राजकीय श्री कुमारीमा अब इटुम्बहाःकी आर्यतारा
१५ आश्विन २०८२, काठमाडौँ ।
हिजो काठमाडौँमा नयाँ राजकीय कुमारी स्थापना गरिएको छ । इटुम्बहाःकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई मङ्गलवारका दिन शुभ साइतमा कुमारी घरमा विधिवत् रूपमा श्री कुमारीको आसन ग्रहण गराइयो । हिजै २०७४ सालमा श्री कुमारीको आसनमा विराजमान भएकी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गराइएको थियो ।

उहाँलाई बाजागाजा सहित ढल्को स्थित तिनको निवासबाट सिन्दूर यात्रा गर्दै हनुमान ढोकामा लगी त्यहाँ तान्त्रिक पूजा पश्चात् बसन्तपुरस्थित कुमारी घरमा भित्र्याइएको थियो ।

यसअघि गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र शाक्य महाविहार संघबाट विधिपूर्वक सरसल्लाहपश्चात् उहाँलाई नयाँ कुमारीमा छनौट गरिएको थियो ।

राजकीय श्री कुमारीको आसनमा विराजमान हुनुभएकी आर्यतारा शाक्य अमृतरत्न शाक्य तथा शिलु शाक्यका नातिनी हुनुहुन्छ भने अनन्त शाक्य र प्रतिष्ठा शाक्यकी छोरी हुनुहुन्छ ।

उहाँ काठमाडौँका १६ विहारहरूमध्ये एक इतुम्बहाः अर्थात् भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावर्त महाविहारका शाक्य कुल पुत्री हुनुहुन्छ ।