बुद्धकालीन ऐतिहासिक नेपाली चलचित्र ’अंगुलीमाल’ बन्ने

२० साउन, २०७८ ।
केके मानन्धर, भक्तपुर ।

युवा निर्देशक अभय डंगोलको निर्देशन रहने ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने भएको छ । तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गको लागि प्रेरित गरेको कथाबस्तुमा आधारित रही उक्त चलचित्र निर्माण गर्न लागेको हो । फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त व्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन् ।

गत हप्ता मध्यपुर थिमिमा एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा गर्दै निर्माता र अंगुलीमाल कथाबस्तुका लेखकबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

‘चलचित्रलाई आउँदो दसैं र तिहारको बीचमा शुभ–मुहूर्त गर्नेछौं ।’ कार्यक्रमको दौरान निर्माता सुरेन्द्र श्रेष्ठले जनाए । ऐतिहासिक कथाबस्तुलाई युवादेखि बृद्धावस्थाका दर्शकको रुचि बमोजिम निर्माण गर्ने योजना समेत श्रेष्ठले सुनाए । सोही अनुरूप एनिमेसन, भिएफएक्स तथा प्राविधिक रूपमा अब्बल बनाउनेदेखि कलाकारहरूको अडिसन लिने सम्मको तयारी भइरहेको छ ।

‘बुद्धको जन्म नेपालमा भएको थियो । तर यो विषयमा अन्तर्राष्ट्रिय स्तरमा गलत प्रचार भइरहेको छ । नेपाली भाषामै निर्माण हुने सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित अंगुलीमाल चलचित्रले यो भ्रमलाई चिर्नेछ । देशविदेशमा सो फिल्म प्रदर्शनी हुँदा यसले सकारात्मक सन्देश दिनेछ ।’ निर्देशक डंगोलको दाबी थियो ।

हुनपनि छिमेकी देश भारतले सिद्धार्थ गौतम बुद्धको जन्मस्थानको विषयमा भ्रमपूर्ण प्रचार गरेकोलाई अंगुलीमाल चलचित्रले चिर्ने विश्वास गर्न सकिन्छ । सिद्धार्थ गौतमले तत्कालीन भारतवर्ष अन्तर्गत बोधगयामा बुद्धत्व प्राप्त गरेपनि बुद्धको जन्मथलो आधुनिक नेपालको लुम्बिनी हो । संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले समेत बुद्धको जन्मस्थान बारे निर्विवाद नेपाल नै भएको जनाएको छ । निर्देशक डंगोलले एनिमेसन गरेर बनाउनुपर्ने भएकोले फिल्मको प्रि–प्रोडक्सन, प्रोडक्सन तथा पोस्ट प्रोडक्सन गर्न करिव दुई वर्ष लाग्ने बताए ।

कार्यक्रममा शिक्षासेवी तथा चलचित्रको लागि कथाबस्तु तयार गरेका रामेश्वर भुजूले अंगुलीमाललाई चलचित्रको पर्दामा उतार्न स्वीकृति दिएको जताए । ‘हिन्दी लगायत धेरै भाषामा उनीहरूकै शैलीमा चलचित्र बनेका छन् । तर नेपालमा जन्मिएका बुद्धको कथाबस्तुलाई नेपाली शैलीमा बनाउन सकिरहेको थिएन । अब बन्ने अंगुलीमालले त्यो अभावलाई पूर्ति गर्न लागेको छ । यो सुखद संयोग हो ।’ भुजूको भनाइ थियो ।

कार्यक्रममा नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थ, चलचित्र निर्माण कम्पनीका कानुनी सल्लाहकार मुकुन्द कृष्ण श्रेष्ठ, अंगुलीमालका प्रकाशक ईन्द्रकृष्ण श्रेष्ठ लगायतका वक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल साहित्य मन्दिर भक्तपुरका अध्यक्ष लितक प्रकाश कायस्थ, भक्तपुर लेडी जेजिसकी गुजेश्वरी प्रजापति, कुतः प्रकाशनका विमल ताम्राकार र विष्णु केशरी ताम्राकार, विराट नेपालभाषा गुथिका श्याम आशा र तीर्थभक्त थकु, भक्तपुर एफएमका अध्यक्ष लक्ष्मण पलिखेल र धनेशराज राजोपाध्याय, मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुबाजी साःछेँ श्रेष्ठ र सागर गुरागाइँ, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका उपाध्यक्ष सुरेश ख्वाकः श्रेष्ठ, देवेन्द्र प्रजापति र राजाराम नापित लगायत कलाकारहरु हृदयप्रसाद मिश्र, श्यामसुन्दर शिल्पकार, अर्णेश्वरी शिल्पकार, सुरज व्यञ्जनकार, राजेन्द्र महर्जन, सुरेन्द्र महर्जन, प्रकाश बज्राचार्य, सुधन श्रेष्ठ तथा साहित्यकारहरु तेजकृष्ण श्रेष्ठ र बसन्त नकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *