२७ औं महानगर दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने
२६ मंसिर २०७८, काठमाडौं ।
०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएपछि हरेक वर्ष मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिंदै आएकोमा यस वर्ष २७ औं महानगर दिवस विभिन्न कार्यक्रमहरूकाे आयोजना गर्दै मंसिर २७, २८ र २९ गते तीन दिन भव्यताकासाथ मनाउने भएको छ ।

२७ औं महानगर दिवस २०७८ मूल समारोह समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा का.म.पा.का मेयर विद्यासुन्दर शाक्यले महानगरले भाषा, संस्कृतिको जगेर्ना, भूकम्पले ध्वस्त बनाएका धरोहरहरुको पूनःनिर्माण र महानगरमा सम्पन्न गरिएका र हुन बाँकी विकास निर्माणका कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पत्रकारहरुद्वारा सोधिएको प्रश्नको उत्तर दिने क्रममा मेयर शाक्यले महानगरको क्षेत्राधिकारभित्र प्रदेश र संघिय सरकारबाट हुने विकास निर्माणको कार्यमा महानगरसँग सहकार्य गर्न अनुरोध गरे ।
का.म.पा.का प्रबक्ता एवं १५ वडाका वडाध्यक्ष ईश्वरमान डंगोलले प्रस्तुत गर्नुभएको महानगर दिवस मूल समारोह समितिको प्रेस विज्ञप्ती अनुसार महानगर दिवसका अवसरमा सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोपको शुरुवात तथा स्वास्थ्य शिविर, सम्पदा क्षेत्रमा विशेष सरसफाई, कोभिड परीक्षण एवं खोप, वक्तृत्वकला र निबन्ध प्रतियोगिता, खेलकुद र सांस्कृतिक कार्यक्रम जस्ता कार्यक्रमहरूको आयोजना गरिनेछ ।

मूल समारोह अन्तर्गत मंसिर २९ गते हुने भव्य कार्यक्रममा परम्परागत बाजा गुरुहरुको सम्मान, उत्कृष्ट वडा कार्यालय घोषणा, जनकमान श्रेष्ठ सुशासन पुरस्कार, स्थानीय सेवा गौरव पदक, करदाता सम्मान, कर्मचारी सम्मान तथा सुशासन पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ ।
कार्यक्रममा का.म.पा.का प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली लगायत महानगरका विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।