मानन्धर युवा समूहको रजत जयन्ती सम्पन्न, लोपोन्मुख नौ बाजाको पनि प्रदर्शन
१८ साउन २०७८ । पूर्ण मानन्धर, थिमी ।
मानन्धर युवा समूहको “रजत जयन्ती समारोह” शंखधर चोकस्थित थिमी बैंक्वेटमा गत शनिबार सम्पन्न भएको छ ।
“आफ्नो धर्म संस्कृतिलाई सधैं माथि उकासौं” भन्ने मूल नारा दिएर स्थापना गरेको थिमी चोडे टोलस्थित मानन्धर युवा समूहले कार्यक्रममा लोपोन्मुख नौ बाजाको प्रदर्शन गरेको थियो ।
समूहले २५ औं वर्ष पूरा गरेको अवसरमा आयोजित समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संस्कृति जगेर्ना गर्ने क्षेत्रमा मानन्धर समुदायको अग्रणी भूमिका रहेको बताए । लोप हुनै लागेको मौलिक सम्पदा र संस्कृति जगेर्ना गर्ने अभियानमा स्थानिय सरकारको साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे ।
समारोहका विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख विजयकृष्ण श्रेष्ठले एउटै तालमा नौ बाजाको प्रस्तुतिले धैरै खुशी अनि आनन्दित तुल्याएको बताए । साथै उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या समाधान गर्ने क्षेत्रमा केन्द्रीत गरेर योजना ल्याएको बताए ।

समारोहमा मध्यपुर थिमि वडा नं ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, भक्तपुर उद्योग वाणिय संघका अध्यक्ष शिव प्रसाद मानन्धर, भक्तपुर इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष गंगाराम मानन्धर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुच्छेरत्न मानन्धर, नेपाल ज्ञानमाला समिति, भक्तपुर क्षेत्रीय उपसमितिका संयोजक पुण्यरत्न शाक्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा जिल्ला मानन्धर युवा संघका अध्यक्ष बावुकाजी मानन्धर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समूहका सचिव पूर्णकुमार मानन्धरले स्वागत गरेको समारोह रत्नप्रसाद मानन्धरको सभापतित्व सम्पन्न भएको थियो । साथै समारोहको औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रममा विवेक मानन्धर नेतृत्वको झीगु नेवाः पुचःको सांगीतिक प्रस्तुति, किशोरीहरूको नृत्य तथा गायन प्रस्तुति एवं चण्डिका घजु, रञ्जना सितिखु, बाबुकाजी मानन्धर, चनेलाल मानन्धर लगायतले सांगितिक प्रस्तुत गरेका थिए ।