“गजोगु कासा द म्हिताबिल छं” को प्रिमियर सम्पन्न
१८ चैत्र २०७८ ।
हरसिद्धि, ललितपुर ।
नेपालभाषा गीतसंगीत र सञ्चारक्षेत्रमा चिरपरिचित फोटोपत्रकार बी.के.जल्मी (बाबुकाजी जल्मी) को निर्देशनमा तयार भएको “गजोगु कासा द म्हिताबिल छं” को म्युजिक भिडियोको प्रिमियर हिजो यहाँ एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
वरिष्ठ गायक जुजुकाजि रन्जितको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा लुनिभा प्रोडक्शनका अध्यक्ष साथै गीतका सर्जक जल्मीको सभापतित्वमा सम्पन्न भएको थियो ।

भावुक हुँदै सभापतिले हामीले वर्षौं गरेको मिहिनेत ह्याकरले एकैछिनमा ध्वस्त गर्छ भन्ने थाहा नभएको जसमा आफू पिल्सिएको बताउँदै यसको निराकरणको लागि हामी आफै पनि आइटी क्षेत्रमा दक्ष बन्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा ललितपुर महानगर १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्य, सिने पत्रकार विजयरत्न असंबरे लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

लुःनिभा प्रोडक्सनको ब्यानरमा निर्मित सो म्यूजिक भिडियोमा शोभा महर्जन, अनुज शाक्य लगायतको उत्कृष्ट अभिनय रहेको छ भने उमिसा पाण्डेको श्रृङ्गार, गिफ्ट नेपालको भेषभूषा, अभि शाक्य र एलेक्स महर्जनको फोटोग्राफी, रविन डंगोलको छायांकन रहेको छ ।
बाबुकाजी जल्मीको शब्द रहेको उक्त गीतमा स्वर संगीत राकेश महर्जनको रहेको छ भने संगीत संयोजन जीवित जल्मीले गरेका छन् ।

साथै हिजै बाबुकाजी जल्मीकै शब्द र जीवित जल्मीको स्वर संगीतमा रेकर्डिङ्ग गरिएको “बिहानीको शितल हावाको स्पर्शसँगै”को अडियो पनि प्रिमियर गरिएको थियो ।
कार्यक्रममा उक्त म्यूजिक भिडियोसँग सम्बद्ध कलाकार तथा प्राविधिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानित पनि गरिएको थियो भने शुभचिन्तक तथा पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त म्यूजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ः