चुप चाप बुद्धहरु

उत्तम मानन्धर, कालिमाटी

साहित्यकार

 

चुप चाप बुद्धहरु

एका बिहानै
मेरो सपनामा
भगवान बुद्ध स्वयं आउनु भो
भन्नु भो
हे अज्ञानी मूर्ख बालक
हेर ,
दुश्मन बलिया भए
तिम्रो अस्तित्व समाप्त गर्न लाग्यो
उठ ! जाग ! लड !
हतियार बोक !
गएर शत्रु माथि जाई लाग !
लाचार भएर नबस् !
यति भन्दै
वहाँ छानोको भ्वाङबाट विलीन हुनु भो ।

भगवान बुद्ध यति सार्हो किन रिसाउनु भो ?
मरुला मारुला जस्तो किन उफ्रनु भो ?
म अलमलमा परे
म लाटो सोझो बौद्ध अनुयायी
हस् भगवानको जो आदेश भन्दै
हतार हतार सगरमाथा चढी हेरे
देखें,
हिमाल पहाड तराई तिरका
गाउँ गाउँमा
ठ्रल–ठूला सिङ भएका
दाह्रा भएका
दानव झैं देखिने
भुस्तिघ्रेहरु
मेरो
सिमाना मिच्दै गरेका
हिमालको चिसो
पहाडको न्यानो
तराईको तातो
लुट्दै गरेका लुटेराहरु

मैले देखें हाम्रा
बाल बालिकाको चिच्याहट
थरथराई रहेको बस्ती
युवाहरुको यत्र तत्र रगताम्य लास
अनि, इष्ट देवता गुहार्दै बसेका महिला वृद्धवृद्धाहरु

तर मैले कहीं देखिन
सधैं जसो बिहान
मठ मन्दिरमा घण्टा बजेको
हरेक साँझ ईश्वर अल्लाह बुद्धको श्लाेक गाएको
हरेक साँझ बिहान घरको धुरीबाट धुवाँ उडेको
घर आँगनमा बाल बालिका रमाएको

ओह ,
यो के भयो ?
संसार भरका चराचुरुङ्गी डुल्ने यो ठाउँमा
संसार भरका जंगली जनावर चर्ने ठाउँमा
कला संस्कृति प्रकृति जन्मने ठाउँमा
यो के अत्याचार भो ?
हाे ! अनर्थ भो भन्दै म आत्तिए

मेरो अन्तर आत्मा लाई
बुद्ध को त्यो चेतावनी ले
जुरूक्कै उचाल्याे

एकै सासमा म
एकनाले धुलाम्मे बन्दुक र
खिया लागेको भुत्ते खुकुरी लिई
जय काली भन्दै
गर्जनका साथ
जाई लागे

ध्वाङ आवाजले
म सपनाबाट विउँझिय
मैले पाएँ आफूलाई
पसिना पसिना भै कापियको
कमजोर भै भुईमा लडेको
मैले हेरें चारै तिर
देखें
कोठाको एक कुनामा
चुपचाप
अटी नअटी ध्यानी मुद्रामा बसेका बुद्धहरु
सकी नसकी भितामा झुण्डिएर बसेका बुद्धहरु ।।।

२५ बैशाख २०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *