आज श्रीपञ्चमी देशभर विद्याकी देवी श्री सरस्वतीको पूजा आराधना गरिंदै
२३ माघ २०७८ ।
आज श्रीपञ्चमी विद्याकी देवी श्री सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । आजको दिन सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्दछन् ।

आजकै दिन बुद्धधर्मावलम्बीहरुले श्री सरस्वतीको रुपमा श्री मञ्जुश्रीको भव्य पूजा आराधना गर्ने गर्दछन् ।
आजकै दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सम्पूर्ण सिद्धि प्राप्त हुन्छ भन्ने विश्वास सहित विद्याकी अधिष्ठात्री देवी मात्र नभई सिर्जनाकी देवी समेत भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

आजको दिन विशेषगरि उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिर तथा स्थानीय सरस्वतीको मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न स–साना बालबालिका लगायत अन्य भक्तजनको उल्लेख्य घुइँचो लाग्ने गर्छ ।
आजबाट वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमीका रुपमा पनि मनाइने गरिन्छ ।
त्यसै गरि आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक कर्मकाण्डका धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने धार्मिक मान्यता अद्यापि रहिआएको छ ।