मनाेरञ्जन

सीलु तीर्थमा आधारित नेपालभाषाको चलचित्र ‘तुयू’को शुभ मुहूर्त सम्पन्न

२४ असोज २०७८ ।

चःमति सँकिपाः प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म ‘तुयू’ निर्माण हुने भएको छ । मार्खुको डी लेकसाइद सिम्लाङ होटलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फिल्मको शुभ मुहूर्त गर्नुभएको छ ।

सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने जनविश्वास छ । तर महिलाहरु तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता थियो । त्यसैले पुरुष पात्रले जोशीलाई जोखना देखाउँछ । जोशीले पनि श्रीमतीलाई नलैजाउ नत्र विछोड हुन्छ भन्छ । श्रीमती भने प्रेम र अन्धविश्वासमा प्रेमलाई रोज्ने पक्षमा हुन्छिन् । महिला पात्रले त्यसबेलाको समाजको लैंङ्गिक व्यवस्थाविरुद्ध ‘प्रतिरोध’ गर्छिन् । ‘सिलु म्ये’ त्यही प्रतिरोधको गीतिकथा हो ।

सिलु तिर्थ गएर फर्किएका महिला पात्रलाई व्यभिचारी राजाले सिपाहीहरु पठाएर अपहरण गरी दरबार लैजान्छ । त्यस क्रममा राजाले पठाएको तारी स्वाँ (फूल) महिलालाई दिइन्छ । विछोडको संघारमा रहेको बेला श्रीमान् निरिह हुन्छ । महिलाले भने श्रीमानलाई नरुन र राजाले दिएको तारी स्वाँ श्रीमानलाई नै सिउरिदिने भन्दै राजासँग दरबारमा प्रतिरोध गरेर फेरि भेट्ने इच्छा प्रकट गर्छिन् । दरबार पुगेपछि राजाले ती महिलालाई राजसी सेवा सुविधा दिने बताउँछन् । तर महिला भने राजाको सबै सुविधा अस्वीकार गर्दै आफ्नै श्रीमानसँग कसरी भेट्ने भन्ने युक्ति खोज्दै हुन्छिन् । त्यस क्रममा महिलाले चतुर्माससम्म आफ्नो व्रत रहेको भन्दै राजाबाट बच्न सफल हुन्छिन् । र व्रत तोड्ने दिन जोगीहरुलाई दरबारमा बोलाउन भन्छिन् । त्यही बेला ती महिलाका श्रीमान् पनि जोगी बनेर दरबार पुग्छन् र दुवै जना भाग्न सफल हुन्छन् ।

यहि कथाको सेरोफेरोमा घुमेको छ मल्लकालमा लेखिएको ‘सिलु म्ये’ । नेपाल भाषामा गोसाइकुण्डलाई सिलु भनिन्छ । म्ये भनेको गीत । नेवार समुदायमा प्रचलित ‘सिलु म्ये’ मै आधारित रहेर फिल्म ‘तुयू’ निर्माण हुने भएको छ ।

उक्त फिल्मको शुभ मुहुर्तको लागि चःमतिदेखि चित्लाङसम्म ‘तुयू’ फिल्मसँग सम्बन्धित कलाकर्मिहरू पुगेका थिए । निर्माणपक्षबाट शुभ मुहुर्तपश्चात ऐतिहासिक नगर चित्लाङको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नगर भ्रमण गराउनु भएको थियो ।

इतिहासका अध्ययेताहरूका अनुसार परापुर्वकालदेखि गाउन सुरू गरिएको ‘सिलु म्ये’ जयप्रकाश मल्लको शासन कालमा लिपिबद्ध भएको हो ।

‘सिलु म्ये’ पुरुष पात्र र महिला पात्रबिचको संवाद हो । नेवार समुदायमा अहिलेसम्म प्रचलित यो बांख म्ये (गीतिकथा) ले तत्कालिन समाजको परिवेशको चित्रण गर्ने प्रयास गरिएको छ । यही परिवेशलाई पूर्णकाजी ज्यापूले फिल्म मार्फत प्रस्तुत गर्न लागेका हुन् ।

फिल्ममा गीत, कथा र संवाद पूर्णकाजी ज्यापूको रहेको छ । सोहन मानन्धरको छायाङ्कन रहने फिल्मको पटकथा र सम्पादन पनि सोहनको हुनेछ । जुलग डंगोलको संगीत रहेको फिल्मको निर्देशन पूर्णकाजी ज्यापू र अनुज डंगोलको हुनेछ ।

छिट्टै फिल्मको छायाङ्कन सुरु हुने निर्माण पक्षले बताउनुभएको छ । फिल्ममा रेशमी महर्जन, योगेन महर्जन र राजेन्द्र महर्जनको मुख्य अभिनय रहनेछ । फिल्म चितलाङको गाउँ परिवेशमा आधारित रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *