श्री पचली भैरव जात्राको तयारी शुरु
१३ असोज २०७८ ।
शरण डंगोल, काठमाडौं ।
काठमाडौं येँयाःले उत्सवमय भइरहेको समयमा काठमाडौं कोहने (तल्लो) टोलमा अवस्थित श्री पचली भैरवका गुथियारहरुलाई श्री पचली भैरवको जात्राले छोइसकेको हुन्छ ।
पूर्णिमादेखि नै श्री पचली भैरवको प्रिय परिकार सनाःघासा (कर्कलोको एक परिकार) तयारीको लागि कर्कलोको जोहो गर्न उपत्यकाका विभिन्न स्थान भक्तपुर, नाला, बनेपा, पनौतीसम्म पनि पुग्ने गर्दछन् । झण्डै दशवटा टेप (घ्याम्पो भन्दा धेरै ठूलो) लाई पुग्ने गरी कर्कलो जम्मा गर्नु पर्दछ ।

चौथीको दिन श्री पचली भैरवको विशेष पूजा आजा पश्चात ल्याइएका कर्कलो सरसफाई गरी काँटछाँछ गरी टुक्रा टुक्रा पारिन्छ । टुक्राहरुलाई बोरामा राखेर बेस्कन चुट्छन् । त्यसपछि मसलाहरु मिलाई टेपमा राखिन्छ र कर्कलोकै पातले छोपी बाँधिन्छ । नौ दिन पश्चात सनाःघासा तयार हुन्छ ।
यसरी तयार भएको सनाःघासा सर्वप्रथम द्यःगु खलः (गुथि परिवार भित्र), त्यसपछि उजं खलः (जात्रामा बाजा बजाउने), थकु जुजु, श्री कुमारी, श्री रुद्र विनायक लगायत सर्वसाधारण भक्तजनकोमा जात्रा आउँदैछ है भन्ने सन्देश सहित श्री पचली भैरवको प्रसाद वितरण गर्न लगिन्छ । यसरी प्रसाद वितरण गर्न जाँदा पहिले घरमा जे छ, धान, मकै, गहुँ आदि श्री पचली भैरवमा समर्पण गर्ने चलन थियो भने हिजो आज पैसा नै चढाउने गरिन थालेको बताउँछन् श्री पचली भैरव गुथिका थकाली द्यसिं महर्जन ।

श्री पचली भैरवको मुख्य जात्रा घटस्थापनादेखि शुरु भै पञ्चमीको दिन समाप्छ हुन्छ । घटस्थापनाको दिन गुथियार पालाको घरबाट जात्रा गर्दै कोहिती स्थित चित्रकारको घरमा पु¥याईन्छ । त्यहाँ चित्रकारबाट लँपू छायेगु गरिसकेपश्चात चौथीको दिन जात्रा गर्दै भिमसेनस्थान स्थित तल्लो टोलका थकु जुजुकोमा लगिन्छ । त्यहाँ थकुजुजुबाट विशेष पूजा पश्चात् श्री पचली भैरवलाई टेकू स्थित शक्ति पिथमा विराजमान गराइन्छ । त्यहाँ विशेष पूजा पश्चात पञ्चमीको दिन जात्रा गर्दै हनुमानढोकामा श्री कुमारीसँग भेटघाट गराएपश्चात ब्रम्हटोलस्थित श्वेतभैरवको परिक्रमा गरिसकेपछि पुनः नयाँ गुथियारको घरमा भित्र्याएपछि यस वर्षको जात्रा समाप्त हुन्छ ।
एक किम्बदन्ती अनुसार श्री पचली भैरवको प्रसाद बागमती बगाइन्छ र सो प्रसाद खोकनामा पुगेपछि त्यहाँ पनि श्री रुद्रायणीको जात्रा शुरु शुन्छ रे ?