विज्ञान प्रविधि

ई–क्याब नेपाल विधिवत रुपमा शुरु

८ माघ २०६८, काठमाडौं ।

नेपाली यात्रुहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सहज र सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न हिजोबाट ई–क्याब नेपालले विधिवत रुपमा आफ्नो सेवा शुभारम्भ गरेको छ ।

गैर आवाशिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको प्रमुख आतिथ्यतामा सम्पन्न ई–क्याब नेपालको उद्घाटन कार्यक्रममा आफ्नो सम्बोधनको क्रममा विदेशमा कमाएको अनुभव आफ्नै मातृभूमिमा लगानी गरी मातृभूमिको सेवा गर्न लालायित युवाहरुलाई धन्यवाद दिंदै सफलताको शुभकामना व्यक्त गरे । सम्बोधनको क्रममा नेपाल अति नै पवित्र भूमि हो, नेपालमा सहि मनले इमान्दारीका साथ आफ्नो लागि पनि देशको लागि पनि काम गर्ने व्यक्तिहरु सफल भएका छन् भन्नु हुँदै तपाईहरुलाई पनि छिटो भन्दा छिटो सफलता मिलोस् जसबाट अन्य नेपालीहरु पनि नेपालमा आफ्नो व्यवसाय शुरु गर्न लालायित होउन् भने ।

उक्त कार्यक्रममा खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानले अवसरकोे प्रचुर सम्भावना रहेको आफ्नो मातृभूमि, आफ्नो आमाको काखमा लगानी गर्न आएका युवाहरुलाई रातो कार्पेट विछ्याई स्वागत गर्न चाहन्छु भन्दै सफलताको कामना गरे ।

कार्यक्रममा सभापतिको आसनबाट ई–क्याब नेपालका अध्यक्ष दिपक श्रेष्ठले यसमा लगानी गर्न विगत डेढ वर्ष अगाडि जुरेको साइटको कथा सुनाउँदै सहयोगी र सहकर्मीहरुलाई धन्यवाद दिए । विदेशमा कमाएको पैसालाई नेपालमै सुरक्षित लगानी गर्ने वातावरणको अपेक्षा गर्दै हामी कोहीसँग प्रतिस्पर्धा गर्न आएको होइन, हामीले विदेशमा गरेको कामको अनुभव स्वदेशमै उपयोग गर्न अग्रसर मात्र भएको बताए ।

कार्यक्रममा ई–क्याब नेपालका प्रबन्ध निर्देशक सन्तोष मण्डलले ई–क्याब एपको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

नेपालकै पहिलो क्यू–आर कोड सहितको यो एप मार्फत सेवाग्राहीले डिजिटल पेमेन्ट वा नगदै भुक्तानी गरेर सेवाको उपभोग गर्न सक्ने व्यवस्था रहेको छ भने यो एपबाट आफ्नो लागि र आफ्नाका लागि समेत क्याब बुकिङ्ग गर्न सक्ने व्यवस्था रहेको छ । साथै इन्टरनेटको सुविधा नभएको अवस्थामा टोल फ्री नम्बरबाट पनि क्याब बुक गर्न सक्ने नयाँ व्यवस्था यस एपमा रहेको छ । यस एपको प्रयोगबाट प्रयोगकर्ताले जन्मदिन उपहार, शपिङ्ग भौचर लगायतका आकर्षक उपहारहरु प्राप्त गर्नेछन् भने चालकहरुले न्यूनतम कमिशन तिरे पुग्ने, आपूmले कमाएको रकम डिजिटल माध्यमबाट प्राप्त गर्न सक्ने, अन्तर्राष्ट्रिय यात्रुहरु प्राप्त गर्न सक्ने आदि सुविधा पाउने छन् ।

कार्यक्रममा नाताका अध्यक्ष अच्युत शर्मा गुरागाई, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष धु्रवराज अर्याल लगायतले ई–क्याब नेपालको सफलताको कामना गर्दै सबैले साथ र सहयोग गर्न अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *