खड्गी परिवारबाट न्हयमु न्हयत्वाःका नव प्रशिक्षित वाद्यवादकहरु सम्मानित
९ कार्तिक २०८२, शरण डंगोल, काठमाडौं ।
काठमाडौंका ज्यापु समुदायको परम्परागत ३२ टोलहरुले हरेक १२ वर्षमा तिनीहरुको आराध्यदेवको शक्तिपिथमा तिनीहरुका नयाँ सन्ततीहरुलाई ३ वर्षसम्म १ रात राखीने चलन रहेको छ । जसलाई वःला छ्वयेगु भनिन्छ । यसरी ३ वर्षसम्म वःला छ्वयेगु कार्यक्रम सम्पन्न भएको केही वर्षमा यिनीहरुलाई परम्परागत मू धिमे र पोंगा लगायत अन्य बाजाहरु प्रशिक्षण दिइन्छ । यस प्रशिक्षण पश्चात् तिनीहरुबिच उत्कृष्ट छानेर उनीहरुलाई नयाँ गुरुको संज्ञा दिइन्छ र यिनीहरुबाट पहिलो पटक त्वाःखलःको नासःद्यःमा भव्य पूजाआजा सहित पहिलो पटक खुल्लारुपमा बाजागाजाको प्रदर्शन गरिन्छ जसलाई स्थानीय भाषामा बाजं पिदनेगु भनिन्छ । तत्पश्चात टोलमा, सम्बन्धित शक्तिपिथमा लगायत अन्य स्थानमा तिनै नव प्रशिक्षित बाद्यवादक सदस्यहरुबाट बाद्यवादन प्रस्तुत गर्न जाने गरिन्छ जसलाई बसँ वनेगु भनिन्छ ।

यसै अन्तर्गत हिजो यसैवर्ष मूधिमे र प्वंगाबाजा सिकाइसकेपश्चात् टेकूको नासःद्यः, श्री पचली भैरव लगायत विभिन्न स्थानमा बसँ वनेगुको क्रममा तल्लो टोलका खड्गी परिवारका रामेश्वर शाहीको निमन्त्रणामा काठमाडौंको तल्लो भेगको न्हयमु न्हयत्वाःका नव प्रशिक्षित वाद्यवादकहरुलाई सम्मान गरेको छ ।
निज शाहीसँग किन यो कार्यक्रम गरेको भन्ने जिज्ञासामा बाजे स्व. बाजुकाजी शाहीले विगतमा गरेको क्रियाकलापलाई निरन्तरतासम्म दिएको बताए । एउटै टोलमासँगै दिनचर्या बिताउने भएकोले तिनीहरुले गरेको साधनालाई सम्मान दिएको हुनु पर्छ ।
स्थानिय न्हुच्छेलाल शाहीका अनुसार विगत ४८ वर्षदेखि निरन्तररुपमा हरेक १२ वर्षमा यसरी न्हयमु न्हयत्वाः खलःलाई सम्मान गर्दै आएको स्मरण गराउनु भयो ।

स्थानिय राम शाहीले सम्पूर्ण नव प्रशिक्षित वाद्यवादकहरुलाई सगुन दिई सम्मान गरिएको र मूधिमेमा उत्कृष्ट तीन जवानलाई राँगाको टाउको र प्वंगाःका उत्कृष्ट दुई जवानलाई राँगाको खुट्टा प्रदान गरिने गर्दै आएको बताउँदै यस्तो सम्मान कार्यक्रममा काठमाडौं कतै नभएको पनि बताए ।

उक्त सम्मान कार्यक्रममा न्हयमु न्हयत्वाः खलःका गुरु नायःहरुलाई पनि सम्मान गरिएको थियो ।