जात्रा पर्वसंस्कृति

बसन्तपुरमा आज चीर गाडी सप्ताहव्यापी होली पर्वको शुभारम्भ

२६ फागुन २०७८, काठमाडौं ।

आज फागुण शुक्ल अष्टमी (चिल्लाथ्व अष्टमी)का दिन बसन्तपुरमा राजकिय सम्मानसाथ चिर गाडी होली पर्व शुरु गरियो । गुरुजुको पल्टनद्वारा टोप सहितको सलामी दिई चिर ठड्याइएको थियो ।

यहाँका मानन्धर समुदाय (धालसिक्व सायमी) को प्रत्यक्ष संलग्नतामा हप्तादिन अघिदेखि यो चिरको तयारी शुरु गरी आज वहाँहरुकै सक्रियता चिर ठड्याइयाे र पूर्णिमाका दिन सो चिर ढाली टुँडिखेलमा लगेर दहन गरे पछि होली पर्व समाप्ति हुन्छ ।

ललितपुरमा लायकु क्षेत्रमा रहेको कृष्ण मन्दिर अगाडि पनि आजैका दिन चीर गाडीन्छ भने भक्तपुरमा भिमसेन मन्दिरमा भिमसेनको लिंगको रुपमा काठको लिंग र द्रौपदीको योनीको रुपमा रातो कपडा राखी समागम भएपश्चात होली शुरु हुन्छ ।

ऋतुराज बसन्तको आगमनसँगै नेपालमा मनाइने पहिलो पर्व हो होली । जसलाई फागु पनि भनिन्छ, अबिरको जात्रा पनि भनिन्छ । हिन्दूहरुले मनाउने यो पर्व नेवार समुदायमा पनि अत्यधिक प्रभाव रहेको छ । जसमा एउटा लोकगीत निकै नै प्रचलित छ ‘अबिरया होली तं चाया ला ल्यासे, अबिरं छंगु ख्वा हिसी दयेका बी’ । प्राचीनकालदेखि प्रचलित हुँदै आएको यो पर्वलाई बसन्तोत्सवको रुपमा पनि लिइने गरिन्छ । विभिन्न प्राचीन ग्रन्थहरु कामसूत्र, लिङ्गपुराण, वराहपुराण, भविष्योत्तरपुराण, महाभारत आदिमा यस पर्वलाई आ–आफ्नै कथा वस्तु अनुसार होली या फागुको रुपमा वर्णन गरिएको पाउँछौ ।

गोपालराज वंशावली अनुसार नेपालमा यो पर्व पूर्व मध्यकालदेखि शुरु भएको इतिहास पाइन्छ । होली फाल्गुण अष्टमीका दिन चिरोत्थान पश्चात आठ दिनसम्म मनाइन्छ र पूर्णिमाको दिन चिरदाह पश्चात यो पर्वको समाप्ति हुन्छ ।

एक आख्यान अनुसार भगवान् श्री कृष्णको समयमा गोपिनीहरू यमुना नदीमा सर्वाङ्ग नाङ्गो रही नुहाउने गर्दथे । सर्वाङ्ग नाङ्गो भई नुहाउनु अशोभनीय कार्य हुँदा श्रीकृष्णले ती गोपिनीहरूलाई ठीक बाटोमा ल्याउने उद्देश्यले तिनीहरू नुहाइरहेको बेला तिनीहरूका सम्पूर्ण लुगा फाटो रूखमा झुण्ड्याइदिएका थिए । पछि ती ग्वालिनीहरूले आइन्दा नाङ्गो भई ननुहाउने बाचा गरेपछि भगवान् श्रीकृष्णले उक्त लुगाहरू तिनीहरूलाई पुनः फर्काइदिएका थिए । चिरोत्थान गर्दा रूखमा विभिन्न रंग विरंगी कपडाका टुक्राहरू झुण्ड्याउने जुन परम्परा छ त्यसको सम्बन्ध उपर्युक्त आख्यानसित नै सम्बद्ध रहेको स्पष्टतः देखिन आउँछ ।

त्यस्तै अर्को आख्यान अनुसार दानवराज हिरण्यकशिपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाई बहिनी होलिकासँगै आगोमा राखी दाह गर्ने प्रयास गरेको, तर प्रल्हादलाई आगोले नछोएको र अग्निले नछुने वरप्राप्त होलिका स्वयम् नै दाह भएको घटनालाई लिई तिनकै नाममा होली उत्सव मनाई चिरदाह गरिएको सित सम्बन्ध रहेको स्पष्टतः देखिन आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *