सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले आफ्नो मन्तव्य राख्दै महानगरले मेगा प्रोजेक्टमा सहयोग गर्ने कार्यक्रम अन्तर्गत ज्यापु समाज ललितपुरलाई ५ वर्षमा ५ करोडै सहयोग गरिसकेको समेत स्मरण गराउनु भयो ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम काउन्सील (सीटीइभीटी) का प्रमुख दिपक पौडेलले सीटीइभीटीसँग पाठ्यक्रम तयार छ, ज्यापु कल्याण भवन तयार भैसकेपछि महानगर, सीटीइभीटी र ज्यापु समाज सहकार्यमा जानु पर्ने बताउँदै यहाँबाट सक्षम जनशक्ति तयार हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

ज्यापु समाज यलका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले स्वागत मन्तव्य राख्दै ज्यापु समाज यलको दीर्घकालीन योजनालाई सार्थक बनाउन दक्ष जनशक्ति तयार गरी आर्थिक, सामाजिक रूपमा समुदायलाई सबल बनाउने उद्देश्यले विभिन्न तालिम, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी आदि गर्न ठाउँ अभावका कारण यो ज्यापु कल्याण भवन निर्माण गर्न लागेको हो । जग्गा दाता स्व. चिरिमै महर्जनबाट दान दिनु भएको ललितपुर महानगरपालिका वडा नं ११ पलँध्वास्थित १२ आना जग्गामा करीब ४ करोड लागतमा तयार हुने अन्तराष्ट्रिय स्तरको भवन निर्माणका लागि ललितपुर महानगरपालिकाबाट आर्थिक सहयोग गरेको बताउनु भयो ।

चार तल्लामा बन्ने ज्यापु कल्याण भवनमा आधुनिक तालिम कक्षहरु, सभा कक्ष, कार्यालय कोठाहरू हुनेछन् भने यहाँ दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक विभिन्न खालका तालिमहरु दिन र आर्थिक रुपमा सबल बनाउनको निमित्त सेमिनार गोष्ठीहरू गर्ने उद्देश्यले निर्माण हुन लागेको हो ।

उक्त कार्यक्रममा स्थानिय गन्यमान्य व्यक्तित्वहरू, ज्यापु समाज यलका पूर्व अध्यक्षहरू, मानार्थ सदस्य, पदेन सदस्यहरू, टोलका अध्यक्षहरू, टोल प्रतिनिधि, महिला प्रतिनिधिहरुको सहभागीतामा रहेको थियो ।

ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घनश्याम पौडेलले पनि आफ्नो मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *