स्थानिय समाचार

म्हय्पिक्व त्वाःको २५ औं वार्षिकोत्सव सम्पन्न

१९ भदौ २०७९, काठमाडौं ।
काठमाडौंको म्हय्पिक्वका स्थानीय समुदायहरु सहभागी भइ स्थापित म्हय्पिक्व त्वाः खलःको २५ औं वार्षिकोत्सव हिजो यहाँ सम्पन्न भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उहाँले त्वाः खलःको स्मारिका विमोचन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले म्हय्पिक्व त्वाः खलःले यहाँका स्थानीयबासिन्दाहरुको विविध पक्षहरुलाई संगालेर गर्दै आएको कार्यको सराहना गर्नुभयो । कार्यक्रममा उहाँले नेवार सभ्यताकै कारण नेपाल विश्वमा पौराणिककालदेखि अस्तित्वमा रहेको उल्लेख गर्नुहुँदै नेवारहरुले आजपर्यन्त आफ्नो धर्म संस्कृतिको रक्षाका लागि कार्य गर्दै आएको बताउनु भयो । सो अवसरमा आफू पनि म्हय्पिक्व त्वाःखलःसँग जोडिन पाउनु आफ्नो लागि खुसिको कुरा भएको उहाँले बताउनु भयो ।


यसैगरी काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने मा. रामवीर मानन्धरले म्हय्पिक्व त्वाः खलःको स्थापनादेखि नै आफू हरेक गतिविधिमा सहभागी हुँदै आएको स्मरण गर्नुहुँदै त्वाःखलःलाई आवश्यक सहयोग गर्न आफू तत्पर रहेको बताउनु भयो ।
काठमाडौं क्षेत्र नं. ७ (क)बाट प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सिंचाइ तथा उर्जामन्त्री बसन्त मानन्धरले पनि म्हय्पिक्व त्वाः खलःले संचालन गरिरहेका विविध गतिविधिहरुको सराहना गर्नुहुँदै अब राजनीतिक रुपमा पनि अगाडि बढ्न आवश्यक भएको औंल्याउनु भयो । उहाँले म्हय्पिक्व त्वाः खलः लगायत विविध संस्कृति संरक्षणका लागि आफूले बजेट राख्दा प्रदेशसभा सदस्यहरुले समेत हाँसोमा उडाएको तर आज विभिन्न क्षेत्रमा बाजा वितरणको कार्य भएकोमा खुसी व्यक्त गर्नुभयो ।
यसैगरी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उपत्यकाको संस्कृति तथा सम्पदाको संरक्षण र संवद्र्धनका लागि महानगरपालिका सदैव तत्पर रहेको बताउनु भयो ।
शान्ता प्रजापतिले संचालन गरेको कार्यक्रम म्हय्पिक्व त्वाः खलःका अध्यक्ष बाबुराजा प्रजापतिको सभापतित्वमा संचालन गरिएको थियो ।


कार्यक्रम सफल पार्न विविध पक्षबाट सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुहुँदै सभापति प्रजापतिले सुरुमा १७ घर परिवारबाट सुरु गरिएको त्वाःखलःमा अहिले ५५ घर परिवार सहभागी रहेको बताउनु भयो । उहाँले त्वाःखलःले बालकदेखि वृद्धसम्म र महिलाहरुका लागि समेत विविध कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो । एउटा परम्परागत त्वाः खलःमा हुनुपर्ने सम्पूर्ण कुराहरु आफ्नो खलःमा भएको उजागर गर्नुहुँदै म्हय्पिक्व त्वाः खलःमा आवद्ध परिवारहरु विभिन्न परम्परागत टोलहरुमा पनि आवद्ध रहेका कारण मात्र आफूहरुले सी गुठिको व्यवस्था नगरेको आवश्यक परेको खण्डमा सो पनि गठन गर्न सकिने बताउनु भयो ।
उहाँले परम्परागत जरालाई त्याग्नु हुन्न भन्ने मानसिकता स्वरुप म्हय्पिक्व त्वाःखलःले गुथ्याः (विशेषतः सी गुठी)को व्यवस्था नगरेको जिकिर गर्नुभयो ।
कार्यक्रममा म्हय्पि योगध्यान केन्द्र, लाहुर्निपका प्रतिनिधि तथा स्थानीय गन्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
२५ औं वार्षिकोत्सवका अवसरमा आयोजित औपचारिक कार्यक्रमपश्चात् विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *