जात्रा पर्वफाेटाे फिचरसंस्कृति

नृसिंहले हिरण्यकश्यपुको बध गरेपछि यस वर्षको कार्तिक नाच सम्पन्न

२ मंसिर २०७८ ।
शरण डंगोल, ललितपुर ।

ने.सं.७६१ मा तत्कालिन ललितपुरका राजा सिद्धिनरसिंह मल्लका शासनकालमा शुरु भएको विश्वकै निरन्तररुपमा संचालन भै रहेको सबैभन्दा लामो जात्रा मध्ये कात्ती प्याखं (कार्तिक नाच) एक रहेको छ । कार्तिक महिना भरि २७ दिनसम्म प्रदर्शन गरिने नेपालकै एक जीवन्त संस्कृति मध्येको उत्कृष्ट कार्तिक नाच नेपालको आफ्नै मौलिक साँस्कृतिक नृत्य अर्थात् नाच रहेको छ ।

३८० वर्षदेखि निरन्तररुपमा संचालन हुँदै आइरहेको यस कार्तिक नाचमा यस वर्ष २४ औं पटक हिरण्य कश्यपुको भूमिका निर्वाह गरेका किरण चित्रकारज्यूका अनुसार शुरुदेखि नै नेवाः समुदायका सम्पूर्ण जातजातिको सहभागितामा संचालन भैरहेको हुनाले नै यसले यस अवधिसम्म निरन्तर संचालन भैरहेको बताए । विविध कारणले कुनै कुनै जातजातिले यस नाचमा सहभागिता गर्न छोडेको रहेछ ।

सिद्धिनरसिंहले ५ दिन, त्यसपछि श्रीनिवास मल्लले ७ दिन थपेका र योगनरेन्द्र मल्लले १५ दिन थपेर वि.सं. २००७ सालसम्म २७ दिन नै संचालन भएको थियो भने तत्पश्चात् प्राविधिक कारणले २ दिनमा सिमित भएको थियो भने २०३८ सालपछि ८ दिन मात्र संचालनमा आएको थियो भने पछि थप्दै १२ दिनसम्म नाच संचालन हुँदै आएकोमा गत वर्ष कोभिडका कारण २ दिन मात्र नाच प्रदर्शन गरियो भने यस वर्ष ८ दिन नाच प्रदर्शन गरेको छ ।

पहिलो दिन २०७८ साल कार्तिक २४ गते बुधबार सुदामा प्याखं, दोश्रो दिन २५ गते बिहिबार बाथः प्याखँ च्वले खुदाँ दाँ खुदाँ, तेस्रो दिन २६ गते शुक्रबार बाथः प्याखँ कौला खिचा, चौथो दिन २७ गते युध्द कला, पाँचौ दिन २८ गते देवी नृत्य, छैठौं दिन २९ गते जलशयन, सातौं दिन ३० गते वराह अबतार र आठौं दिन मङ्सिर १ नृसिंह अवतार नाच प्रस्तुत गरेको थियो ।

तान्त्रिक पक्षको प्राधनता रहेको यस कार्तिक नाच अन्तर्गत हिजो अन्तिम दिन मंगलबजार स्थित कार्तिक डबलीमा कार्तिक नाच अन्तर्गत प्रस्तुत गरिएको नृसिंह अवतार नाचमा भक्त प्रल्हादको रक्षार्थ अर्थात् धर्मको रक्षाको लागि नृसिंह अवतार अवतरण भै हिरण्यकश्यपुलाई बध गरी सम्पूर्ण जगतको उद्धार गरेको कथानुसार सो नाचमा हिरण्यकश्यपुलाई बध गरेको दृश्य देखाइन्छ । न रात न दिन, न मनुष्य न जनावर, न जल न जमिन, न आकाश न धरती, न घर भित्र न घर बाहिर मार्न नपाईयोस् भन्ने आदि इत्यादि वरदान प्राप्त हिरण्यकश्यपुलाई बध गर्नको लागि नृसिंह अवतार लिएको प्रतित हुन्छ ।

भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *