मध्यपुरमा माैलिकता संरक्षण अभियान सुरू
१५ भाद्र २०७९ । केके मानन्धर, भक्तपुर ।
मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक र भाैगाेलिक पहिचान झल्कने गरि नगरभित्रका विभिन्न ठाउँकाे नाउँ पुरानै स्थापित गराउने अभियान थालेकाे छ । नगरभित्र आफू खुसि बाेर्ड राखेर पुरानाे नाउँलाई प्रतिस्थापन हुनेगरी गतिविधि बढेकाे भन्दै माैलिकता संरक्षणकाे लागि प्रयास थालेकाे हाे । नगर प्रमुख सुरेन्द्र श्रेष्ठकाे संयाेजकत्वमा हिजाे नगरका बुद्धिजीवी, सराेकारवाला पक्ष, सञ्चारकर्मीहरूकाे सहभागितामा दाेस्राे भेला गरेकाे छ । भेलाले अढाइ दसकदेखि थिमि क्षेत्रकाे अनुसन्धान गर्दै आएकाे संस्था मालेकुलेका संस्थापक ई. राजेन्द्र तूबन्जा श्रेष्ठकाे नेतृत्वमा ११ सदस्यीय ‘स्थानिय माैलिक नाम संकलन, अध्ययन तथा प्रतिस्थापन समिति’ बनाएकाे छ ।

समितिमा सदस्यहरू क्रमशः बाबुकाजी साःछेँ श्रेष्ठ, केके मानन्धर, श्याम कृष्ण मानन्धर, धर्मसुन्दर बज्राचार्य, विनाेद काेजु, तुलसीभक्त घजु, विनाेद खमु, भरत ध्वं श्रेष्ठ, जगत कृष्ण प्रजापति तथा सुरेन्द्र बहादुर सिजापति छन् । २०५३ सालमा स्थापना भएकाे मध्यपुर थिमि नगरपालिकाका साविक पाँच वटा गाउँ विकास समितिबाट भाैगाेलिक प्रतिनिधित्व हुनेगरी समिति बनाइएको छ । समितिलाई सर्वसम्मत बनाउन समावेशी सहभागिताकाे आधारले आवश्यकता बमाेजिम सल्लाहकार समिति, मनाेनित सदस्य, उपसमितिहरू थप गर्दै जाने समझदारी बनाएको छ । समितिले नगरभित्र बनिसकेका घरहरूकाे नम्बरिङ्ग गर्दै, टाेल, चाेक, दाेबाटाेदेखि मुख्य सडकहरूकाे विषयमा उपलब्ध अभिलेख, स्थानियहरूकाे सुझाव संकलनलाई मुख्य आधार बनाएर ऐतिहासिक पृष्ठभूमिलाई अपभ्रंस नहुने गरी पुरानै नाउँ प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।
स्थानिय माैलिक नाम संकलन, अध्ययन तथा प्रतिस्थापन समितिले रञ्जना लिपि, देवनागरी र अंग्रेजी लिपिबाट प्रत्येक टाेलमा बाेर्ड राख्ने, अनलाइन प्रविधिकाे गुगलमा रेकर्ड हुनेगरी डिजिटल म्यापिङ सिस्टम समेत लागू गर्नेछ । भेला पश्चात् बैठककाे निर्णय पुस्तिकालाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठले समितिका संयाेजक ई. राजेन्द्र तूबन्जा श्रेष्ठलाई हस्तान्तरण गरेकाे छ । कार्यक्रममा उपप्रमुख विजय कृष्ण श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, पूर्व वडाध्यक्ष, संस्कृतिका अध्येता, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानियबासीहरूकाे सहभागिता थियाे ।
नगरपालिकाले यसअघि पनि मूर्त अमूर्त सम्पदा संरक्षण, विकास र प्रवर्द्धनकाे क्षेत्रमा काेशेढुङ्गा साबित हुनेगरी थुप्रै काम गरिसकेको दाबी गरेकाे छ । नगरपालिकाले सानाे ठूलाे अभियानमार्फत ‘हाम्राे कला, हाम्रो संस्कृति मध्यपुर थिमि हाम्रो सम्पत्ति’ नारालाई सार्थक हुनेगरी काम गरिरहेकाे बताइएको छ ।