नेपालभासाको चलचित्र ‘कर्म’ को प्रिमियर सम्पन्न
१४ फागुन २०७८, ललितपुर ।
बहुप्रतिक्षित नेपालभासाको चलचित्र ‘कर्म’ आजदेखि गुण सिनेमा ग्वार्कोमा प्रदर्शन शुरु गरिएको छ ।

गुण फिल्मस्काे ब्यानरमा पटकथा, संवाद तथा निर्देशन रामकृष्ण खड्गी रहेको उक्त चलचित्र कर्मका निर्माता राजेन्द्र शाक्य रहेका छन् । निर्देशक खड्गीले यसभन्दा अघि नेपालभासाकै एक उत्कृष्ट चलचित्र पटाचाराको पनि निर्देशन गरेका हुन् ।
ख्यालीजुजु मदनकृष्ण श्रेष्ठ, नारायणदेवी प्रधान, कर्म शाक्य, आशिष्मा नकर्मी, अन्नपूर्णेश्वरी श्रेष्ठ, लुनिभाः तुलाधर, यमन श्रेष्ठ, रजनी खड्गी, शोभा महर्जन, आराध्यालक्ष्मी खड्गी, राजु महर्जन, सुरज व्यञ्जनकार, रुपेन्द्र श्रेष्ठ लगायतका स्थापित कलाकारहरुको अभिनय रहेको सो चलचित्रमा निर्देशक स्वयम् समेतले जीवन्त अभिनय गरेका छन् ।

लुःजः सिंहको छायांकन, बालकृष्ण बंशीकाे सम्पादन, पाश्र्व संगीत तथा संगीत संयोजन रहेको सो चलचित्रमा सह–निर्माता दिप्रश शाक्य एवं सह–निर्देशक राजन शाही रहेका छन् भने श्रृङ्गारमा उमीसा पाण्डे तथा निर्माण नियन्त्रकमा उजय शाही रहेका छन् ।

प्रिमियर–शो पश्चात निर्देशक खड्गीले बौद्ध जातक कथामा निर्मित यस चलचित्रको प्रदर्शनबाट संकलन भएको रकम बौद्ध विहारलाई नै प्रदान गरिने हुनाले नेपालभासाको चलचित्रलाई माया गर्ने दर्शकहरुले अवश्य पनि एक पटक ‘कर्म’ चलचित्र हेरी दिनु हुनेछ भन्ने विश्वास रहेको बताए । साथै चलचित्र राम्रो बनेको छ भन्ने आपूmलाई लागेमा साथिभाई इष्टमित्रलाई भन्न र यसमा भएका कमीकमजोरीहरु उहाँहरुलाई भन्नु हुन पनि अनुरोध गरे जसलाई आगामी चलचित्रमा सुधार गरिने बताए ।
प्रिमियर–शो पश्चात दर्शकहरुसँगको छोटो कुराकानीमा चलचित्रको सम्पूर्ण पक्ष उत्कृष्ट रहेको, चलचित्रले दर्शकलाई झण्डै साढे दुई घण्टा बाँधेर राख्न सक्ने, चलचित्रमा कसैको अभिनयमा पनि खोट लगाउने ठाउँ नभएको बताए ।
ख्यालीजुजु मदनकृष्ण श्रेष्ठ र उनका छोरा यमन श्रेष्ठको हास्यव्यंग्य यस चलचित्रमा देखिने छैन तापनि मदनकृष्ण श्रेष्ठ लगायतको कारुणिक अभिनय भने अवश्य देख्न पाइनेछ ।

पूर्व जन्मको फल यस जन्ममा भोग गर्नुपर्नेछ र यस जन्मको फल पुनर्जन्ममा भोग गर्नुपर्नेछ भन्ने एक बौद्ध जातक कथाका आधारमा तयार गरिएको यस चलचित्रमा भिक्षुले पटक पटक मार खेप्नु पर्दा भगवान् बुद्धको मुखारबिन्दबाट मुखरित उक्त जातक कथामा किन निज भिक्षुले सर्वजन हितायको काम गर्दा गर्दै पटक पटक मार खेप्नु परेको हो भन्ने कथाको वर्णन गरिएको छ ।
समाजमा रहेको धनी र गरीब बिचको असमानताका बिच युवायुवतीको प्रेम, तिनीहरुको मिलाप, तिनीहरुबिच भएका द्वन्द्व, युवायुवतीको परिवारमा घटित घटनाहरुलाई सुव्यवस्थित रुपमा यस चलचित्र ‘कर्म’मा प्रस्तुत गरिएको छ ।
