अर्थसम्पदासंस्कृति

मध्यपुर थिमि सहकारीको सांस्कृतिक सम्मान

९ असोज २०७९, केके मानन्धर, बाेडे ।
भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले सांस्कृतिक क्षेत्रमा योगदान दिएका ७ वटा समूहलाई सम्मान गरेको छ । संस्थाको १५ औं वार्षिक साधारणसभा कार्यक्रममा ऐतिहासिक निलबाराही गण प्याखँ मध्यपुर बोडे, लायकू भैलः सञ्चालन समिति, महाकाली प्याखँ व्यवस्थापन समिति दिगुटोल, थिमि गुंला बाजा खलः बज्राचार्य समुदाय, मध्यपुर थिमि गुंला बाजा प्रजापति समुदाय,  येँयाः पुन्हिया लसताय् म्ये प्वाः खानीगु जात्रा व्यवस्थापन समिति तथा मानन्धर गुंला बाजा सिवा साय्मि खलःलाई सम्मान गरेको हो । मध्यपुर क्षेत्रकै गौरव गर्न लायकको संस्कृतिलाई विकास, संरक्षण र प्रवद्र्धनमा टेवा दिएकोलाई मूल्यांकन गरी वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय श्री बसन्त मानन्धरले दोसल्ला ओडाएर फूलमालासहितको कदर–पत्र हस्तान्तरण गरी सम्मान गरेका हुन् । कार्यक्रममा सुरेश श्रेष्ठ तथा समीर कारंजितलाई सदस्य प्रोत्साहन पुरस्कार दिइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माननीय मानन्धरले सहकारी संस्थालाई नियमन, निरीक्षण र व्यवस्थित गर्नुपर्नेमा जोड दिए । ‘तीनवटै सरकारका संयन्त्रले सहकारीको विकासको लागि काम गरिरहेको छ । संघ सरकारमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेशगत संरचना तथा स्थानिय तहको सरकारले समेत सहकारीको क्षेत्रमा काम गरिरहेको छ ।’ मन्त्री मानन्धरको भनाइ थियो । उहाँले रुस र युक्रेनबीचको युद्धको प्रभाव नेपालमा पनि पर्नसक्ने औंल्याउँदै त्यसको लागि वित्तीय संस्थाहरुले प्रतीकात्मक तयारी थाल्नुपर्नेमा जोड दिए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीहरुमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे । ससाना पुँजीलाई चलायमान गर्न सहकारी संस्था काफी भएको बताउँदै वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाब किताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थालाई विश्वास गर्न सकिनेमा जोड दिए ।
यो वर्ष मध्यपुर थिमि नगरपालिका सहकारी शाखाबाट उद्घाटन तथा बन्द सत्र दुईथरी नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गर्न कार्यविधि जारी भएको छ । सोही बमोजिम संस्थाले छलफल गर्नुपर्ने सम्पूर्ण प्रस्तावलाई सभामा प्रस्तुत गरी सदस्यहरुको सुझाव संकलन गरी निर्णय पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *