डेली लाइफसंस्कृतिसाहित्य

पञ्चदानको बिहानी – महाभिनिष्क्रमण, टर्निङ पोइन्ट, निर्वाण अनि बिहानैको ‘ब्युटिफुल डोज’

– अभिलाष आचार्य

बिहान करीब सवा ५ बजे स्वयम्भू जाँदै गर्दा ठमेलको बाटो गएँ । नर्सिङ चोक नपुग्दै ठमेलमा ’आफ्टर पार्टी’ चलिरा’छ भन्ने फिल भयो । “ओहो ! यति बेला, बिहानै सवा ५ बजेतिर पनि आफ्टर पार्टी हुँदो रहेछ” भन्ने विचार आयो । अलि कस्तो–कस्तो पनि लाग्यो । अलि खराब लागेको हो कि ? खासै खराबै लागेको जस्तो पनि लाग्दैन, तर अलि “के होला यस्तो यति बेला बिहानै?” भन्ने भयो । कतिको हातमा लाईभ् बियर थियो । “यो त अलि धेरै पो भयो कि क्या हो” जस्तो विचारहरू पनि आयो ।
अनि कहाँ–कहाँ महाभिनिष्क्रमणमा भगवान् बुद्ध दरबारबाट निस्किँदाखेरि उहाँले त्योभन्दा अगाडि देख्नुभएको दृश्य यस्तै थियो होला; किनकि उहाँ पनि त्यस्तै आफ्टर पार्टीको (सुतिरहेका नर्तकीहरूको) दृश्य देखेर विरक्तिनुभएको थियो भन्ने हामीले पहिला–पहिला पढेको ।
अनि अलि अगाडि गएपछि जेपी स्कुलको मोड नपुग्दै, मोडमै, मोड अगाडि र मोड कटिसकेपछि ठुला–ठुला फोहोरका डङ्गुरहरू थिए । त्यो देख्दाखेरि पनि “ओहो ! यो चाहिँ आफ्टर पार्टीको बाइ–प्रोडक्ट, यस्तो गनाउने चिज !” कति धेरै गनाइरा’थ्यो चोकमा । अनि फेरि एकपल्ट “हत्तेरी !” भने जस्तो भयो ।
अलिकति अगाडि बढेँ । अनि जहाँबाट ठ्याक्कै जेपीको बिल्डिङ छुन्छ, त्यहाँनिर पुग्दाखेरि चाहिँ एउटा विचार आयो— “यो संसारलाई, यो संसारको रियालिटीलाई (जुन एउटा सामान्य रियालिटी, हामीले एक्सपिरियन्स गर्ने जुन ’फेल्ट एक्सपिरियन्स’ छ), त्यसलाई मैले ‘संसार’ भनेर आरोपित गरिरहने मेरो दिमाग बेग्लै, अनि त्यो संसार बेग्लै भइन्जेल त मैले मभित्रको निर्वाण त कहिले पनि देख्दिनँ नि !” भन्ने विचार आइसक्या थियो । अनि मुसुक्क हाँसेँ, अलिकति मन हलुको भयो ।
त्यसपछि स्वयम्भूतिर लागेँ । त्यतिखेरसम्म चाहिँ मलाई एउटा अनौठो टर्निङ पोइन्ट जस्तो फिल भइसक्या थियो । “आज जीवनकै टर्निङ पोइन्ट हो कि !” भने जस्तो महसुस भइसक्या थियो ।
त्यसपछि स्वयम्भू पुगेँ । स्वयम्भू पुगेर माथि पुग्दा–नपुग्दै साथी शरण डंगोलको फोन आइसक्या थियो । अनि स्वयम्भूको भगवान् पाउतिरबाट चढ्ने बाटोको लास्टमा जुन बज्र छ, त्यही बज्रमा आएर भेट्ने कुरा भयो । म चाहिँ पछाडिबाट आइरा’थेँ, अनि एकैछिनमा हाम्रो भेट पनि भइहाल्यो । त्यसपछि भरत माली गुरुबाहरू पनि भेट हुनुभयो। त्यहाँ दिनदिनै जाने सबैजना साथीहरूसँग भेट भयो। साँच्चै राम्रो महसुस भइरा’थ्यो ।
मलाई दुई–चार दिन अगाडिदेखि नै साथीहरूले, विशेषगरी भरत माली गुरुबाको ग्रुपले कफी खान एकदम लोभ्याइरा’थ्यो । “हामी त यस्तो कफी खान्छौँ, उस्तो खान्छौँ, बिहानभरि कफी खाएर बस्छौँ” तिमी आउ न भन्नुहुन्थ्यो ।
शान्तिपुरको छेउमा, कुनामा एउटा चिया पसल छ । हुन त मैले देखिराकै पसल हो, तर त्यहाँ चाहिँ उहाँहरूको अड्डा रहेछ । हामी त्यहाँ पुग्यौँ, कफी आयो । मैले चाहिँ, “मेरो कफी अलि कडा गर्दिनु न” भनेँ । कफी कालै भैपनि हाल्यो ।
त्यसपछि त्यहाँ कुराकानी हुन थाल्यो । एउटै जमघटभित्र पनि साथीहरू दुईवटा समूहमा बाँडिएर गफिन थाल्नुभयो । यता र उता दुवैतिर कुराकानी राम्रैसँग जमिरा’थ्यो । एउटा समूहमा अलि आध्यात्मिक विषयमा मन्थन भइरा’थ्यो भने अर्को समूहमा चाहिँ अलि बढी सांस्कृतिक, फोटोग्राफी र जर्नालिजम (पत्रकारिता) का कुराहरू चलिरा’थ्यो । अनि त्यतिकैमा, आज चमतीमा पञ्चदान (नराँ पञ्जरां) हुने प्रसङ्ग पनि निस्कियो । किनकिन मनमा फेरी संसार र निर्वाण आयो ।
त्यसपछि नराँ पञ्जरांको कुरा निस्कियो । कुरा निस्किँदा–निस्किँदै चमतीबाट साथीहरूको फोन आयो, जहाँ नराँ पञ्जरां हुनेवाला थियो— “ए ! यहाँ त बेला हुन लाग्यो, तिमीहरू छिटो आऊ” भनेर । त्यसपछि म र शरण त्यहाँबाट निस्कियौँ र चमती पुग्यौँ । त्यहाँ सुरु त हुन लागिसक्या रहेछ । स्वयम्भूबाट लगिएको भगवान् अमिताभ तथागतको मूर्तिलाई खट बनाएर, एउटा मन्दिर जस्तो स्ट्रक्चरमा एकदम ’ब्युटिफुली’ राखिसक्नुभा’रहेछ । गुरुजुहरू पनि लाइनमा बसिसक्नुभा’थ्यो । तर मूल पूजा गर्ने गुरुजुको पूजा नसकिसकेको हुनाले केही बेर त्यहाँ कुर्नुप¥यो ।
वातावरण असाध्यै राम्रो थियो । ब्याकग्राउन्डमा ज्ञानमाला भजन बजिरहेको थियो । महिलाहरूको उपस्थिति एकदम राम्रो थियो; उहाँहरूले एकै प्रकारको लुगा लाउनुभा’को । कति जनाले त त्यो स्पिकरमा बजिरहेको भजनसँगसँगै गाएर, उज्यालो मुख पारेर दान दिनलाई पर्खिराख्नुभा’को दृश्य असाध्यै राम्रो थियो । त्यहाँ पर्खिँदा–पर्खिँदै हामीले चिया खान पनि भ्यायौँ ।
चिया खाएर नसकिँदै पहिलो (फस्र्टमा) आउनुहुने गुरुजुको पालो आयो । उहिले–उहिले हामीले सुनेको कथाहरूमा चाहिँ, नराँ पञ्जरांमा गुरुजुहरूलाई घर–खेतै दिने चलन पनि थियो रे भन्ने सुनिरा’को; हामी त्यस कुरामा एकदम ’इन्ट्रेस्टेड’ थियौँ । अनि आज भने, पहिलो हुने गुरुजुलाई सबै पूजाआजा गरिसकेपछि—वैरोचन तथागतकै रूपमा विशेषगरी पूजाआजा गरेर उहाँलाई अत्यन्त सम्मानका साथ दानहरू दिइसकेपछि—उहाँले एउटा गजबको काम गर्दिनुभयो । आफूले दान पाइसकेपछि, “म पनि दान गर्छु“ भनेर उहाँ आफैँ दान गर्न बस्नुभयो।
अनि त्यो मलाई यति ’इन्स्पिरेसनल’ भयो नि ! म सधैँ बौद्ध कुराहरू गर्दाखेरि ’त्रिकोटि परिशुद्ध’को कुरा गरिरहन्छु, मनमा खेलाइरहन्छु, अरू साथीहरूसँग पनि गरिरहन्छु । जहाँ चाहिँ—दिने व्यक्ति पनि शून्यता स्वभावको हो, लिने व्यक्ति पनि छैन, र दिइएको वस्तु पनि वास्तवमा छैन, त्यो पनि शून्यता स्वभाव नै हो—भन्ने कुराले मलाई असाध्यै धेरै ’इन्स्पायर’ गर्छ । अनि आज ती गुरुजुले चाहिँ त्यो कुराको एउटा ‘लाइभ एक्जाम्पल’ (जीवन्त उदाहरण) नै देखाइदिनुभयो ।
भर्खरै दान पाउनुभा’थ्यो, गएर फेरि आफूले पनि दान दिन थाल्नुभयो । त्यसमा उहाँले कुनै ग्राह नै राख्नुभएन, त्यसमा अड्किनु नै भएन; बगिरहनुभयो । अनि मलाई चाहिँ साँच्चै आजको दिन ‘टर्निङ पोइन्ट’ भन्ने बिहानदेखि जुन महसुस भइरा’को थियो, त्यसमा यो कुरा ’सिल’ भयो जस्तो भयो, त्यो कुरामा छाप लाग्यो। “अब चाहिँ हो, आजको दिन मेरो लागि टर्निङ पोइन्ट नै हो” भन्ने पक्का भयो मनमा ।
दिनभरि एकदम ‘इन्स्पायर्ड’ फिल गरें। अरू एक–दुई ठाउँमा पनि यसो यताउता हिँडेर दानहरू दिएको हेर्न त पुगेँ म, तर लगभग मलाई चाहिँ बिहानै एउटा एकदमै ’ब्युटिफुल डोज’ मिलिसकेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *