हनुमान ढोकामा ऐतिहासिक तथा पुरातात्विक महत्वका गरगहना सम्बन्धी संग्रहालय खुल्ला

काठमाडौं, ४ चैत्र २०७७

हनुमानढोका दरबार क्षेत्र कला वास्तुकलाको लागि महत्वपूर्ण स्थल हो । मल्लकाल तथा शाहकालमा आवाद रहेको यस क्षेत्रमा उक्त समयका प्रशस्त कला रहेका छन् । दरबार (लायकू) र मन्दिर (देगः) हरुको वास्तुकलाको समिश्रण रहेको यो स्थल कुनै एक कालखण्डको मात्र नभई परापूर्वकालदेखिको निरन्तरता हो । सन् १९७९ मा यूनेस्कोले विश्व सम्पदा संरक्षित क्षेत्रमा सूचिकृत गरेपछि विश्व सामु यस क्षेत्रको ख्याति अझै बढेको छ ।

२०७२ को भुकम्पमा क्षतविक्षत भएको हनुमानढोका दरबार क्षेत्र हालको अवस्थासम्म आईपुग्दा धेरै नै पुनःनिर्माणका कार्यहरु सम्पन्न हुदै आएका छन् । यद्यपी पूर्णरुपमा संग्रहालय सञ्चालन हुन नसकेको वर्तमान परिपे्रक्षमा केहि थोरै भए पनि दर्शकहरुलाई अवलोकनको अवसर मिलोस् भन्ने उद्देश्यका साथ यो प्रदर्शनी खुल्ला गरिएको छ ।

साे गरगहना संग्रहालय चैत्र १ गतेदेखि खुल्ला गरिनुका साथै दुईवटा पुस्तकहरु डा.महेश राज पन्तको हनुमानढोका दरवार मनमोहनचोकको दलानको शिलापट्ट र त्यहाँका शिलामुर्ति तथा डा. जुनु बासुकला रन्जितको हनुमानढोका दरवारका भित्तिचित्र पनि विमोचन गरिएको थियो । जुन पुस्तकले यहाँका कला बास्तुकलाका बारेमा प्रसस्त जानकारी दिनेछ ।

हनुमानढोका दरबार संग्रहालयबाट प्रेषित प्रेस विज्ञप्तीका अनुसार ढुकुटी भवनमा हाल प्रदर्शनीमा राखिएका सामग्रीहरु दुई भिन्न प्रकारबाट उक्त कार्यालयलाई प्राप्त भएको रहेछ ।

मिति २०६८ साल आषाढ १३ गते हनुमानढोका दरबार स्थित न्हुच्छें चोक र फरास खाना बीचको भवन जीर्णोद्धार गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामग्रीहरु फलामको सेफमा पुरिएको अवस्थामा प्राप्त भएका थिए । यि सामग्रीहरु मध्ये केही सामग्रीहरुको छनौट गरि यहाँ प्रदर्शनीमा राखिएका छन् । जसमा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यमा प्रयोग गरिने देवदेवीका मूर्तिहरु, सुन, चाँदी तथा तामाका गरगहनाहरु, सुन चाँदीका सिक्काहरु, अत्यन्त दुर्लभ ईष्ट इण्डिया कम्पनीले जारी गरेका सुनका सिक्का, तात्कालिन समयको नापतौलका सामग्रीहरु, राज्याभिषेक समारोहमा हात्तीको शिरमा सजाईने चाँदीको चन्द्र कलश, भगवान श्रीकृष्णलाई चढाउने सुन तथा चाँदीका बहुमुल्य मुकुटहरु आदि रहेका छन् ।

शाह राजा लगायत राजपरिवारको बसाई नारायणहिटी दरबारमा सरेपछि पनि राज शासन अवधि भर यस क्षेत्रको स्वामित्व राजसंस्थामा नै निहित रहेको थियो । राजसंस्थाको समाप्ति पश्चात् दरबारसँग सम्बन्धित केही सामग्रीहरु गृह मन्त्रालयबाट यस हनुमानढोका दरबार हेरचाह अड्डालाई बुझाईएका थिए । त्यस मध्येबाट पनि केही सामग्रीहरु छनौट गरि यहाँ प्रदर्शनीमा राखिएका छन् । जसमा मंगल कार्यमा प्रयोग गरिने चाँदीको ठेकी, पेरुङ्गो सहितको भार, पेटारो, चाँदीका भाँडा वर्तनहरु, देवतालाई सजाईने विभिन्न प्रकारका सुन चाँदीका मालाहरु रहेका छन् । २०७२ को भुकम्प भन्दा अघी नै गरगहना सम्बन्धी यो प्रदर्शनीको तयारी गरिएता पनि भुकम्पको कारण हुन नसकेकोले हाल त्यसै समयमा निर्माण गरिएका शोकेशहरुबाट यो प्रदर्शनी गरिएको छ ।

लामो समयदेखि भण्डार गृहमा थन्किएर रहेका यस्ता सामग्रीहरु प्रदर्शनीमा राख्नुको मुख्य उद्देश्य तात्कालिन समयको कला, धर्म तथा संस्कृतिबारे आम सर्वसाधारण, अन्वेषक, विद्यार्थीहरुलाई जानकारी दिनु हो । तत्कालिन समयमा प्रयोग भएको तर हाल लोप भैसकेका कतिपय प्रविधिहरु पुनर्जागृत हुन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छ हनुमानढोका दरबार संग्रहालयले ।

 

 

प्रेस विज्ञप्तीमा अगाडि भनिएको छ उक्त कार्यालयको स्थापनाको मुख्य उदेश्य मूर्त साँस्कृतिक सम्पदाको संरक्षण, सम्बद्र्धन रहेता पनि कुनै पनि मूर्त संपदाको जीवन अमूर्त संपदासँग गासिएर रहेको हुन्छ भन्ने सिद्घान्तका साथ अमूर्त संम्पदाको संरक्षणमा समेत उत्तिकै दृढ भएर लागेको र धार्मिक, पुरातात्विक साथै कलावास्तुकलाको दृष्टिकोणले अति नै महत्वपूर्ण यो स्थलको विशिष्ट गरिमालाई आत्मसाथ गर्दै आगामी दिनमा अध्ययन अनुसन्धानका कार्यलाई समेत अगाडि बढाउदैं समग्र हनुमानढोका सम्पदा स्थलको संरक्षण कार्यमा कृयाशील रहने प्रतिवद्धता जाहेर गरेका छन् ।

विगत लामो समयदेखी हनुमानढोका दरवार परिसरमा विभिन्न मन्दिर, देवी देवताहरुलाई नियमित गर्दै पूजा गर्दै आउनु भएका गुरुज्युहरुलाई केही सहयोग पुगोस् भन्ने उदेश्यले गत पौष महिनाबाट मासिक रु.२५००÷– दिने निर्णय भएको छ र यहाँ हुने बिभिन्न जात्रा पर्वहरुको संरक्षणमा समेत हनुमानढोका दरबार सदैव कृयाशिल रहने बताएको छ ।

साथै उक्त कार्यालयबाट भईरहेका पुनःनिर्माणका कार्यहरु द्रुतगतीमा अघी बढीरहेको छ भने कोभिड्का कारण रोकिएको चीन सरकारबाट भई रहेको पुनः निर्माण कार्य छिट्टै सुरु हुने पनि जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *