जात्रा पर्वधर्म संस्कृतिसंस्कृति

नराँ पञ्जराँ र दागीं

– शरण डंगोल

येँयाः दागीं

नराँ पञ्जराँ दागीं

प्रत्येक वर्ष गुँला पर्व अर्थात् भाद्र कृष्ण पक्षको त्रयोदशी तिथिका दिन बौद्ध धर्मावलम्बी, विशेष गरी नेवार बौद्ध समुदायद्वारा मनाइने एक मौलिक र ऐतिहासिक सांस्कृतिक तथा धार्मिक पर्व हो पञ्चदान । यो पर्व देशै भरी विशिष्टरुपमा मनाउने गरिन्छ । जसलाई स्थानीय लवजमा पञ्जराँ पनि भनिन्छ । यस पर्वमा विशेषतः पाँच वस्तुहरु धान, चामल, गहुँ, मकै, मास वा भट्मास वा नुन दान गर्ने परम्परा रहेको पाइन्छ । यस लगायत आफ्नो स्वइच्छाले अन्य थप बस्तुहरु पनि दान गर्न सकिन्छ ।

यसै दिन कुनै एक व्यक्ति, गुथि वा समूहको आयोजनामा विशिष्ट एवं भव्य रुपमा दान गर्न पनि सकिन्छ । जसलाई नराँ पञ्जराँ भनिन्छ । यस नराँ पञ्जराँमा नौ थरीका वस्तुहरु सुन, चाँदी, घर, जग्गा, वस्त्र, धान, चाम, गहुँ, नून दान गर्ने भएकोले नव (नौ) दान बाट नराँ भएको भन्ने कथन पनि सुन्न सकिन्छ । देशमा कुनै पनि महाविपत्ति वा सङ्कट नआओस् र सम्पूर्णजनमा सुख, शान्ति तथा समृद्धिको श्रीवृद्धि होस् भन्ने कामनाका साथ यो नराँ पञ्जराँ भनी बृहत् दानको आयोजना गर्ने परम्परा रही आएको छ ।

यसको लागि एक वर्ष अगाडि स्वयम्भूमा आयोजक (हरु) पुगी सूचना दिनु पर्ने हुन्छ । घ्यचाकु सल्हुका दिन श्री हारती अजिमा, अमिताभ बुद्ध र शान्तिपुरमा एक विशेष पूजा गरी हामीले पञ्चदानको आयोजना गर्ने निधो ग-यौं भनी गरिने पूजा लाई ग्वय्दाँ राख्ने भनिन्छ ।

कसै कसैले ६ महिना अघि वा १ महिना अघि पनि यसरी ग्वय्दाँ राख्न स्वयम्भूका गुरुजु बुद्धाचार्यका थाकुलीकोमा जाने प्रचलन रहेको छ ।

पञ्चदानको एक दिन अघि आयोजकबाट स्वयम्भूमा पुगी त्यहाँ अभिताभ बुद्ध अगाडि रहेको ठूलो मण्डलामा विशेष तान्त्रिक पूजा आजा गरी अभिताभ तथागत अमिताभ बुद्धको प्रतिमा दान स्थल जसलाई यहाँ दानशाला भनिन्छ, मा बाजागाजा एवं लावालस्कर सहित जात्रा गरी ल्याई प्रतिस्थापन गरिन्छ । दानशालामा अहोरात्र श्री गणेश, कुमार बोधिसत्व, बैलोचन, अक्षोभ्य, रत्नसंभव, अमोघसिद्धि, अमिताभ, सप्तलोचन, आर्यतारा, दिपंकर बुद्ध, मञ्जुश्री, शाक्यमुनि बुद्ध, २ जना भन्ते सारीपूत्र र मोदगल्याण र पञ्चदानको लागि अर्को अमिताभ बुद्ध स्थापना गरि विविध तान्त्रिक पूजाहरु हुने हुन्छ ।

पूजा पश्चात मूल आयोजकबाट दानशालामा पुग्ने प्रथम एक व्यक्ति (शाक्य, बज्राचार्य, बुद्धाचार्य कुलपुत्र) वैलोचन (वैरोचन) तथागत बुद्धको प्रतीक मानी विशेष पूजा गरी सुन, चाँदी, घर, जग्गा, वस्त्र, धान, चामल, गहुँ, नून आदि विभिन्न १३–१५ प्रकारका अन्नहरु दान दिई तुष्ट भोजन गराई विदाई गरिन्छ । तत्पश्चात् अन्य व्यक्तिहरुलाई आयोजकको गच्छे अनुसार नगद एवं अन्न दान दिई वहाँहरुलाई पनि तुष्ट भोजन गराई विदाई गरिन्छ । अन्तमा ज्यापू कुलपुत्र पूmबरेलाई दान दिए पश्चात दानशाला बन्द गरिन्छ ।

भोलिपल्ट पुनः पञ्चदानको ल्याईएको अभिताभ तथागत बुद्धको प्रतिमालाई पुनः स्वयम्भूमै फर्काइएपछि नराँ पञ्जराँ सम्पन्न भएको मानिन्छ ।

यसरी नराँ पञ्जराँ आयोजना गर्ने मूल व्यक्ति येँयाः अन्तर्गत कोहने याःका दिन दागीं बनेर शहर परिक्रमा गर्ने गरिन्छ या गर्नु पर्दछ । यसरी दागीं बनेर शहर परिक्रमा गर्दा परम्परागत दागींसँग जम्का भेट गर्न नहुने परम्परा रहेको छ । परम्परागत दागींको मुकुण्डो सेतो हुन्छ भने पञ्जराँ दागींको मुकुण्डो रातो हुन्छ जसलाई कुमारको संज्ञा दिइएको छ । बज्रयान परम्परा अनुसार हुने यसरी नराँ पञ्जराँ आयोजकको मूल व्यक्ति दागींको रुपमा निस्कँदा यसलाई कुमारको संज्ञा दिइएको छ ।

एकवर्षपछि पुनः माथि उल्लेखित केही क्रियाकलापहरु दोहो-याई पुनः सोही स्थानमा पञ्चदानको आयोजना गरिनेलाई दरु गर्ने भनिन्छ जसलाई दरु पूजा पनि भन्ने चलन छ । कथंकदाचित अर्को वर्ष पनि नराँ पञ्जराँको आयोजक अन्य कोही भएमा नयाँ आयोजककोमा माथि उल्लेखित अमिताभ बुद्धको प्रतिमा पु¥याइन्छ र दरु गर्ने आयोजकलाई अर्को अमिताभ बुद्धको प्रतिमा (जुन अलिक सानो छ) पु¥याइन्छ ।

यसरी नराँ पञ्जराँको आयोजना गर्ने व्यक्ति बुद्ध मार्गमा लागेको, दशपारमिता पार गरेको भन्ने आख्यान रहेको पाइन्छ ।

नराँ पञ्जराँको लागि शुरुदेखि अन्तसम्म गुरुजु बुद्धाचार्यबाट गुह्य तथा बाह्य (जसलाई आगम निगम पनि भनिन्छ) विविध तान्त्रिक पूजाआजाहरु सम्पन्न गर्नुपर्ने हुन्छ । जुन निम्नानुसार रहेको छ ।

सूचं बियेगु पूजा ः एक वर्ष अगाडि नराँ पञ्जराँ गर्न लाग्यौं है भनी आयोजकबाट गरिने सानो विशेष पूजा ।

ग्वय्दाँ पूजा ः शुरुमा गरिने पूजा हो यो पूजा । यो घ्यचाकु सल्हूका दिन आयोजक स्वयम्भूमा पुगेर पूजा गरिन्छ ।

चा पूजा ः पञ्चदानको लागि आवश्यक द्यः बनाउन, गुलुपा बनाउन गरिने पूजा यो चा (माटो) पूजा हो । स्थानिय एक ज्यापू समुदाय प्रजापतिको गै माटोको विशेष पूजा गरी सोही माटोबाट आवश्यक सामग्री तयार गरिन्छ ।

सिं पूजा ः पञ्चदानको लागि आवश्यक घर जसलाई दानशाला भनिन्छ । यो दान शाला काठबाट बनाइन्छ । सिंगो नयाँ रुखको काठबाट बनाउने पर्ने हुन्छ । यही दानशाला बनाउन प्रयोग गरिने काठलाई सर्वप्रथम पूजा गरिन्छ जसलाई सिं पूजा भनिन्छ ।

ज्याभः पूजा ः दानशाला बनाउनको लागि सिकर्मीले प्रयोग गर्ने ज्यावलहरुको पूजा गरी सिकर्मीलाई हस्तान्तरण गरिने पूजा हो यो ज्यावल पूजा ।

निमन्त्रणा पूजा ः पञ्चदानको ४ दिन अगाडि यो पूजा गरिन्छ ।

द्यःकाः वनेगु पूजा ः नराँ पञ्चदानको लागि स्वयम्भूमा श्री अमिताभ तथागत बुद्धको मूर्ति अगाडिको ठूलो मण्डलामा विशेष पूजा हुन्छ । हारती अजिमा र अभिताभ बुद्धको पूजा पश्चात थकालीको घरबाट पञ्चदानको लागि सम्यक अभिताभ बुद्धको प्रतिमा बाहिर पूजा स्थलमा ल्याई पूजा गरी बाजागाजा सहित बसालाय गर्दै दानशालामा विराजमान गराइन्छ ।

पञ्चदान पूजा ः दानशालामा अमिताभ तथागत बुद्ध भित्र्याई सकेपश्चात अहोरात्र मार छोय्का (उखुको बोक्राबाट बनाइएको आशनमा ठड्याई बालिने विशेष प्रकारको दिप) गरी विशेष तान्त्रिक होम सहितको पूजा हुन्छ । भोलिपल्ट बिहान दानशालामा उपस्थित पहिलो शाक्य बज्राचार्य कुलपुत्रलाई मूल आयोजकबाट आँखामा पट्टि बाँधेर दानशालामा भित्र्याई श्री वैरोचन तथागत बुद्धको प्रतीक र उहाँसँगै अन्य चार जना

गुरुजुलाई अन्य चार बुद्धको प्रतीकस्वरुप पञ्चबुद्ध मानी विशेष पूजा आजा पश्चात् दान शुरु हुन्छ ।
द्यःलिततयेगु पूजा ः दुई दिनपछि पुनः स्वयभूबाट ल्याइएको अमिताभ बुद्धको मूर्तिलाई फर्काउनलाई गरिने पूजा ।

प्यन्हु बिचा पूजा ः हरेक जात्रामा जस्तै यहाँ पनि पञ्चदान सकिएको ४ दिन पनि प्यन्हु बिजा पूजा गरिन्छ ।
दागीं पूजा ः नराँ पञ्जराँका मूल आयोजक येँया अन्तर्गत कोहनेयाःको दिनमा दागींं बनी नगर परिक्रमा गर्नको लागि गरिने पूजा । जसको लागि मूर्तिकारकोमा मुकुण्डो बनाउनको लागि गरिने पूजा, दागीं बन्नको लागि गरिने विशेष पूजा र नगर परिक्रमा गरी फर्किसकेपछि गरिने पूजा पनि हुन्छ ।

पताः छायेगु पूजा ः नराँ पञ्जराँ आयोजकबाट स्वयम्भू महाचैत्यमा पताः अर्पण गर्न गरिने पूजा ।

दरु पूजा ः अर्को वर्षको पञ्चदान पर्वमा पुनः माथि उल्लेखित केही क्रियाकलापहरु दोहो-याई पुनः सोही स्थानमा पञ्चदानको आयोजना गरिन्छ । जसलाई दरु पूजा भनिन्छ ।

माथि उल्लेखित विविध पूजाको समाप्तीमा प्रसाद वितरणको आयोजना गर्नुपर्ने हुन्छ आयोजकबाट । सम्भवतः दानमा भन्दा पनि यहि प्रसाद वितरणमा खर्च धेरै हुने गर्दछ ।

वि.सं. २०४०-४१ तिर कालिमाटीमा पनि पञ्जरां कार्यक्रमको आयोजना भएकाे थिया । हाल तेश्रो पुस्तामा रहेका एक पञ्जरां आयोजकका नाति केदार मान सिंहले नराँ पञ्जराँ आयोजना गरेको अर्को साल मात्र दागिं निस्कने परम्परा रहेको जानकारीमा रहेको बताउँदै सो साल उहाँका बाजे दागिं बनेर ननिस्केको रहेछ । यस विषयमा थप अनुसन्धान गर्नुपर्ने लेखकको आसय रहेको छ ।

नेवाः संस्कृति येँयासँग जोडिएका दागिंको सम्बन्धमा देवराज इन्द्र, उनकी आमा र बुबाका बारेमा एक किम्बदन्ती रहेको छ । देवराज इन्द्रकी आमा वसुन्धरादेवीलाई एउटा विशेष व्रत पूजाका लागि पारिजातको फूल आवश्यक परेको थियो । स्वर्गलोकमा उक्त फूल नपाइएकाले इन्द्र आफ्नी आमाको इच्छा पूरा गर्न भेष बदलेर मानिसको रूपमा काठमाडौं उपत्यका (काठमाडौंको मरु क्षेत्र) आए । उनले त्यहाँ एउटा बगैँचामा राम्रो पारिजातको फूल देखे र माली वा जग्गाधनीलाई नसोधीकन फूल टिप्न थाले । फूल चोर्दै गरेको अवस्थामा स्थानीय बासिन्दाहरूले उनलाई रंगेहात समाते । मानिसहरूले उनी देवराज इन्द्र हुन् भन्ने थाहा पाएनन् र उनलाई साधारण चोर सम्झेर हातगोडा डोरीले बाँधी सहरको बीचमा मचान बनाई सबैले देख्ने गरी सजायँका रूपमा उभ्याएर राखे । सजायँ दिइराखेको प्रतीकको रुपमा यस्तो दृश्य हालसम्म पनि काठमाडौंको मरु, वंघः, किलागः, ज्याबहाः र मुसुम्बहाःमा देख्न सकिन्छ । उता छोरा इन्द्र धेरै समयसम्म स्वर्ग नफर्किएपछि चिन्तित भएकी उनकी आमा दागीं छोराको खोजीमा काठमाडौं उपत्यका आइपुगिन् । भनिन्छ उनी कुहिरोको भेषमा काठमाडौंमा आएकी थिइन् । उनले आफ्ना छोरालाई मानिसहरूले चोरको रूपमा बाँधेर राखेको देखिन्। त्यसपछि उनले स्थानीय बासिन्दासमक्ष आफ्नो वास्तविक परिचय दिइन् र छोरालाई मुक्त गरिदिन अनुरोध गरिन् । देवराज इन्द्र र उनकी आमा दागिं हुन् भन्ने थाहा पाएपछि स्थानीयहरू डराए र माफी माग्दै इन्द्रलाई तुरुन्तै मुक्त गरिदिए । छोरालाई मुक्त गरिदिएकोमा खुसी भई दागिंले काठमाडौंका बासिन्दाहरूलाई दुईवटा ठूल्ठूला वरदान दिइन् । पहिलो उपत्यकामा खेतीपातीका लागि कहिल्यै पानीको अभाव नहुने र हिउँदमा पनि कुहिरो दिएर अन्नबाली सप्रिने वातावरण बनाइदिने । दोश्रो मृत्यू भएका नागरिकहरूका आत्मालाई आफूसँगै स्वर्गलोक लिएर जाने र उनीहरूलाई मोक्ष दिलाउने । यही किम्बदन्तीका आधारमा आजसम्म पनि येँयाः अन्तर्गत कोहनेयाःका दिन दागिं सहर परिक्रमा गर्न निस्कन्छिन् । उक्त वर्ष आफ्ना दिवंगत आफन्तहरूको आत्माले दागिंको साथ लागेर स्वर्ग जान पाओस् र मोक्ष प्राप्त गरोस् भन्ने कामनाका साथ दिवंगत परिवारका सदस्यहरु भक्तजनहरू दागिंको पछि–पछि सतबीज छर्दै काठमाडौंको भित्री सहर परिक्रमा गर्छन् र यंकिदह (इन्द्रदह) सम्म पनि पुगि शुद्धि कार्य सम्पन्न गर्दे गर्दै आएका छन् । त्यस्तै दागीं निस्कीएर आधा बाटो कटिसकेपछि बौमत निकालिन्छ जसलाई पिताको संज्ञाको रुपमा लिइन्छ । पहिले छोरा हरायो, पछि आमा पनि हरायो र अन्तमा तिनीहरुलाई खोज्दै बाबु बत्ति बाल्दै शहर परिक्रमा गरेको भन्ने आख्यान यहाँ प्रचलित रहेको छ ।

हाल दागीं तेंगलका ज्यापू समुदायको अगुवाइमा र बौमत सायमीहरुको अगुवाइमा अद्यापि येँयाः अन्तर्गत कोहनेयाःका दिन हर्षोल्लासका साथ जात्रा मनाउँदै आएका छन् ।

(श्रोत ः स्वयम्भूका ३१ गुरुजु बुद्धाचार्य पाःला मध्येका एक किरण बुद्धाचार्य तथा २०८३ सालमा नराँ पञ्जराँका आयोजक ज्यापू कुलपुत्र पूर्णकाजी ज्यापूसँगको कुराकानीका आधारमा यो लेखमाला तयार गरिएको हो)
– शरण डंगोल, (ब्रम्हत्वाः÷कालिमाटी, फोन ः ९८५१०६७्र२४७)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *