कुमारी घरको छिंडीबाट शुरु भएको समाजसेवा ४० औं वर्षमा
१६ कार्तिक २०७८, काठमाडौं ।
सिन्हः स्वां खलः, वि.सं. २०३९ सालमा ४ जना साथीहरु मिलेर कुमारी घरको छिंडीको कोठाबाट शुरु गरेको समाजसेवा ४० वर्ष पुगेको छ । पहिलो वर्षको पहिलो समाजसेवा अन्तर्गत जात्रामा सहभागीहरुलाई पानी वितरण गरिएको थियो भने तत्पश्चात यस संस्थाले निरन्तर विविध समाजसेवाका कार्यहरु गर्दै आइरहेको संस्मरण सुनाए संस्थाका संरक्षक मनोज नेवाः खड्गीले ।
यसै अन्तर्गत विगत एक दशकदेखि न्हूदँको उपलक्ष्यमा विविध कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको सिन्हः स्वां खलःले यस वर्ष पनि नेपाल संवतलाई उल्लासपूर्वक मनाउन एवं सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभ–कामना आदान प्रदान गरी भाईचारा अभिवृद्धि गर्न यहि आउँदो ने.सं. ११४२ कछलाथ्व पारु (२०७८ कार्तिक १९ गते) उपत्यकाव्यापि भिंतुना सांस्कृतिक मोटरसाईकल -याली तथा सामुहिक म्हपूजाको आयोजना गरिनेछ ।

संस्थाद्वारा हिजो आयोजित एक पत्रकार सम्मेलनमा यस भिंतुना -यालीले नेपालको राष्ट्रिय संवत नेपाल संवतलाई व्यापकरुपले प्रचार प्रसार गरि प्रचलनमा ल्याउन तथा देशको संस्कृति प्रवर्द्धन गर्न सघाउ पुग्ने अपेक्षा संस्थाले लिएको छ ।
बसन्तपुर दबलीबाट सगुन प्रदान गरि शुरु हुने भिंतुना मोटर साईकल -याली काठमाडौंको तल्लो टोलको परिक्रमा पछि पकनाजोल, मैतिदेवी, थिमी, भक्तपुर, ललितपुर, खोकना, कीर्तिपुरहुँदै पुनः बसन्तपुरमा आई समापन गरिनेछ । -यालीका सहभागीहरुलाई न्हूदँ नेपाल संवत् ११४२ को प्रचार प्रसार सामाग्री सहित नास्ता, खाना तथा टिसर्ट वितरण गरिनेछ ।

-याली समापन पश्चात बसन्तपुर दबलीमा समाजसेवि, ख्याति प्राप्त कलाकारहरु एवं समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु सम्मिलित भै सामुहिक म्हपूजाको आयोजना हुनेछ ।