समाचार

नागरिक अगुवा डा. महेशमान श्रेष्ठकाे भाषा चासाे

३ चैत, २०७८ ।
केके मानन्धर, काठमाडाैं ।
नागरिक अगुवा डा. महेशमान श्रेष्ठले काठमाडौं उपत्यकाकाे अस्तित्व जाेगाउन भाषा, संस्कृति, सम्पदा र लिपिलाई संरक्षण गर्नुपर्नेमा जाेड दिए । राजधानीमा सम्पन्न कार्यक्रमलाई सम्बाेधन गर्दै डा. श्रेष्ठले नेपाल मण्डलकाे अस्तित्व संकटमा परेकाेप्रति चिन्ता व्यक्त गरेका हुन् ।
‘नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले आदिवासी नेवारकाे पहिचान संरक्षण गर्ने क्षेत्रमा ठाेस नीति ल्याएन । त्यसैले आदिवासीहरूकाे भाषा, संस्कृति संकटमा छ ।’ डा. श्रेष्ठकाे आराेप थियाे । श्रेष्ठले २०१५ देखि विभिन्न पार्टीमा आवद्ध भएर काम गर्दा पनि नेतृत्व तहले राजधानीकाे पहिचान संरक्षण हुने नीति नल्याएकाेमा असन्तुष्टि पाेखे ।
हुनपनि देशैभरबाट काठमाडौंमा अनियन्त्रित बसाइँसराइ हुँदा जनघनत्व उच्च भएर आवास, खानेपानी, ढलनिकास, सडकदेखि फाेहाेरमैलाकाे उचित व्यवस्थापन भएको देखिँदैन । यसले एक त शहरलाई प्रदुषित बनाएकाे छ भने अर्काेतर्फ ग्लाेबल वार्मिङकाे नकारात्मक प्रभाव र जमिन भासिएकाे सम्मका प्रतिवेदनहरू सार्वजनिक भएका छन् ।
नेपालकाे राजनीतिमा एकल नश्लीय र परिवारवाद हाबी भएकाेले भ्रष्टाचार माैलाएर देशकाे सम्मुचित विकास हुन नसकेको डा. श्रेष्ठको तर्क थियाे । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालले २००८ सालमै जातीय स्वशासनको नीति पारित गराएकाे उहाँले स्मरण गरे । तर साे नीति कार्यान्वयन भने हुन पाएन । यहि मुद्दामा नेवार समुदायका इनसाइक्लाेपेडिया नामले परिचित प्रा. माणिकलालले पनि समर्थन जनाएकाे उहाँको भनाइ थियाे । त्यसैले समावेशी ढंगकाे बहुपहिचानसहितकाे राज्य बनाएर गुरूङ, थारू, नेवार, मधेसी, लिम्बुहरूलाई आआफ्नाे ठाउँमा नेतृत्वको अवसर दिएर देश विकास गर्नुपर्नेमा उहाँले जाेड दिए ।
नेवाः राजनीतिक अभियानका संरक्षक समेत रहेका डा. श्रेष्ठले अभियन्ताहरूलाई मृत्यु संस्कारमा सहयाेग गर्न, रगत अभावकाे समस्या समाधान गर्न तथा घरायसी मुद्दा मामिलामा अल्झिएका सदस्यहरूलाई सघाउन अाह्वान गरे ।
त्यस्तै, अभियानका अध्यक्ष श्रीकृष्ण मानन्धरले नेवारहरूकाे हकअधिकारको लागि पृथक ढंगकाे राजनीतिक, अार्थिक र सांस्कृतिक विचार तयार गर्नुपर्नेमा जाेड दिए ।
अभियानले नवनिर्मित विधान बमोजिम काठमाडौं महानगरमा कार्यसमिति बनाएकाे छ । पहिलाे नगरसभाबाट बाबुराजा प्रजापतिकाे नेतृत्वमा १६ सदस्यीय नयाँ समिति छनाेट गरेकाे हाे । समितिमा उपाध्यक्ष कल्पना श्रेष्ठ र रमिता बज्राचार्य, सचिव रितेश मल्ल, कोषाध्यक्ष सत्यनारायण मुनिकार, सहसचिव साधना डंगोल चुनिएका छन् । त्यस्तै, सदस्यहरू क्रमशः सुमन मानन्धर, शान्ता प्रजापति, गोपालदास श्रेष्ठ, नहकुल श्रेष्ठ, कपिलमुनि बज्राचार्य, सचिन शाक्य, बबिता ताम्राकार, जितेन्द्र महर्जन, आलोक, पुर्ण महर्जन छन् ।
कार्यक्रममा विष्णु चित्रकार, मदनसेन बज्राचार्य, खगेन्द्र जोशी, प्रेमराज शिल्पकार, विद्या चित्रकार लगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *