मनाेरञ्जनमहानगर समाचारमहिला

ललितपुरमा महिला उद्यमी महिला मेलाको आयोजना गरिने

२६ फागुन २०७८, ललितपुर ।
ललितपुर महानगरपालिका १६ वडा कार्यालयले १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यहि फागुण २७ गते शुक्रबारदेखि २९ गते आईतबार ललितपुर स्थित नागबहाल र इलाननीमा महिला उद्यमी मेला आयोजना गरिने भएको छ ।

हिजो यहाँ आयोजिक एक पत्रकार सम्मेलनमा १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले “महिला सशक्तिकरणको आधार ः उद्यमशीलता र रोजगार” भन्ने मूल नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल सुधार समितिसँगको सहकार्यमा उक्त मेला आयोजना गर्न लागिएको बताए ।

कार्यक्रममा अध्यक्ष शाक्यले स्थानीय महिला उद्यमी र व्यवसायीद्वारा उत्पादित र बिक्री वितरण गर्दै आएको सामग्रीको प्रर्वद्धन गरी महिला उद्यमशीलतालाई प्रर्वद्धन गर्ने यस मेलाको मुख्य उद्देश्य रहेको बताउँदै हस्तकला, संस्कृति, कलाकार, फोटोग्राफी, संगीत र समाजका विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभा पहिचान गर्ने र लुकेका प्रतिभा प्रस्फुटन गराउने पनि मेलाको मुख्य उद्देश्य रहेको बताए ।

मेलामा स्थानीय महिला समूह र विभिन्न सहकारीहरुले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, धातुका मूर्तिहरु, दैनिक प्रयोगका सामग्रीहरु खाद्य सामग्री, लत्ता कपडा र सज्जावटका सामग्रीहरुहरुको गरी ५१ वटा स्टल नागबहालमा रहने छन् भने हस्तकलाका सामग्रीको सहुलियत दरमा बिक्री वितरण गर्ने स्टलहरु पनि रहने छन् ।

उक्त मेलामा नेवाः खाजाका विविध स्टलहरुका साथ सांगीतिक प्रस्तुती, फेसन शो, फोटोग्राफी, चित्रकलाको प्रदर्शनी हुनेछन् भने “महिला उद्यमशीलताका चुनौती र अवसर, हस्तकला क्षेत्रमा महिला” विषयमा प्यानल छलफल पनि हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *