नरेशवीर शाक्यको एघारौं कृति ललितविस्तर
१८ पुष २०७९, काठमाडौं ।
ईलोहं प्रकाशन प्रा.लि.ले लेखक नरेशवीर शाक्यको एघारौं कृति ‘ललितविस्तर शोधग्रन्थ’ एक कार्यक्रम बिच विमोचन गरिएको छ । भगवान बुद्धको जीवनी रहेको यस ऐतिहासिक ग्रन्थ ‘ललितविस्तर’को शोध ग्रन्थको विमोचन विहार प्रमुख धम्ममूर्ति महास्थविर, भिक्षु पञ्ञामूर्ति, भिक्षु प्रियदस्सी, लोट्स रिसर्च सेन्टरका अध्यक्ष प्रा.डा. सुरेन्द्रमान बज्राचार्य, ईलोहं प्रकाशनका संरक्षक धर्मवीर शाक्य, पुस्तकका दाता पद्यादेवी शाक्य र लेखक नरेशवीर शाक्यले संयुक्तंरुपमा गर्नु भएको थियो ।
लेखक नरेशवीर शाक्यले बुद्ध धर्ममा स्नातकोत्तर अध्ययनको क्रममा ‘ललितविस्तर एक तुलनात्मक अध्ययन’ विषयमा तयार पार्नु भएको शोध ग्रन्थलाई नै पुस्तकको रुपमा प्रकाशित गरिएको हो । पुस्तक विषय मन्तब्य राख्नु हुँदै नरेशवीर शाक्यले बौद्ध ग्रन्थहरु भारतको नालन्दा बिश्वविद्यालमा आगो लगाई सकेपछि नेपालमा मात्र सुरक्षित रुपमा रहेको कुरा उल्लेख गर्नुहुँदै यी नै ग्रन्थको आधारमा विश्वमा पुनः ललितविस्तर ग्रन्थ प्रचारमा आएकोले यस ग्रन्थको ऐतिहासिक महत्व रहेको जनाउनु भयो ।
उद्घाट्न कार्यक्रममा अध्यक्ष बज्राचार्यले ललितविस्तर ग्रन्थ सर्वास्तिवादीहरुको रहेको र पछि यस्लाई महायानिहरुले अपनाएको बनाउनु भएको थियो ।

ललितविस्तरमा के छ ?
ललितविस्तर एकै समयमा लेखिएको ग्रन्थ होइन, न कि एकै ब्यक्तिले । यो ग्रन्थ कुन समयमा कस्ले लेखेको हो भन्ने कुरा अहिले सम्म यकिन हुन सकिरहेको छैन । ललितविस्तरको जुन वर्तमान रूप देखिरहेको छ, यो विभिन्न लेखकहरूले विभिन्न समयमा एउटै ग्रन्थमा थप्दै तयार गरिएको ग्रन्थ हो ।
ललितविस्तर सिद्धार्थ गौतमले जगत उद्धार गर्न, सर्वसत्व प्राणीको हितको निमित्त उपदेश दिन आफू वास गरिरहेको तुसिता भूवनदेखि पृथ्वीलोकमा अवर्तन गर्नको निमित्त सेतो हात्तिको रूपमा मायादेवीको गर्भमा प्रवेश गरेको घटनादेखि बोधिज्ञान प्राप्त गरेको र वनारसको मृदगावनमा प्रथम धर्मचक्र प्रर्वतनसम्मका घटना विवरणहरु उल्लेख रहेको सूत्रलाई ललितविस्तर सूत्र भनिन्छ ।

यो ग्रन्थ पहिला सर्वास्तिवादीहरूको ग्रन्थ थियो । पछि यसमा महायानी अनुयायीहरूको विचारहरू समाहित गरी बुद्धलाई एक अलौकिक ब्यक्तिको रूपमा प्रस्तुत गर्ने कार्य गरियो । बौद्ध विद्धान पि.एल. भगतका अनुसार वर्तमान समयमा उपलब्ध रहेको संस्कृत भाषाको ललितविस्तर तेश्रो शताब्दीतिरको हुनु पर्ने अनुमान गरेको छ । ललितविस्तरलाई नेपालमा नवधर्म ग्रन्थको एक ग्रन्थको रूपमा मान्यता प्राप्त छ भने तिब्बतमा पनि यसलाई महत्वपूर्ण स्थान दिइएको छ । नवौं शताब्दी तिर यो ग्रन्थ तिब्बती भाषामा अनुवाद गरिएको हो । हाल सम्म अनुवाद गरिएका ललितविस्तर ग्रन्थहरूमध्ये तिब्बती भाषामा अनुवाद गरिएको ललितविस्तरलाई उत्कृष्ट र मूल संस्कृत ग्रन्थसँग अति नजिक रहेको मान्दछ । ललितविस्तर गद्य र पद्य दुबै विधामा रचना गरिएको छ । यसमा समाहित उल्लेखनीय मात्रामा पद्य अंशहरू सर्वास्तिवाद सुत्तहरूबाट लिइएको पाइन्छ ।