कामपा २७ वडा कार्यालय भवन शिलान्यास सम्पन्न
२४ माघ २०७८ ।
काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं २७ को कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरपालिकाको रु. ३ करोड ७९ लाख २७ हजार ७१८ लागत इस्टिमेटमा ज्याथाको छुस्याबहाल अगाडि निर्माण हुन लागेको उक्त भवनको आज कामपाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सामुहिक रुपमा शिलान्यास गरे ।

शिलान्यास कार्यक्रमपछि मेयर शाक्यले महानगरको व्यवस्थित सेवा प्रवाहका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधार भएका धेरैजसो वडा भवनहरु बनिसकेको र केहीको शिलान्यास भइसकेको बताउनुभयो ।
प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय बनाउने निर्णय गरेको स्मरण गर्दै सोही अनुसार वडा कार्यालय भवन निर्माण अगाडि बढिरहेको बताउनुभयो ।
कोठा नपुगेको ठाउँमा तला थप, भवनको एरिया नै नपुगेको वडाको लागि जग्गा खरिद नै गरी वडा भवन बनाइरहेको र केही वडा भवन स्थानीयहरूसँगको सहकार्यमा निर्माण भइरहेको मेयर शाक्यले बताउनुभयो ।

‘अहिले बन्दै गरेका र बनिसकेर सञ्चालनमा आइसकेका वडा भवनहरू प्रविधि मैत्री, यात्रु मैत्री, प्रतिक्षालयको पनि उचित व्यवस्थापन भएको र साथै कर्मचारीहरूको व्यवहार र आचरणमा पनि परिवर्तन आएको हुनाले सबै सेवाग्राहीहरू खुशी भएका छन् ।’, मेयर शाक्यले बताउनुभयो ।
सेवाग्राहि मैत्री नभएको धेरैजसो वडा कार्यालयहरूलाई सुविधा सम्पन्न वडा कार्यालयमा परिणत भइसकेको बताउँदै उहाँले २७ वडा कार्यालय पनि अब छिटोभन्दा छिटो पार्किङसहितको सम्पदा झल्कने आधुनिकताले टल्कने भवन बन्ने भन्नुभयो ।
त्यस्तै कार्यक्रममा आफ्नो मन्तब्य राख्नेक्रममा कामपाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो,‘जनताले आफ्नो अमूल्य मतले हामीलाई यहासम्म पु-याएको भनेको उहाँहरूलाई परेको समस्याको समाधान गर्न नै हो । त्यहि समस्याहरूको निवारण गर्दै आइरहेको र सोही अनुरूप केही दिन अगाडि त्रि.वि.वि. शिक्षण अस्पतालमा सिटीस्क्यान मेसिन खरिदका लागी ६ करोडको चेक हस्तान्तरण गरेको बताउँनुभयो।’

‘महिला र पुरूषको हक अधिकार बराबरी छ, अब महिलाहरूले देश चलाउने मुख्य स्थानहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा नेतृत्व लिनु पर्ने बेला आइसकेको छ’, उपमेयर श्रेष्ठले बताउनुभयो ।
भवन निर्माणका विषयमा कुरा गर्दै वडाध्यक्ष चिनियामान बज्राचार्यले भन्नुभयो, ‘भ्याटसहित वडाकार्यलको लागत अनुमान रु. ३ करोड ७९ लाख २७ हजार गरिएको थियो । निर्माण कार्य खरिद प्रक्रियामा भ्याटसहित २ करोड ८० लाख ८१ हजार ६३१ रुपैयाँ ८९ पैसा कवोल गर्ने निर्माण पक्ष प्रतिष्ठा–रमिता–अम्बुजा जे.भी.ले जिम्मेवारी पाएको छ र श्री ज्याथा युवा तथा सामाजिक विकास क्लब तथा स्थानीयहरूले भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिएकोमा धन्यवाद दिन चाहन्छु ।’
भवनका डिजाइनर आर्किटेक्ट अमित बज्राचार्यका अनुसार भवन जमिन तला सहित ६ तले हुनेछ । सम्पदा मैत्रीका रुपमा निर्माण हुने उक्त भवनको भूमिगत तलामा पार्किङ् हुनेछ । अपाङ्गमैत्रीका लागि भवन निर्माण पश्चात लिफ्ट पनि जडान हुनेछ । पाँचौँ तलामा सभा कक्ष हुनेछ । भवनको निर्माण अवधि ९ महिना अर्थात् ०७९ पुस ३० गतेसम्म राखिएको छ ।