मनाेरञ्जनमहिला

मिस लिटिल नेवाः ११४१ ट्यालेन्ट शाेमा मिस लिटिल नेवाःहरुको भाषा र संस्कृति मोह

१५ कार्तिक २०७८, काठमाडौं ।

केके मानन्धर ।

भर्खरकी देखिने किशोरीले दर्शकदीर्घामा रहेका व्यक्तित्वलाई फूलको वर्षा गर्दा एक ढंगको रोमान्चित वातावरण सिर्जना भएको थियो । त्यो क्षणको सिर्जना गर्ने अरु नभएर मिस लिटिल नेवाः ११४१ ट्यालेन्ट शोकी प्रतिस्पर्धी नयना शाक्य थिइन् । काठमाडौं कान्तिपथस्थित राष्ट्रिय नाचघरको स्टेजमा कुटुम्ब व्याण्डको संगीतसँगै त्यो वातावरण बनेको थियो ।
लगत्तै १४ नम्बरकी प्रतिस्पर्धी प्रनिधि मानन्धरले अंग्रजी भाषामा शिक्षाको आवश्यकता विषयमा बोलिरहँदा सबका सब दर्शहरु मन्त्रमुग्ध थिए । त्यसमाथि १५ नम्बरकी सिचु मानन्धरको हुलाउ नृत्यमा कलःबाट फूल छर्दै, कम्मरमा रिङ घुमाउँदै थालमाथि चढेर एकैचोटी प्रस्तुती दिइरहँदा नाचघरको दृश्य हेर्न लायकको थियो । अझ बाँसुरीले मालश्री धुन बजाइसकेर प्लेकार्डमा विभिन्न जातजातिहरुको सांस्कृतिक विविधता नै राष्ट्रियता हो भन्ने सन्देश प्रवाह गरिँदा सुनमा सुगन्ध थपिएको महसुस हुन्थ्यो । त्यस्तै, सारिका श्रेष्ठले भाषा, लिपि, कला, संस्कार र संस्कृतिको महत्व विषयमा करिव ३ मिनेटको मन्तव्य राखेकी थिइन् । प्रतियोगितामा सहभागी भएका अन्य किशोरीहरुले पनि आआफ्नै ढंगले क्षमता प्रस्तुत गरेका थिए । त्यसमध्ये नेवार भाषा नजानेकी दाङकी पाँच नम्बरकी प्रतिस्पर्धी सफलताले नेपालभाषाको गीत प्रस्तुत गरेकी थिइन् । कोही मौलिक संस्कृति संरक्षण गर्नुपर्ने विचार राख्दै प्रस्तुत भएका देखिन्थे भने कोही नृत्य, गायन, चित्रकला तथा अभियन देखाउँदै थिए ।


भाषा, संस्कृति, संस्कार र ज्ञानलाई पुस्तान्तरण गर्ने उद्देश्यले नेपलिज फेसन होमले विगत १७ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दैआएको अध्यक्ष हेमा मानन्धरले बताइन् । नयाँ पुस्ताका किशोरीहरुलाई उभ्याउँदै उनीहरुभित्र सीमित रहेको क्षमता अभिवृद्धि गरी प्रस्फुटन गर्ने डबली बनाउँनकै लागि आफु नेपालमा बसेको उहाँको दाबी थियो । परिवारका अधिकांस सदस्यहरु विदेशिए पनि आफु भने समुदायको पहिचान जोगाउने अभियानमा लागेको बताइन् ।


प्रतियोगितामा मिस नेवाःकी फस्ट रनरअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पल्पसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी छ । त्यस्तै मिस नेवाः सुनिता डंगोल र नितु डंगोलले नेपाल भाषाको प्रशिक्षण दिइरहेका छन् ।
आयोजक समितिले आउँदो कात्तिक २७ गते शनिबार नाचघरमा मिस लिटिल नेवाः ११४१ को मुख्य प्रतियोगिता गर्दैछ । यसअघि प्रतिस्पर्धी किशोरीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराएको थियो ।


मिस लिटिल नेवाः ११४१ मा  नयना शाक्य, आर्या श्रेष्ठ, तिसा तण्डुकार, क्रिष्टिना महर्जन, सफलता श्रेष्ठ, सनिष्मा महर्जन, वितिशा कंसाकार, सिम्रिक श्रेष्ठ, एन्जिला महर्जन, इभानजलिना महर्जन, रिकिस्ना डंगोलु, सलिष्का महर्जन, प्रकृति महर्जन, प्रनिधि मानन्धर, सिचु मानन्धर, सफलता श्रेष्ठ, सान्भी श्रेष्ठ, सारिका श्रेष्ठ, आर्या खपे श्रेष्ठ, केभिया श्रेष्ठ, दिमी श्रेष्ठ र युनिका बादेकाे सहभागिता रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *