३३ वर्षपछि भक्तपुरको नवदुर्गा देवगण तोखामा
९ पुस २०७९, काठमाडौं ।
भक्तपुरको सुप्रसिद्ध नवदुर्गा नाच ३३ वर्षपछि हिजो काठमाडौँको प्राचीन नगर तोखा पुगेका छन् । हिजै तोखाको नासःद्य प्राङ्गणबाट नाच सुरु भई तोखा नगर परिक्रमा गरिएको थियो ।

तोखामा आइतबारसम्म विभिन्न नाच प्रस्तुत गरेपश्चात् साताव्यापी सांस्कृतिक भ्रमणको टोली तारकेश्वर नगरपालिका अन्तर्गत साङ्ला, बुढानीलकण्ठ नगरपालिका अन्तर्गत चपली, चुनिख्यः, गाम्चा, तुप्या, जगडोल हुँदै गोकर्णेश्वर नगरपालिका अन्तर्गत प्राचीन गोकर्ण देश पुगेर पुनः भक्तपुर पुगी साताव्यापी सांस्कृतिक यात्राको अन्त गर्नेछ ।

यसमा प्रस्तुत हुने तान्त्रिक विधिबाट प्रत्येक देवीको ध्यान, भाव, रूप र मुद्रा अनुसार नृत्यहरू प्रस्तुत हुन्छ । यी नाचहरू अनिकाल, महामारी, शक्तिआर्जन, शत्रु नाश, देश रक्षा, अशान्ति, संकटग्रस्त स्थितिमा शक्तिको आराधनाको लागि प्रस्तुत गर्ने गरिन्छ । लिच्छवि राजाहरूले नेपाल मण्डलका चारै दिशामा अष्टमातृका स्थापना गरी नगर रक्षा गर्न नवदुर्गा नाच सुरु गरेका थिए ।

यस नाच अन्तर्गत गंछि नाच, खः प्याखँ, मू बाहाँ जात्रा, बाराही नाच, कुमः तुलिगु जात्रा, महाकाली नाच, सिम्हा दुम्हाको तोखा नगर परिक्रमा सहित ङा लाकेगु जात्रा, श्वेत भैरवको ङा लाकेगु जात्रा आदि दैवी नाच प्रस्तुत गर्ने गरिन्छ ।

विगतमा हरेक वर्ष प्रस्तुत हुने यो नाच विविध कारणले गर्दा बन्द भई यस वर्षबाट पुनः सुचारु भएकोले तोखाबासीहरु हर्षित देखिएका छन् ।
तस्बिर © शरण डंगोल