बोडेमा नयाँ यसिं भित्र्याइयो
२५ चैत्र २०७८, मध्यपुर थिमी ।
मध्यपुर थिमी नपाको बोडेमा हिजो नयाँ यसिं भित्र्याइएको छ । निलबाराही वनबाट ल्याइएको सो यसिं स्थानियले बाजागाजा सहित जात्रा गर्दै बोडेको महालक्ष्मी मन्दिरमा पु-याइएको हो ।

३२ हाते सो यसिं बिस्काः जात्राको शुरुवातको दिन चैत्र मसान्तमा ध्वजोत्थान गरि हलिंपता फहराई बिस्का जात्राः शुरु गरिन्छ भने ५ गते यसिं धालेर जात्राको समापन गरिन्छ ।
पहिले यसिंमा बलि सहितको पूजा पश्चात मात्र यसिं काटिन्थ्यो भने यसपालि बलिस्वरुप अण्डा सहित पूजा गरि यसिं काटेर ल्याइएको थियो । पूजा पश्चात प्रसाद स्वरुप समयबजि पनि वितरण गरिएको थियो ।

परम्परागत रुपमा बिस्काः जात्रा मनाइने ७ गाउँ मध्ये बोडेको महालक्ष्मी मन्दिर अगाडि ध्वजोत्थान गरिने यसिं भाँच्चिएमा, खोक्रो हुँदै गएर उठाउन नमिल्ने भएमा नयाँ ल्याउने चलन रहेछ । सोही बमोजिम हिजो सो यसिं ल्याइएको थियो ।
पहिले सरकारको माथिल्लो निकायहरु मन्त्रालय विभागस्तरबाट स्वीकृति लिई ल्याउनुपर्ने सो यसिं यसपालि स्थानिय सरकारको सहयोगबाटै ल्याउन सकिएकोमा गुथियारहरुलाई सजिलो महसुस भएको रहेछ ।

यो यसिं गुथिमा पहिले स्थानिय पाँच जना साहुखलः गुथियार रहेकोमा हाल तीन जनामात्र विद्यमान रहेको छ ।
अन्य क्षेत्रमा जस्तै यहाँ पनि यसिं सम्बन्धमा अन्य स्थानको जस्तै नागनागिनीको किम्बदन्ती रहेको छ ।
