साँखुमा १ महिनासम्म चल्ने श्री माधव नारायण व्रत पूजा भव्य हुने
पाैष २५, २०८१ ।
साँखु, काठमाडाैं ।
ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वले भरिपूर्ण पवित्र स्थल साँखु (शंखरापुर) को वैभव तथा श्री माधव नारायणको व्रत गाथाले सु–सज्जित पवित्र पूण्य भूमि, पावन भूमि शालिनदीमा परापुर्वकालदेखि परम्परा संस्कार अनुसार हुँदै आइरहेको १ महिनासम्म हुने कठिन र कठोर व्रत हरेक वर्षको पौष शुल्क पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने गरेकोमा यस वर्ष पौष २८ गतेदेखि सुरु भई माघ ३० गते अश्वमेध यज्ञ पश्चात् समापन हुनेछ ।
झन्डै २५० जना व्रतालुहरूको सहभागिता रहने यस व्रतको परदेश यात्रा अन्तर्गत पशुपति, फर्पिङ, पनौती र चाँगुनारायणको पैदल यात्रा गरी ती स्थानहरूमा व्रत पूजा सम्पन्न गर्नेछ । यो व्रत बस्नको लागि परम्परादेखि चली आएको नीति, नियम, व्रत विधि तथा परम्परालाई पूर्ण रूपमा पालना गर्नुपर्नेछ ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिद्वारा उक्त व्रत पूजाको बारेमा जानकारी गराउन आज आयोजित एक अनौपचारिक पत्रकार भेटघाटमा बताए ।
हरेक दुई वर्षमा पालो फेरिने यहाँको नियम भए अनुसार यस वर्ष र आगामी वर्ष चलाखु टोलको संयोजकत्वमा यो मेला संचालन गरिने जानकारी गराए । गत वर्षसम्म साल्खा टोलबाट उक्त जिम्मेवारी लिइएको थियो ।

व्रतालुहरूलाई आवश्यक सर सहयोग गर्न समितिले नेपाल स्काउट सक्व, नेपाल रेडक्रस सोसाइटी शंखरापुर उपशाखा, स्वयम सेवक तथा विभिन्न संघ संस्थाहरूको समन्वयमा आवश्यक बन्दोबस्तका सामानहरू सहित स्वयमसेवकहरु परिचालन गर्नेछ भने हिँड्नै नसक्ने अवस्था भएका व्रतालुहरूको लागि आवश्यक सहयोग लिई गन्तव्यसम्म पु¥याउने व्यवस्था गरिने बताए ।

एक महिनासम्म चल्ने उक्त शालिनदी मेलामा असंख्य धार्मिक पर्यटकहरूको आगमन हुने हुनाले साँखु शालिनदी परिसरमा यातायातको लागि बस व्यवसायी समितिहरूसँग, शान्ति सुरक्षाको लागि प्रहरीसँग सहकार्य गरिनेछ । प्राथमिक उपचारको लागि निःशुल्क प्राथमिक उपचार कक्षको व्यवस्था गरिनेछ भने भक्त जनहरूको लागि खानेपानीको निःशुल्क वितरण गरिनेछ ।
व्रतको तालिका निम्नानुसार रहेको छ ः
पौष २८ – चिभ्वय्
पौष २९ – व्रत शुरु
माघ १४ गते परदेश यात्रा शुरु
माघ १४ गते शालिनदीबाट बज्रयोगिनी
माघ १५ गते साँखुबाट बज्रयोगिनी र पशुपति
माघ १६ गते पशुपतिबाट फर्पिङ
माघ १७ गते फर्पिङबाट साँखु
माघ १९ गते साँखुबाट पनौति
माघ २० गते पनौतिबाट साँखु
माघ २१ गते श्रीपञ्चमी पर्व
माघ २२ गते लगला सप्तमी पर्व
माघ २४ गते द्रोण नवमी
माघ २६ गते साँखुबाट चाँगु
माघ २७ गते चाँगुबाट साँख
माघ २९ गते देवनिमन्त्रणा
माघ ३० गते अश्वमेघ यज्ञ (व्रत साङ्गे)
फागुन १ गते मिगा÷गणेश पूजा, नुन फुकाउने व्रत समाप्ती

माधव नारायण व्रतमा पालना गर्नु पर्ने नीति नियमहरु
श्री माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिबाट यस वर्ष व्रत पूजामा सहभागी व्रतालुहरुले पालना गर्नुपर्ने नीति नियम, व्रतमा आवश्यक सामग्री र परदेश यात्राको विस्तृत विवरण निम्नानुसार रहेको छ ।
परापूर्वकालमा माता पार्वतीले भगवान शिव पति पाउन बसेको व्रत जुन भगवान नारायणलाई गुरु मानी बसेको व्रत हो । यहाँ भगवान माधवनारायण स्वयमले व्रत बसेको पनि भनिन्छ तर यो कुरा सत्य होईन । स्वय विश्वरूपी सर्वज्ञ सम्पूर्ण देव देवताको मालिक यहाँ विराज गराई गुरुलाई हामीले वहाँको जाराधना गरेका हो जस अनुरुप दैनिक नित्यपूजामा प्रार्थना गरिने श्लोक यस प्रकार छ ।
“गुरु ब्रम्हा गुरु विष्णु गुरु देवो महेश्वर ।।
गुरु साक्षात परब्रम्हा तस्मै श्री गुरुवे नमः
ओम् श्री माधवाय केशवाय सिरतै नमामी ।।”
हिन्दु धर्म एवं त्यसभित्र रहेका विभिन्न परम्परा धर्म संस्कृतिको आफ्नो छुट्टै पहिचान एवं नियममा रहि आफ्नो व्रत, उपवास वा अन्य इत्यादि पूजा रहि आएको अझै पनि छदैछ । सोहि धर्म, संस्कृतिमा नै यस देश नेपाल र नेपालीको पहिचान पनि गाँसेको छ । यसै अन्तर्गत यहाँहरु माझ हाम्रो छुट्टै नियम एवं पहिचान बोकेको श्री माधवनारायणको व्रतबारे केहि विशेष कुराहरु यहाँहरु समक्ष प्रस्तुत गरेका छौ ।
परापूर्वकालदेखि निरन्तर रुपमा यस शालिनदी किनारमा पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म श्री माधवनारायण भगयवानको व्रत चलिआएको बहाँहरु माझ विदितै छ । यो व्रत अन्य व्रत जस्तो नभइ निकै कठीन एवं कष्टकर छ । किनकी यो व्रतमा छुट्टै नियमहरु पनि रहेको छ । जुन कुनै पनि व्रत, उपवासहरुमा पाएको छैन । यसै नियमहरुलाई पनि यहाँ प्रस्तुत गरिएको छ ।

परापूर्व कालदेखि चलिआएको माधवनारायण व्रतका नियमहरुः
१. सम्पूर्ण व्रतालुको हकमा छुन नहुने विषयहरु
क) जुन, माछा, मासु, मरमसला (नाम समेत लिन नहुने
ख) अन्य पशुपक्षी तथा जनावरहरु (नाम समेत लिन नहुने)
ग) जुत्ता, मोजा, मगन्तेहरु, रजस्वला भएकी महिलाहरु तथा अछुतहरु
घ) जुत्ता, चप्पल लगाएका कोही पनि मान्छेसँग भेटघाट गर्दा नछोइकन कुराकानी गर्ने । ड) दूध र पानी बाहेक अन्य कुनै किसिमका पेय पदार्थ सेवन गर्न नहुने ।
सम्पूर्ण ब्रतालुको हकमा भोजन गर्न हुने वस्तुहरु
क) दुध, चामलको भात, घ्यू, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो। भिमा एकादशीको दिनमा दुई पटक व्रत वसिसकेपछि त्यो एक दिन फलाहार गर्ने (फलफूल मात्र खाने–सुन्तला, उखु, तरुल, पिँडालु तथा दूध मात्र ।)
सम्पूर्ण व्रतालुहरुले भोजन छोड्नुपर्ने अवस्थाः
क) भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा अन्य भोजन गर्न बर्जित गरिएका वस्तुहरु आएमा भोजन छोड्नुपर्दछ । यस्तो अवस्थाको लागि पहिल्यै चिउरा, चाकु, घ्य आदि नजिकै आफूले भ्याउने ठाउँमा राख्ने र अर्कै थालमा बसेको स्थानबाट नउठीकन लिएर खान सकिने छ ।
ख) फाटेको दूध सेवन गर्नु हुँदैन । दूध भोजनको बेला बाहेक खान हुँदैन ।
ग) भोजन गर्दागर्दै बीचमा उठ्नु हुँदैन । यदि उठेमा सँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिले समेत भोजन छोड्नुपर्ने हुन्छ र उठिसकेपछि फेरि भोजन गर्नु हुँदैन ।
घ) भोजन पकाउँदा र भोजन गर्दा व्रत नबसेका मानिसहरुले नछुने ठाउँमा बस्ने ।
दैनिक व्रत बसिसकेपछि शंखरापुर, सक्व (साँखु) नगर परिक्रमा गर्ने क्रममा सहस्रधारामा जलसेचन गरिसकेपछि मात्र फेरि चोखोपानी ल्याएर भोजन तयार पारी भोजन गर्ने र सोही दिन भोजन पश्चात् जुठो भाँडा माझ्नुपर्ने । भोजन दिनको १ पटक मात्रै गरिने भएकोले अरु बेला कुनै पनि खाने पिउने चिज खान हुँदैन । आवश्यकता अनुसार पानी पिउन सकिन्छ । कसरी पिउने भन्ने विषयमा पूजारी बाजे र साँवागणसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।
व्रतालुहरुले केही गर्न नहुने तथा बार्न नहुने विषयहरु
क) गाडी चढ्न नहुने, विरामी भएमा औषधी सेवन गर्न नहुने
ख) आफन्तको जुठो, सूतक बार्न नहुने ।
ग) साबुन तथा अन्य कुनै पनि वस्तुहरु घुन तथा प्रयोग गरि नुहाई धुवाई गर्न नहुने ।
घ) गोल तथा अन्य दन्तमञ्जनहरु प्रयोग गर्न नहुने ।
ङ) सम्पूर्ण व्रतालुहरुले उपरखुट्टी लगाएर बस्न नहुने साथै मेचमा र खाटमा बस्न नहुने ।
च) व्रतालुहरुले खुट्टामा सनाउने कुनै पनि गहना लगाउन नहुने
६. खीर (तस्मी) भोजन खुवाउने दिनमा सम्पूर्ण व्रतालुहरुले घरमा भोजन गर्न नहुने र सो दिन आफ्नो घरमा चुल्हो समेत बाल्न नहुने । तस्मी खान साँवा गणबाट शंख बजाउँदै आएपछि मात्र शालिनदी परिसरमा जाने । शालिनदीमा तस्मी भोजन गर्ने दिन आफूलाई आवश्यक दूध तताउनु परेमा मकलमा गोलको सहायताले तताएर थर्मस वा भाँडामा राखेर लान सकिन्छ । तर बाटोमा कसैलाई पनि छुन दिनु हुँदैन । दूध भोजनकै बेलामा मात्र खान सकिन्छ । घरमा तस्मी भोजन वर्जित छ । माघ शुक्ल नवमीका दिन तस्मी भोजन गराउने परम्परा रही आएको छ । यस पछाडि जन्य भक्तजनहरूले समेत तस्मी भोजन गराउन सक्छन् यसको लागि साँवागण र मूल पुरोहित बाजेसँग सरसल्लाह गर्नुपर्नेछ
परदेश यात्रामा सबै व्रतालुहरु जम्मा भईसकेपछि साँवा गणबाट श्री माधवनारायणको शंख जल सेचन पछि मात्र भोजन गर्नुपर्ने । हुन्छर उठिसकेपछि फेरि भोजन गर्नु हुँदैन ।

(फाइल फाेटाे)
परदेशमा भोजन गर्ने स्थानहरु
पशुपतिबाट फर्पिङ्ग जाँदा सानो गौचरणमा
फर्पिङ्गबाट साँखु आउँदा शंखमुलमा
पनौतीबाट साँखु आउँदा लायक दरवार बनेपा
चाँगुबाट साँखु आउँदा साँखुमा ।
(परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यु, चिनी, लप्सी, रातो मुला, अदुवा आदि आफैले व्यवस्था गरेर लानुपर्नेछ । साथै दूधको लागि पनि नजिकका आफन्तले निराहार बसी दूध पकाएर लगिदिएमा खानहुनेछ ।

(फाइल फाेटाे)
स्त्री व्रतालुहरुले पालना गर्नुपर्ने नियमहरु
क) स्त्री व्रतालुहरुले बिहान शंखध्वजपछि शालिनदी जानुपर्दछ, साथै पूजाको सामान (धलपिच्चा) सहित रातो टिका (धलंपता), रातो ओढ्ने र रातै वस्त्र धारण गर्नुपर्नेछ ।
ख) रजस्वला भएको महिला हुदैन साथै पूजा सामग्री समेत छुन हुदैन । तर माधवनारायण देवताको स्नान गराउने समयमा छुट्टै स्थानमा बसी अन्य व्रतालुहरुसँगै स्नान गर्ने र व्रत पूजा गर्दा समेत छुट्टै स्थानमा बसेर आफ्नो पछ्यौरामा भगवान सम्भी पूजा गरि नदिमा लगेर सेलाउनु पर्दछ ।
ग) रजस्वला भएकी महिला व्रतालुहरुले चौथो दिन घरमा नुहाएर शालिनदी जाने शालिनदीमा पुनः नुहाईवरि धलपुंली बाहिर गई साँवागनबाट जलसेचन गरिसकेपछि मात्र शुद्ध हुने परम्परा रही आएको छ । त्यसअघि व्रतपूजा गर्ने जगटीभित्र पस्न निषेध गरिएको छ ।
घ) कुनै पनि महिला व्रतालु वा अन्य व्यक्तिहरु (पुरुष व्रतालु बाहेक) धलंपुलीभित्र पस्न निषेध गरिएको छ ।
ङ) रजस्वला भएकी महिला व्रतालुहरुले भोजन गरिसकेका अन्य व्रतालुहरुसँग छोइछिटो भएमा छोईएका अन्य व्रतालुले समेत भोलि बिहान छुट्टै नुहाईवरि साँवागणसँग जल नलिएसम्म अन्य व्रतालुहरुसँग छुट्टै बस्नुपर्दछ । पुरुष व्रतालुहरुको हकमा भने धलंपुली बाहिरै सुत्नुपर्नेछ ।
पुरुष व्रतालुहरुको हकमा भने नियमहरू
क) पुरुष व्रतालुहरुले कुनै पनि किसिमका रातो टिका तथा रातो वस्त्र लगाउन पाउने छैनन ।
ख) नित्य पूजा गर्न अगाडि सम्पूर्ण पुरुष व्रतालुहरुले चन्दनको टिका लगाएको हुनुपर्नेछ ।
माथि उल्लेखित नियमहरु बाहेकका कुनै समस्या आएमा वा आफूलाई विस्तृत जानकारी चाहिएमा मूल पुरोहित, साँवागण र कजि व्रत नाईकेसँग सोधपुछ गर्नुपर्नेछ । परापूर्वकालदेखि चल्दै आएको एवं भगवान विष्णुको आदेशमा माता पार्वतीको आज्ञा अनुसार तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तश्री एवं पाताललोकमा अस्वत्थामा ऋषिलाई पार्वती माताले पठाउनु भएको थियो । किवदन्ती एवं पुराणको अनुसरण गर्दै अहिलेसम्म पनि यो स्वस्थानी माताको व्रत बस्ते परम्परा चलिजाएको छ । सोही अनुरुप भगवान विष्णुको स्वरूप श्री माधवनारायणकोप्रतिमालाई साक्षी राखि यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रुपमा चल्दै आइरहेको छ ।

(फाइल फाेटाे)
आवश्यक सामानहरु
– ताय् (धानको लावा)
– आखे १०८ (केलाएको चामल)
– जाकी (अक्षता)
– ईता (दीप बत्ती)
– क्वखं मगागु लः (कागले ननाघेको जल)
– पञ्चरङ्गी इंता (पञ्चरङ्गी दीप)
– जजंकाः (देवतालाई लगाइदिने डोरो)
– इता १०८ (दीप बत्ती १०८)
– जजंकाः १०८ (डोरी १०८)
– पलेस्वा (कमलको फूल)
– उफोस्वा (नीलकमलको फूल)
– धन स्वां – धन फूल (कन्दर्भ)
– कपु स्वां (कपुर पाती)
– गुण केरा स्वां (गुणकेशरी फूल)
– द्वाफो स्वा (बेली फूल) १०८
– चाँदीको द्वाफो स्वा (फूल)
– सि स्वां (सुनाखरीको फूल)
– सिन्ह स्वा (नारायण पाती)
– जाई स्वा (जाईको फूल)
– ताः स्वा (१०८ प्रकारको फूल)
– अन्य सक्ने जत्ति विभिन्न प्रकारको फूल
– फलफूल विभिन्न किसिमको
– वयर
– सेती क्यर
– खाईसी (तिते अमिलो)
– नैक्या (नरिवल)
– लकस (पानी अमला)
– गुतः (दुवो)
– अम्ब (अमला)
– जत्ता नैक्या (जत्ताधारी नरिवल)
– चिग्वगुु ग्वय् (सानो सुपारी) ८
– तःग्वगु ग्वय् (ठूलो सुपारी)– १
(विवाहित महिलाको लागि मात्र)
– १०८ टुक्रा सुपारीक पान १०८
– वस्त्र १ (होम गर्न सुगाफाटो धीउमा भिजाएर स्याउने)
– पञ्च पलाः (पञ्च पल्लव)
– कलं पका (कपडाको ध्वजा)
– सा दुरु (गाईको दूध), साच्वः (गाईको गहुँत), गोवर ल्हातय् फयातःगु (गोबर भूईमा नझर्दै हातमै थापेको)
– बेल पत्र
– पञ्चरङ्गी मरी (पञ्चरङ्गी रोटी)
– तुलसी पत्र
– सिदा भाग–५
– निस्ला भाग–५क्वतः पूजा क्वतः (पुजा थाली)
– सिन्हँ म्हू (फुस्रे सिन्दूर सहितको गजुर भएको भाँडो)
– त्वादेवा (पानस)
– घण्टी (गंचा)
– पञ्चरङ्गी धागो (पसुकाः)
– पञ्चरङ्गी मोटो धानो (ग्वयकाः)
– कलेगोम्प (माटोको कलश)