जात्रा पर्वफाेटाे फिचरसंस्कृति

थैवमा महादेवको मृगरुप च्वलेद्यः जात्रा

७ चैत्र २०७८ ।
शरण डंगोल, थैव, ललितपुर ।

नेपालभाषाकाे एक उखान “स्वसः थैवमी गुसः भलादमी” ले परिचित ललितपुरको एक मनोरम ऐतिहासिक गाउँ थैवमा वर्षैभरी जात्रापात्राहरु हुने गर्दै आइरहेको छ ।

संवत् ८४० मा लेखिएको एक थ्यासफूमा वर्णन गरिए अनुसार त्यो बेलानै यस नगरको विस्तार भैसकेको ज्ञात हुन आउँछ । फूल्चोकीमाई सँगै जात्रा गरिने यो चोलेद्यः जात्रा फूल्चोकीमाईसँगै यस नगरमा ल्याएको हुनसक्ने अनुमानका साथ यो जात्रा यहाँका जात्राहरुमध्ये प्राचीन जात्रा भएको प्रतित हुन्छ ।

होलिपूर्णिमादेखिनै यहाँ च्वलेद्यः जात्राको चहलपहल शुरु हुने यस ठाउँमा मनाइने एक भव्य जात्रामध्ये फूल्चोकी माई तथा च्वलेद्यः (सिद्रा) जात्रा पनि एक रहेको छ ।

यहाँका सम्पूर्ण जनजातिको सहभागितामा सम्पन्न हुने यस जात्रामा हाल केही जनजातिको सहभागिता हराउँदै गएको देखिन्छ । सुन्नमा आए अनुसार यहाँ जात्राको समयमा नभै नहुने काहाँबाजा (इन्द्रबाजा), मुहालीबाजा आदि लोप भैसकेको देखिन्छ । धिमे, धा, खिं, नायखिं आदिले निरन्तरता पाइरहेको छ ।

महादेव मृगरुप धारण गरी पार्वतीको एक रुप फूल्चोकीमाईको नाच लुकेर हेरीरहेको प्रतीकस्वरुप मनाइने यस जात्रामा पहिलो दिन छ्वयलाभू गरिन्छ भने दोश्रो दिन गुथियारहरुले मृगको प्रतिक बोकालाई झ्याङ्गभित्र लुकेर बसेको बनाई चोलेद्यः तयार गरीन्छ जसलाई सर्वसाधारणले हेर्न बन्देज हुन्छ जब गामो उलेगु अर्थात् खड्कुलोमा राखेको चोलेद्यःलाई खुल्ला गरिन्छ तब त्यहाँ फूल्चोकीमाईको खट, विष्णुदेवीको खट र अन्य देवताहरुको खटमा मूर्तिहरुलाई विराजमान गराई भक्तजनबाट पूजाआजा शुरु हुन्छ ।

अपरान्हतिर जलचपा, अन्तलचपा र क्वथचपाका गुठियारहरु र अन्य सर्वसाधारण भक्तजनहरुको सहभागितामा बाजागाजासहित च्वलेद्यः र अन्य देवताका खटहरु ताँगाध्वाखा, अन्तल टोल, माकननी टोल, क्वाथननी हुँदै उत्तरी ढोकासम्म जात्रा गर्दै लगिन्छ । त्यहाँ पुग्दा अरु देवदेवीले आफूलाई देखेकोले भाग्दै कडँटोल हुँदै पुखुसीटोल पुग्दा अँध्यारो भैसकेको हुन्छ र चिलाख निभ्छ भने यही च्वलेद्यः अन्तध्र्यान हुने हुन्छ । यसरी च्वलेद्यः कहाँ गयो भनी गुठियारसँग प्रश्न गरेमा भगवान् फूल्चोकी जानुभयो, कैलाश पर्वतमा जानुभयो भन्ने उत्तर दिन्छन् । अन्तमा अन्य खटहरु आ–आफ्नो स्थानमा पु-याएपछि जात्रा समाप्त हुन्छ ।

यसरी जात्रा हुँदै गर्दा ठाउँठाउँमा भक्तजनहरुबाट बलिसहितको पूजाआजा गर्ने गरिन्छ भने यही मूख्य जात्राको दिन यहाँ स्थानियले आफ्ना आफन्तजनहरुलाई निमन्त्रणा गरी प्रसाद वितरण गर्ने पनि गरिन्छ ।

संस्कार, संस्कृति, परम्परामा बालकैदेखि उत्साहित बनाउन यस जात्रामा स–साना खटहरु पनि रहेको छ जसलाई स–साना बालकहरुले बोकी परम्परागत बाजाको तालमा खटलाई नचाउने गरिन्छ ।

थैवका समाजसेवी, इतिहासकार ईश्वरबहादुर श्रेष्ठका अनुसार जात्रा सम्पन्न भएको ४ दिनभित्र जात्राका लागि निमन्त्रणा गरिएका देवदेवीहरुलाई फिर्ता राख्न र जात्रामा भएका कमिकमजोरीको क्षमायाचनाको लागि पूजा गर्न फूल्चोकी पुग्नु पर्ने र पूजा पश्चात फर्केर आउँदा बाडेगाउँसम्म देवीनाच र बाजागासहित बाटो हेर्न जाने चलन अद्यापि चलेको र यसरी फर्केर आएपछि यस गाउँको सम्पूर्ण जात्रा समाप्त हुने हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *