खेलस्थानिय समाचार

मेयर कप तेक्वान्दो २०७७ सम्पन्न, प्रतियोगितामा दिलिप स्मृति तेक्वान्दो दोजाङ्ग प्रथम

काठमाडौं, २५ माघ २०७७ ।

जैसिदेवल युथ क्लब र जैसिदेवल तेक्वान्दो दोजाङ्गद्वारा आयोजित प्रथम काठमाडौं जिल्लाव्यापि जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०७७ हिजो भव्यताका साथ सम्पन्न भयो ।

का.म.पा.का मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगितामा आयोजक दोजाङ्गका दुई टिम सहित जिल्लाका १४ वटा टिमहरुले भाग लिएका थिए ।

प्रमुख अतिथिले आफ्नो छोटो मन्तव्यमा तेक्वान्दोले नेपालको छवि विश्वमा उजिल्याएको बताउँदै विजयी खेलाडी तथा प्रशिक्षकहरुलाई बधाई दिए ।

समापन तथा पुरस्कार वितरण समाराेहका सभापति आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले क्लबले स्थापनाकालदेखि सांस्कृतिक, भाषिक एवं स्वास्थ्य लगायत विविध सामाजिक क्रियाकलापमा संलग्न रहेको स्मरण गराउँदै लामो समयको अन्तराल पछि नेपाल र नेपालीको चिरपरिचित खेल तेक्वान्दोको जिल्ला स्तरीय प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सकेकोमा सम्पूर्ण टिमलाई धन्यवाद दिंदै आगामी वर्ष राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने बताउनु भयो । यस खेलको आयोजनाबाट बचेको रकम अन्यत्र खर्च नगर्ने प्रतिबद्धता जनाउँदै खेलाडीकै वृत्ति विकासमा प्रयोग गर्ने पनि बताए ।

कार्यक्रममा का.म.पा. २१ वडाका वडाध्यक्ष उदय चुडामणि बज्राचार्य, नेपाल तेक्वान्दो महासंघका महासचिव दिपराज गुरुङ, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका उपाध्यक्ष एवं क्लबका सल्लाहकार प्रकाश खड्गी, काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्का, रिलायन्स फाइनान्सका प्रमुख अनिल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय भएका दोजाङलाई शिल्ड वितरण गरिएको थियो । जसमा दिलिप स्मृति तेक्वान्दो दोजाङ्ग प्रथम, कोटेश्वर तेक्वान्दो दोजाङ्ग दोश्रो तथा लैनचौर तेक्वान्दो दोजाङ्ग तेश्रो भएको थियो ।

विजयी खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो जसको प्रायोजन अमेरिकामा रहि तेक्वान्दो खेललाई नै निरन्तरता दिईरहेका ग्राण्डमास्टर शुद्धोदन मान रंजितले प्रायोजन गरेको थियो । उत्कृष्ट पुरुष खेलाडीमा कोटेश्वरका सागर सिं भए भने महिला खेलाडीमा विजयश्वरीका एलिना विष्ट र पुम्सेमा आयुस ढुंगेल उत्कृष्ट रहे । साथै उत्कृष्ट प्रशिक्षक दिलिप स्मृतिका राजेन्द्र खत्री र उत्कृष्ट निर्णायकलाई पनि नगद पुरस्कारले सम्मान गरेको थियो ।

प्रतियोगितामा विजेश्वरी ज्ञान मन्दिर, स्यूचाटार तेक्वान्दो दोजाङ्ग, कोटेश्वर तेक्वान्दो दोजाङ्ग, सितापाईला तेक्वान्दो दोजाङ्ग, ढल्को तेक्वान्दो दोजाङ्ग, बालाजु तेक्वान्दो दोजाङ्ग, लैनचौर तेक्वान्दो दोजाङ्ग, इचंगु तेक्वान्दो दोजाङ्ग, मुलपानी तेक्वान्दो दोजाङ्ग, दिलिप स्मृति तेक्वान्दो दोजाङ्ग, कुलेश्वर तेक्वान्दो दोजाङ्ग, दल्लु तेक्वान्दो दोजाङ्ग, सृजना ज्ञान सागर तेक्वान्दो दोजाङ्ग, युनाईटेड तेक्वान्दो दोजाङ्ग लगायत आयोजक जैसिदेवल तेक्वान्दो दोजाङ्गका दुई टिमले भाग लिएका थिए ।

प्रतियोगितामा मिन न्यौपाने, विश्वराज राई, भास्कर श्रेष्ठ, राजेन्द्र डंगोल, सुरेन्द्र खड्गी, भिम तुम्बापो, रमिला खत्री, चन्दु शाही, रन्जु तामाङ, गणेश तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *