जात्रा पर्वसंस्कृति

यःसिं उठाएसँगै श्री पचली भैरव जात्रा विधिवत रुपमा शुरु

९ आश्विन, २०८२, काठमाडौं ।
श्री पचली भैरवको जात्राको क्रममा घटस्थापनाका दिन श्री पचली भैरवको मूर्ति कोहितीस्थित चित्रकारको घरमा पु-याइएको थियो । यस भन्दा अघि द्वादशीको दिन श्री पचली भैरवको जात्रा शुरु हुन लाग्यो भनी श्री पचली भैरव जात्रासँग सम्बन्धित गुथि, खलः, पुचःहरु र काठमाडौंको तल्लो टोल अर्थात् ऐतिहासिक दक्षिण कोलिग्राममा रहेका सर्वसाधारण भक्तजनहरुलाई सनांघासा प्रसाद वितरण गरिएको थियो ।


आज विहानको शुभ साइतमा श्री पचली भैरव परिसरमा रहेको यःसिंखेलमा यःसिं उठाएसँगै विधिवत रुपमा श्री पचली भैरव जात्रा शुरु भएको छ । उक्त अवसरमा गुरुजुको पल्टनको पनि उपस्थिति रहेको थियो र सलामी अर्पण गरी तोप पनि पड्काइएको थियो ।


झण्डै ५२ वर्ष अघिदेखि रोकिएको यो जात्रा वि.सं. २०८० सालबाट अनिल रंजितको सक्रियतामा यो जात्रा शुरु भएको हो । श्री पचली भैरवको यःसिं जात्रा संचालनका लागि मजिपातका रंजितकारहरुको जिम्मा रहेको छ । हिजो गत वर्ष ल्याई जात्रा पश्चात सुरक्षित राखिएको यःसिं मतुलीबाट जात्रा गरी श्री पचली भैरव मन्दिर परिसर यसिंखेलमा ल्याइएको थियो ।


यःसिं उठाउने जात्राको क्रममा यस वर्ष दोश्रो पटकको प्रयासमा जात्रा सम्पन्न भएको थियो भने पहिलो पटक उठाउँदा यःसिं पश्चिम पट्टि ढलेको थियो । जनश्रुति अनुसार यसरी ढल्दा देशमा कुनै अप्रिय घटना हुने संकेतको रुपमा लिइन्छ ।


श्री पचली भैरव जात्रा अन्तर्गत श्री रुद्र विनायकको जात्रा पनि आजैबाट शुरु हुन्छ । आज नेतं पूजा, भोलि पचिमह्रः पूजा, पर्सि मूल जात्रा र अन्तिम दिनमा लुकनय् भ्वय् हुने गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *