एक साहित्यिक युगकाे अन्त्य
भदाै ३, काठमाडाैं ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ ।
वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मी गत वर्ष शताब्दी वर्ष उमेर पूरा गर्नुभएका उहाँको आज आफ्नै निवास लैनचौरमा निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि उनलाई अक्सिजन दिएर घरमै उपचार गरिराखिएको थियो।
विसं २०६० मा राष्ट्रकवि उपाधिबाट विभुषित घिमिरेलाइ विसं २०७४ माघ २६ गते नेपाली सेनाले मानार्थ सहायक रथीको सम्मान समेतबाट सम्मानीत गरिएको थियो ।
राष्ट्रकवि घिमिरेको गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामा खण्डकाव्य लगायत किन्नरकिन्नरी गीतसङ्ग्रह, यो नेपाली शिर उचाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे युगान्तकारी गीत लगायत थुप्रै गीत तथा निबन्ध तथा बालसाहित्यहरू प्रकाशित भएका छन् ।