आगामी शनिबार बसन्तपुरमा गुंला बाजं प्रदर्शनी हुने
४ आश्विन २०८०, काठमाडौं ।
उदाय् समाज र उदाय म्यूजियमको आयोजनामा हनुमानढोका दरबार क्षेत्रमा रहेको दसअवतार दबलीमा आगामी आश्विन ६ गते दोस्रो गुंला बाजं प्रदर्शनी हुने भएको छ ।
हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा उदाय् समाजका अध्यक्ष डा. रुपज्योति कंसाकारले उक्त कार्यक्रमको बारे जानकारी दिंदै समाजमा आवद्ध असं बाजं गुथि, जनबहाः गुंला बाजं कसाः तःधं गुथि, ङत तुलाधर गुंला बाजं खलः, तेबहाः गुंला बाजं खलः, तवः गुंला बाजं खलः र स्थापित खलःबाट गुंला बाजंको विभिन्न बोल तालमा आ–आफ्नो प्रस्तुति प्रदर्शन गरिने बताए ।

उक्त प्रदर्शनीमा भगवान ग्वारा, अन्नपूर्ण ग्वारा, नित्यनाथ ग्वारा, गणपति ग्वारा, यसोधरा ग्वारा, पलेमा ग्वारा लगायतका बोलमा र लवं, प्रताल, पलेमा, जति र च्व तालको बोलमा बाजा प्रदर्शनी हुने बताए भने उक्त कार्यक्रममा उदाय् समाजका महिला पुरुष लगायत अन्य जातजातिको पनि सहभागिता हुने कुरा आयोजकले जानकारी दिए ।

कार्यक्रममा पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै गुंला अवधिमा मात्र हैन कुनै पनि कार्यक्रममा गुंला बाजं बजाउँदा केही वर्ष अघिसम्म चलनचल्तीमा रहेको आयातित संगीतको प्रयोग नगर्ने बचनबद्धता जनाउँदै समाजले आगामी वर्षमा यस्तो प्रदर्शनी उदाय् समाज भित्र मात्र सिमितता नराखी वृहत समग्र नेवाः समाजमा प्रचलनमा रहेका गुंला बाजंको प्रदर्शनीको आयोजना गर्ने पनि बताए ।