महिला

महिला पत्रकार कल्पना महर्जनलाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण

ललितपुर, ५ चैत्र २०७७ ।

नेपालका पूर्व राष्ट्रपति सम्माननिय डा. रामवरण यादवज्यूको प्रमुख आतिथ्यतामा विश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडाबाट सफल आरोहण गर्ने महिला पत्रकार कल्पना महर्जनलाई वल्र्ड बुक अफ रेकर्डस् युकेको विश्व कीर्तिमान रिकर्डको प्रमाण–पत्र हस्तान्तरण गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर श्री चिरिबाबु महर्जनको सभापतित्वमा ललितपुर महानगरपालिकाद्वारा हिजो आयोजित विशेष समारोहका विच सो प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. यादवले महिलाहरु पुरुष भन्दा कम नभएको थुप्रै उदाहरणहरु प्रस्तुत गर्दै कीर्तिमानधारी महर्जनलाई बधाई ज्ञापन गर्नुभयो । साथै आफ्ना आधाशताब्दी अगाडिको काठमाडौं बसाईंको स्मरण गर्दै पर्यावरण बचाउन चनाखो रहन सम्पूर्ण जनतालाई अपिल गर्नुभयो ।

सभापति मेयर श्री चिरिबाबु महर्जनले महानगर सांस्कृतिक, धार्मिक, शिक्षा, पर्यावरण लगायत नगरको विकास निर्माणमा क्रियाकलापमा अग्रसर रहेको बताउँदै यही सिलसिलामा महानगरकी चेली महर्जनलाई साथ दिन पाएकोमा खुशी भएको बताए ।

कार्यक्रममा कीर्तिमानधारी महर्जनले हिमाल आरोहणका क्रममा भएका घटनाहरुको अनुभव सुनाउँदै नेपालको नाम विश्व इतिहासमा स्वर्ण अक्षरमा लेखाउन प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिए ।

उपमेयर गिता सत्यालले स्वागत गरेको सो कार्यक्रममा वल्र्ड बुक अफ रेकर्डस् नेपाल शाखाका सागर कटवालले पनि बधाई मन्तव्य राखेका थिए ।

कीर्तिमानधारी महिला पत्रकार कल्पना महर्जनले २०७५ जेठ ९ गते नेपाल र २०७६ जेठ ९ गते चीनको तिब्बततर्फबाट सगरमाथाको सफल आरोहण गर्दै विश्वकै पहिलो महिला पत्रकारको किर्तिमान राख्न सफल हुनुभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *