फाेटाे फिचरसंस्कृति

थेच्वमा यसरी मनाइयो गथांमुगः पर्व

११ साउन २०७९ ।
शरण डंगाेल, थेच्व, ललितपुर ।
नेवार समाजमा जात्रा पर्वको शुरुवात हिजोबाट गठामों चह्रे मनाउने सँगै शुरु भयो । रोपाई सकेर फुर्सदको क्षणमा रोगव्याधी नलागोस् भनेर मनाइने यस जात्राको आफ्नै मौलिक पहिचान छ ।
श्रावण कृष्ण चतुर्दशी दिन मनाइने यो चाड चतुर्दशीका दिन सम्पन्न हुने चार प्रमुख चाडहरूमध्ये एक मानिन्छ । यस बाहेक अन्य तीन प्रमुख चतुर्दशीहरू  हुन् – बाला चतुर्दशी, शिवरात्रि चतुर्दशी र पिशाच चतुर्दशी । नेपालका नेवार समाजमा व्यापक रूपले प्रचलित लोकोख्यान अनुसार गथांमुगः, जसलाई नेपाल भाषामा गंठामो, गंठाम्हो तथा गठांमो भनिन्छ, भने नेपाली जनजिब्रोमा घण्टाकर्ण भनिन्छ जुन एक राक्षस रहेको थियो रे । तर, तिनलाई राक्षस नै हो भन्ने कुराको कुनै ठोस आधार कहीँ कतै कसैले पनि दिन सकेको छैन । यसको अनुरूप उनी एक यस्ता हस्ती हुन् जसमा हाम्रो समाज सङ्गठनरूपी गृह भनौं या सम्पूर्ण ब्रम्हाण्ड नै अडेको छ । ललितपुरमा रातो मत्स्येन्द्रनाथ र काठमाडौं सेतो मत्स्येन्द्रनाथको को रथ निर्माण गर्दा सबैभन्दा तल ठुला–ठुला काठका सत्तरीहरूलाई बेतले बाँधेर जुन रथको जग राखिन्छ त्यसलाई गठांमो चीगु भन्ने परम्परा अहिलेसम्म चलेकै छ । यस कुराको पुष्टि यसबाट पनि हुन्छ कि ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्राको क्रममा मत्स्येन्द्रको रथ रहुञ्जेल घण्टाकर्ण चाडको अवसरमा टोल–टोलका चौबाटोहरूमा गठांमो ठड्याउन नहुने चलन विद्यमान छ । यी आधारबाट गठांमो शब्दले साँच्चै भन्ने हो भने मन्दिर, रथ, घर, राष्ट्र वा ब्रम्हाण्डकै मजबुत जगलाई बुझाएको भन्ने कुरामा कुनै शंका नरहेको स्पष्ट हुन्छ ।
यसै सिलसिलामा ललितपुरको दक्षिणी इलाका थेच्वमा पनि घरघरबाट छ्वालीप्वा बालेर भूत पन्छाई दोबाटो चौबाटोमा मिल्काई थेच्वमा भव्यरुपले गथांमुगः पर्व मनाइन्छ । पहिले पहिले त चोक चोकमा ठुलाठुला गथांमुगः पनि बनाइन्थ्यो रे जुन अहिले प्रचलनमा छैन ।
अन्य नेवाः बस्तीमा जस्तै यहाँ पनि बिहानैदेखि स्थानीयले घर सरसफाइ लिपपोत गरिन्छ । दिउँसो घरपरिवारबाट गथांमुगः बनाउनको लागि सरसामान जुटाउन खेतबारी तिर जान्छन् । कर्कलोको पात, बेथे, सिस्नु, फर्सीको पात, काँक्रोको पात आदि र मुख्य वस्तुको रूपमा छ्वालीको मुठ्ठाहरु जम्मा गरिन्छ ।
दुईवटा छ्वाली (पुरुष र महिलाको प्रतीक) को मुठ्ठा बनाई त्यसमा माथि उल्लेखित पातहरूले सिँगारिन्छ । साँझपख दुइटै छ्वालीप्वालाई समयबजी राखी पूजाआजा गरी घरको कुना कुनामा डुलाइसकेपछि । एउटा घरको पिखालखुमा (घरको मूल ढोका अगाडि) बालेर एउटा त्यही छोडिन्छ र अर्को दोबाटो चौबाटोमा लगेर छोडिन्छ अर्थात् गथांमुगः दहन गरिन्छ ।
यसरी घरबाट बाहिर निस्कँदा गथांमुगःलाई गाली पनि गर्दै जाने चलन पहिले बस्ती भरी थियो रे, तर अहिले यदाकदा कसै कसैले त्यसरी गाली गरेको सुनिन्छ ।
यसरी गथांमुगः दहन गरेर आइसकेपछि ढुङ्गे धारा, पोखरी आदि स्थानमा गई चोखो भई चोखो पानी ल्याइन्छ । सो पानी घर भरी छर्केपछि प्रसाद स्वरूप समयबजी खाने गरिन्छ । यसरी थेच्वमा यस वर्षको गथांमुगः पर्व समाप्त हुन्छ ।
स्थानीय बुढापाकाका अनुसार पहिले पहिले खेतबारीमा काम गर्न सघाउन आउँथ्यो रे । पछि खेतबारीको काम सकेपछि सँगसँगै घरमा आउँदा तिनीहरूलाई धपाउन यसरी छ्वालीप्वा बालेर भगाएको संकेत स्वरूप यो पर्व मनाउँदै आएको विश्वास गरिन्छ ।
https://www.facebook.com/638948690/videos/1062820017773616/

Leave a Reply

Your email address will not be published. Required fields are marked *