संस्कृति

एकै दिन एकै समयमा तीनै शहरमा रुद्रि पाठ

१३ श्रावण २०७८, काठमाडौं ।
गत श्रावण १२ गते काठमाडौं उपत्यकाको तीनवटै शहरको दरवार क्षेत्रमा एकै दिन एकै समयमा पञ्चाभिषेक रुद्रि पाठ कार्यक्रम सम्पन्न भयो । आज (मंगलबार) राजोपाध्याय समाजले काठमाडौं उपत्यकाको तीनवटै शहरको दरवार क्षेत्रको शिवालयमा रुद्रि पाठको आयोजना गरेको हो । समाजले कोरोना महामारीबाट मुक्ति साथै देश र जनताको सुस्वास्थ्यको कामना गर्दै पञ्चाभिषेक रुद्रि कार्यक्रमको आयोजना गरेको हो ।

 

‘वैज्ञानिकहरुले खोप बनाउँदैछन्, चिकित्सक, स्वास्थ्यकर्मीहरुले उपचार गर्दैछन्, व्यापारीहरुले उपचार, खोपको लागि आर्थिक सहयोग गर्दैछन्’, समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले भने, ‘हामी ब्राम्हण समुदाय, वेद पाठ गर्छौैं, वेद पाठ गरेर महामारीबाट मुक्तिको कामना गर्यौैं ।’ कोरोना महामारीको अवस्था र लकडाउन पनि जारी रहेको अवस्थामा निकै साधारण ढङ्गले भीडभाड नगरी रुद्रि कार्यक्रमको आयोजना गरेको पनि अध्यक्ष राजोपाध्यायले जानकारी गराउनुभयो ।

पञ्चाभिषेक रुद्रि कार्यक्रममा प्रत्येक जिल्लामा पाँच÷पाँच जना राजोपाध्याय देव ब्राम्हणहरुले वेद पाठ गरेका थिए । सो क्रममा भक्तपुरमा बालमधर शर्मा राजोपाध्याय, राजन राजोपाध्याय, अन्जन राजोपाध्याय, सरोजन राजोपाध्याय र प्रमोद राजोपाध्यायले वेद पाठ गरेका थिए । ‘देवताका पनि देवता हुन् महादेव, यिनै महादेवले हाम्रो रक्षा गरोस् भन्ने कामनासहित हामीले रुद्रि पाठ गर्यौं, यो पवित्र कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको छ’ बालमधर शर्माको भनाई थियो । त्यसैगरी ललितपुरमा अमरराज राजोपाध्याय, गजानन्द राजोपाध्याय, महेशबाबु शर्मा राजोपाध्याय, विष्णुचन्दन राजोपाध्याय र रविन्द्र धर शर्माले रुद्रि पाठ गर्नुभयो । ‘सबैले आआफ्नो क्षेत्रबाट आआफ्नो तर्फबाट सक्दो पहल गरौं, महामारी नियन्त्रणमा, समाजको सुस्वास्थ्यको लागि सक्दो सहयोग गरौं, हामी ब्राम्हणहरुले वेद पाठ गरेर देशको समाजको कल्याणको कामना गरेका छौं’ गजानन्द राजोपाध्यायले भने । काठमाडौंमा कविन्द्र शेखर रिमाल, किशोर शर्मा राजोपाध्याय, राजीव राजोपाध्याय, श्रिमणी राजोपाध्याय र आभाष राजोपाध्यायले वेद पाठ गरेका थिए । ‘अहिलेको विषम परिस्थितीमा सक्दो गर्ने हो, समाजले धार्मिक मार्गबाट महामारीसँग मुक्तिको भावना राखेर बढाएको कदममा साथ दिन पाउँदा खुसी लागेको छ’ कविन्द्र शेखर रिमालले भने ।

महादेवलाई विभिन्न वस्तुले अभिषेक गराउँदा विभिन्न फल प्राप्त हुने विश्वास रहेको छ । कुश राखेर जलले महादेवको अभिषेक गराउँदा रोग नाश हुने धार्मिक विश्वास छ । त्यस्तै शख्खरबाट गरिने रुद्रिले मानसिक रोगको समस्या निराकरण हुने, घ्यूको रुद्रिले हरेक प्रकारको रोगबाट मुक्ति पाइने विश्वास समाजमा रहिआएको छ । यस पञ्चाभिषेक रुद्रि कार्यक्रमलाई प्रत्येक महिनाको एक पटक गरी एक वर्षसम्म सञ्चालन गर्ने समाजले जनाएको छ । प्रत्येक महिना शिवबास हेरी शुभ दिनमा रुद्रि कार्यक्रम गर्ने समाजका अध्यक्ष संजय शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *