सुनेको थिएँ भगवान हुन्छ भनेर

सुनेको थिएँ भगवान हुन्छ भनेर
भक्कानिएको मन बुझेर होला
आँखाबाट झर्न नसकेको आँशु
झरी भै झरी दिएको ।
मुटुमा रहेको चोटहरू
देखाउन नसकेर होला
चट्याङ भई चम्किदिएको ।
सुनेको थिएँ भगवान सबैको हुन्छ भनेर
त्यही भएर होला मेरो भगवान
मौसम भएर आई दिएको ।
मनमा डढेलो लागेको बुझेर होला
आगो निभाउनका लागि
खोला बनी उर्लेर आएको ।
मुटुमा घोच्ने काँडाहरू देखेर होला
भीर पहराका फोहर पन्छाउन
पहिरो बनी दिएको ।
सुनेको थिएँ भगवान सबैको हुन्छ भनेर
त्यही भएर होला मेरो भगवान
मौसम भएर आई दिएको ।
मनको बह पोख्न नसकेर होला
बगर र खेत पनि
बगाऊँदै लगेको ।
बेदनाहरू बिसाउने ठाऊँ नभएर होला
बाटोघाटोमा
बिसाउँदै गएको ।
सुनेको थिएँ भगवान सबैको हुन्छ भनेर ।
त्यही भएर होला मेरो भगवान मौसम बनी आई दिएको ।।
त्यही भएर होला मेरो भगवान प्राकृतिक रुपमा जागी दिएको ।।।
मदन किपुल्चा
किसिपिडी, चनपा, काठमाडौं ।