नेपालभाषासाहित्यस्थानिय समाचार

७ पुस्तक एकैचोटी विमोचन

१६ जेठ २०७९, केके मानन्धर
भक्तपुरमा सातवटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । चार दशकको इतिहास बोकेको कुतः पिकाकः प्रकाशनले विभिन्न विधामा तयार गरिएका पुस्तकलाई विमोचन गरेको हो । समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाको न्हाय्कं, जिज्ञासा र म्हमस्यूम्ह मनू, आख्यानकार मथुरा साय्मिको महाअभियान, कथाकार पशुपतिमान पःमांको नेवाः वाउँभतु र मलखं कःगु छेँ तथा पूर्ण ताम्राकारको कवि सुन्दर मधिकर्मी नामक पुस्तक विमोचन गरिएको छ । विमोचित पुस्तकहरु मध्ये महाअभियानलाई अंग्रेजी, नेपाली तथा नेपालभाषामा प्रकाशन गरिएको छ ।


कार्यक्रमको पहिलो चरणमा पुस्तक विमोचन, दोस्रोमा कुतः राजदास साहित्य पुरस्कार वितरण तथा तेस्रोमा संगीत र साहित्य क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको थियो । पुरस्कृत हुने ५ जना साहित्यकारहरु मध्ये निबन्धकार पूर्णराम मुनंकर्मीलाई नगद पचास हजारसहित कुतः राजदास साहित्य पुरस्कार प्रदान गरिएको छ । मुनकर्मीले लेख्नुभएको अनुसन्धानमूलक किताब संवत् सन्दर्भ छगू दुवालाको लागि उत्कृष्ट पुरस्कार दिइएको हो । त्यस्तै, नगद दस हजारसहित कुतः राजदास साहित्य प्रोत्साहन पुरस्कार क्रमशः उपन्यास डा. रीना तुलाधर, कथाकार पशुपतिमान पःमां, हाइजिन मोक्षबहादुर अमात्य तथा समालोचक अपर्णा प्रधानलाई दिइएको छ । जम्मा ४१ वटा किताबलाई सहभागी गराइएको मध्ये उत्कृष्ट पाँच जना साहित्यकारहरुको किताब छनोटमा परेको हो । नेपालभाषा एकेडमीका महासचिव डा. पुष्पराज राजकर्णिकार र समालोचक पूर्ण ताम्राकारले प्रतियोगितामा सहभागी गराइएका किताबहरुलाई मूल्यांकन गरेको बताइएको छ ।

कार्यक्रमको तेस्रो चरण अन्तर्गत साहित्य र संगीत क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको छ । सोहीक्रममा आख्यानकार मथुरा साय्मिले संगीततर्फ जनगायक रामकृष्ण दुवाल र साहित्यतर्फ साहित्यकार विमल ताम्राकारलाई दोसल्ला ओडाएर सम्मान गरेका हुन् । केमिकल इन्जिनियर तथा भाषासेवी राजदास श्रेष्ठले पुरस्कारको लागि राशी जुटाएका छन् । कार्यक्रममा कवयत्री प्रतिसरा साय्मि, साहित्यकार रामेश्वर भुजु, वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु गोंगः, तिलक प्रकाश कायस्थ, अगिब बनेपाली, महेन्द्र गोपाल कर्माचार्य, डा. इन्दुल केसी, कृष्णभक्त बोडे, योगेन्द्र प्रधान, त्रिरत्न शाक्य, ध्रुव मधिकर्मी, प्रकाश सक्व, विजयरत्न असंबरे, ऋषिप्रसाद श्रेष्ठ, सत्यनारायण मानन्धर, विष्णु केशरी ताम्राकार, पञ्चवीर सिंह तुलाधर लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *