श्री पचली भैरव जात्रा सम्पन्न (फोटो फिचर)
कार्तिक ६, काठमाडौं ।
कौलाथ्व पारुदेखि शुरु भएको पचिमह्र श्री पचली भैरव जात्रा हिजो सम्पन्न भयो । कोभिड १९ को महामारीका कारण पिपिई, माक्स, भाइजर, पञ्जा र स्यानिटाजरको प्रयोग गरी स्वास्थ्यका मापदण्डहरु पूरा गरी जात्रा सम्पन्न गरिएको थियो ।

हिजो बिहानैदेखि जात्राको लागि पचली भैरव शक्तिपिठमा विशेष चहल पहल शुरु भएको थियो । गुथियारहरुद्वारा विशेष पूजा आजा सम्पन्न गरी जात्राको लागि जुटेका थिए । ताः गुथि (तान बाँध्ने गुथि) ले जात्राको लागि “ता चियेगु” पश्चात श्री रुद्र विनायक आई पञ्चनाली तीर्थबाट जल ल्याई श्री पचली भैरवको विशेष पूजा आजा पनि गरिएको थियो ।

जात्राको लागि दरबारबाट गुरुजुको पल्टन सहित जुजुको प्रतीक खड्ग आइपुगेपछि जात्रा शुरु भएको थियो । जात्रा शुरु भएपछि गुरुजुको पल्टनले तोप पड्काई सलामी दिए पश्चात जात्रा अघि बढेको थियो ।
जात्राको क्रममा देश परिक्रमा अन्तर्गत पचली पिठबाट टेकु मचली, गोफल, लगन, ज्याबहाल, जैशीदेवल, चिकंमुगल, मरु हुँदै बसन्तपुरबाट हनुमान ढोकामा सरकारी पूजा पश्चात जीवित देवी कुमारीसँग दृष्टि मिलाएपश्चात मरु, चिकंमुगल, जैशीदेवल, ज्याबहाल, दलाछी, ब्रम्हटोल हुँदै श्वेतभैरवको तीन पटक परिक्रमा पश्चात ज्याबहाल स्थित गुथियारको घरमा भित्र्याए पश्चात जात्रा सम्पन्न भएकोे थियो ।

श्री पचली भैरवसँग दृष्टि मिलाउनको लागि जीवित देवी श्री कुमारीलाई हनुमानढोका ल्याउनु पर्नेमा कोभिड महामारीका कारण यस वर्ष कुमारी घरकै मूल ढोकाबाट सो कार्य सम्पन्न गरिएको थियो । जसबाट श्री कुमारी
यस वर्ष कोभिडका कारण श्री रुद्र विनायकको नाय्खिं बाजा र श्री पचली भैरवको मूल बाजा, जुन गथु समुदायद्वारा बजाइन्छ, मात्र समावेश गरिएको थियो ।
एक किंवदन्ती अनुसार श्री पचली भैरव (आजु) तत्समय फर्पिङका राजा थिए । उनी एकै रातमा काशीमा गएर स्नान गरी काठमाडौंमा रहेकी प्रेमिका नै अजिमालाई भेट्न आउने गरेको कथन रहेको छ । त्यो बेला कै शक्तिशाली श्री पचली भैरव एक दिन नै अजिमासँग रात बिताएर बिहान काग नकराउँदै फर्कन खोज्दा ढोकामा झुड्याइराखेको फरियाको तलबाट अघि जान सकेनन् । त्यसपछि उनलाई नै अजिमाका आफन्तहरुले समाएर कुटे । श्री पचली भैरवको मृत्यु भएको ठानेर उनलाई टेकुमा फालिदिएका थिए । श्री पचली भैरवलाई फाली पुलु (कात्रो)ले छोपि दिएका थिए । यसरी छोप्दा “प्यम्पा” (हिप) देखिएको स्थानमा अहिले श्री पचली भैरवको शक्तिपिठ रहेको छ । श्री अजिमा आजुको त्यस्तो हालत देखेर दाहा भै त्यही अन्तध्र्यान भए भने निजहरुका सन्तान नाय्खिंमा लुकेर बसेको भेटे । जसलाई हालसम्म नाय्खिं गणेद्य (श्री रुद्र विनायक) भनी श्री पचली भैरवको जात्रामा सरिक हुँदै आइरहेको छ ।



