सम्पदासंस्कृतिस्थानिय समाचार

सम्पदा र संस्कृतिसँग जोडिएको १२ वर्षे जात्रा सञ्चालनमा सहजताकाे लागि बजेट छुट्याएको – मेयर गजेन्द्र महर्जन

२६ साउन २०७९, ठेचो, ललितपुर ।

श्री नवदुर्गा भवानीको १२ वर्षे जात्राको सांस्कृतिक गतिविधिबारे विस्तृत विवरण दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका मेयर एवं जात्रा संचालन मूल व्यवस्थापन समितिका संयोजक गजेन्द्र महर्जनले सम्पदा र जीवन्त संस्कृतिसँग जोडिएको ७०० वर्ष पुरानो ठेचो नवदुर्गा भवानीको १२ वर्षे जात्रा संचालनमा सहजता होस् भन्ने अभिप्रायले नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको बताउनु भयो ।

श्री नवदुर्गा भवानी गुठीका नाइके भक्तलाल मालीले सामाजिक सञ्जालमा भैरहेको अनर्गल प्रचारतर्फ इङ्गित गर्दै सम्बन्धित व्यक्तिसँग सम्पर्क नराखी असम्बन्धित व्यक्तिको कुरालाई आधार बनाई गरेको प्रचार प्रसारको भत्सर्ना गर्दछौं भन्दै आगामी निकट भविष्यमै हुने श्री नवदुर्गा भवानीको ‘देय् भ्वय्’ को लागि बनि सकेका घरहरुको बारेमा आजैदेखि आवश्यक कदम चाल्नु पर्ने पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा नवदुर्गा नाचको १२ वर्षे जात्रा २०७९ साउन १० गते गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि प्रारम्भ भएको जुन १२ वर्षे जात्राको क्रममा एक पटक मात्र लगाइन्छ । अन्य बर्षहरुमा ३ सय ६५ दिन नै खुल्ला राख्ने परम्परा छ । यसरी लगाएको ताल्चा अब यहीँ भाद्र ९ गते जुग चह्रे तिथीमा पूजाआजा गरि खोलिने र त्यसपछि राष्ट्रप्रमुखलाई नवदुर्गा गुठीयारको तर्फबाट सुपारी चढाउने कार्यक्रम पश्चात क्रमशः अन्य पर्वपूजाहरु सुरु हुने जानकारी दिए ।

१२ वर्षे जात्रा अवधिभर मुख्य २८ वटा पर्वपूजा सञ्चालन हुनेछ । त्यसको लागि ६० वटा बलि आवश्यक पर्नेछ भने कुल्पी यज्ञ, पाटन दरवार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङमतीमा नृत्य प्रस्तुत गराइने र साविक दलचोकीमा आगँ सिं भनी स्वः सि (चापको काठ) लिन जाने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीबासीलाई भोज खुवाउने, श्वेत भैरवको नृत्य गराउने चलन भएको बताए ।

बर्षभरि गरिने पूजापाठका झण्डै ७६ लाख खर्च अनुमान गरिएकोमा गोदावरी नगरपालिकाबाट ५० लाख रुपैया बजेट व्यवस्थापन गरिएकोमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायत सम्पूर्ण जनप्रतिनिधिप्रति धन्यवाद ज्ञापन पनि गरे । बजेट विनियोजित गरेकोप्रति सामाजिक सञ्जालमा केही व्यक्तिहरुले आलोचना गरेकोमा, ती आलोचना गर्नेहरुलाई १२ वर्षे जात्रा अवधिभर के कस्ता कर्म पूजा गर्नुपर्छ र त्यसका लागि कति खर्च हुन्छ भन्ने कुरा थाहा नभएको बताउँदै अन्य सम्पूर्ण काम छोडेर संस्कृति जोगाउने गुठीयारहरुको दुःख कसले बुझ्छ र ? भनी प्रतिप्रश्न समेत गरे ।

जात्रा सुरु भएसँगै ठेचो बस्तीमा वारव्यार, भोजभतेर, बिहे, व्रतबन्ध आदि निषेध छ । पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरि पाहुना सत्कार गर्न, राती हिडडुल गर्न, सिट्टी, ताली, घण्ट बजाउन नपाइने नियम छ । नवदुर्गा गुठीको आफ्नै बाजा बाहेक अन्य बाजागाजा बजाउन मिल्दैन भने नवदुर्गाको पर्व, पूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदुर्गा गुठीको धुःखः नामक नाच सम्पन्न नभएसम्म लागु हुन्छ । धुःखः नामक नाच फागुन/चैत तिर हुनेछ ।

ठेचो नवदुर्गा नाचमा १३ देवगणहरु छन् ः भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । नवदुर्गा गुठीमा ३४ जना गुठीयार छन् । परम्परा अनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास छ । देवगणहरुको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गर्छ । इन्द्रायणी देवीको भने नृत्य गराइदैन । श्वेत भैरव १२ वर्षमा एक पटक मात्र नृत्य गराइन्छ । प्राय श्वेत भैरव नाच लक्ष्मी पूजाको दिन नचाउदै आएको पाइन्छ ।

यो नाच पाटन दरवार क्षेत्रका लिच्छवीराजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पायो जात्रा) सँग पनि प्रत्येक्ष सम्बन्ध रहेको छ । भाषा वंशावलीमा उल्लेख भएअनुसार पाटन दरवारक्षेत्र केन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको पाइन्छ । वंशावलीमा ‘यिनी राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मूःस्वाँ नामक पुष्पका निमित्त माली जात प्रख्यात गरेको’ उल्लेख छ । राजा मानदेवको पालामा मू छेँ आँगम घर स्थापना गरि खड्ग जात्रा चलाएको कुरा वंशावलीमा उल्लेख छ ।

जात्राको अर्को मुख्य आर्कषण सुनाकोठीमा गरिने कुल्पी यज्ञ पनि हो । रातभरी यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गलगायत गरगहनामा साधन गरि देवता प्रतिष्ठापन गर्ने गरिन्छ । नवदुर्गा गण र ठेचोबारेमा देवमाला वंशावलीमा यस्तो लेखिएको छ, ‘नेपाली सम्वत सालमा श्री राजाका पालामा श्री श्री नवदुर्गा जगाई ७०० घरको सहर बनाई प्रतिवर्ष नवदुर्गाको नाच पाटनमा दशैका टिकाको दिन ल्याई श्री मनमानेश्वरीको स्वेष्ट देवतालाई भैरव काली बाराही ३ जनाले फुलको माला लगाई पाटनको मूलचाकेमा नाच नचाउने समेत रीत चलाएको आजसम्म चलेकैछ ।’ ठेचोमा माथिल्लो लाछी टोलमा रहेको बालकुमारी मन्दिर केन्द्रित मूल ४ वटा गुठी छन् । तल्लो लाछी टोलस्थित ब्रम्हायणी मन्दिर केन्द्रित मूल ३ वटा गुठी छन् । १२ वर्षे जात्रा सञ्चालन गर्न गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा २७ जनाको मूल व्यवस्थापन समिति गठन भएको छ । उपसंयोजकहरुमा गोदावरी नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष जगतबहादुर महर्जन, नवदुर्गा गुठीका नाइके भक्तलाल माली, नवदुर्गा भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली रहेका छन् ।

सदस्यहरुमा गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रतिनिधि, ठेचो तःगुठीका नाइके पुष्पनारायण महर्जन, पूर्णी गुठीका ज्ञानबहादुर महर्जन, चह्रे गुठीका बसन्तकुमार महर्जन, मूः गुठीका मिलन महर्जन, न्हेय्स गुठीका रामगोपाल महर्जन, कोना गुठीका प्रतिनिधि छन् । त्यस्तै ठेचो सांस्कृति बाजा संरक्षण समितिका अध्यक्ष बाबुराम महर्जन, गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगनाथ महर्जन, नव सुर्योदय युवा क्लबका अध्यक्ष महेन्द्र माली, नवदुर्गा धिमे पुचःका अध्यक्ष राज माली, नवदुर्गा टोल सुधार समितिका अध्यक्ष रत्नबहादुर माली, ठेचो सहकारी समन्वय समितिका अध्यक्ष चन्द्रगोविन्द महर्जन, महानगर प्रहरी वृत चपागाउँका प्रतिनिधि छन् । साथै ठेचो मिसा धिमे पुचःका अध्यक्ष नग्मा माली, साविक ठेचो गाविस अध्यक्ष हरिराम महर्जन, स्थानीय समाजसेवी सानु महर्जन, राजेन्द्र माली, हिरा माली, सञ्जु माली महर्जन, सानदेवी माली रहेका छन् ।

सल्लाहकारहरुमा ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल, सांसदद्वय राजकाजी महर्जन, दिपेश महर्जन र नवदुर्गा भवानी देवी गुठीका सल्लाकार सुर्य माली रहेका छन् भने नवदुर्गा भवानी देवी गुठीका अध्यक्ष धर्मराज मालीको संयोजकत्वमा आर्थिक उपसमिति, विकास मालीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । प्रचारप्रसार समितिका सदस्यहरुमा नविन थेचोमी, नन्द महर्जन, नरेश महर्जन, कल्पना महर्जन, पशुपति बुढाथोकी र राजु बस्नेत छन् ।

१२ वर्षे जात्रामा गरिने २८ पर्व पूजाहरु निम्नानुसार रहेका छन् ः
गथामुगः पूजा – साउन १० गते
नवदुर्गा मन्दिर मूल ढोकामा ताल्चा लगाउने – साउन १० गते राति (सम्पन्न)
छाप्रो बनाउने – भईरहेको छ
ताल्चा खोल्ने – भदौ ९ गते बिहान
पञ्चदान – भदौ ९ गते
छाप्रोमा नाथ गुरु स्थापना गर्ने – साईत हेरेर
नवदुर्गा गणको नयाँ मुकुट बनाउने – भईरहेको छ
आगँ सिं लिन जाने – साईत हेरेर
देवगणहरुद्वारा जल लिन जाने – साईत हेरेर
देवणहरुद्वारा देवता लिन जाने – साईत हेरेर
खिसि लिने (मन्दिर भित्र गरिने आन्तरिक पूजा) – साईत हेरेर
धागसी लिन जाने (मन्दिर भित्र गरिने आन्तरिक पूजा) – साईत हेरेर
सुनाकोठीमा होम गर्ने – असोज १६ गते राति
दशैंमा जाग्राम बस्ने – असोज १८ गते
दशैंमा पाटन दरबार क्षेत्रमा नृत्य प्रस्तुत तथा मनमानेश्वरी देवीलाई पूmलमाला चढाउने र पटुको टोलमा नृत्य – असोज १९ गते
दशैंमा सुनाकोठीमा नृत्य प्रस्तुत – असोज २० गते
दशैंमा ठेचोमा नुत्य प्रस्तुत – असोज २० गते
कोजाग्रत पूर्तिमा – असोज २२ र २३ गते
देश भोज (देय् भ्वय्) – असोज २४ गते
आगँ ख नाच (श्वेत भैरव नचाउने) – साईत हेरेर
ठेचो तल्लो लाछीमा बाःखः नाच देखाउने – साईत हेरेर
ठेचो माथिल्लो लाछीमा बाःखः नाच देखाउने – साईत हेरेर
सनोकोठीमा बाःखः नाच देखाउने – साईत हेरेर
योमरी पुन्हीमा मनाइने ठेचो जात्रा – मंसिर २३ र २४ गते
बुङ्गमतीमा नृत्य पश्चात ठेचोमा प्रसाद ग्रहण – मंरि २५ गते
पाथ तोनिगु – दिन हेरेर
ठेचोमा धुखः नाच – साईत हेरेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *