भिमसेनस्थानमा आकाशदीप दानको लागि यःसिं ठड्याइयो
१२ कार्तिक २०८० ।
शरण डंगोल, काठमाडौं ।
पुरातात्विक अभिलेखहरुमा आवमत, अलाखमत आदि भनेर उल्लेख गरिएको आकाशदीप अर्थात आलमत कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म बालिन्छ ।
संस्कृतिविद् हरिराम जोशीका अनुसार प्राचीनकालमा व्यापारी तथा अन्य मानिसहरु सात समुद्र पार गरी देश विदेशमा व्यापार या अन्य प्रयोजनकोलागि जान्थे । तिनीहरु प्रायः कार्तिकमा फर्कन्थे । यसरी तिनीहरुको मंगल कामनाको लागि प्रतीकरुपमा नारीहरु आकाशदीप बाल्दथे ।
यसैको अननुरुप यो आकाशदीप बाल्ने परम्परा हालसम्म प्रचलनमा रहेको छ । यसै क्रममा काठमाडौं महानगरपालिका वडा नं. २० भिमसेनस्थानमा पनि आकाशदीप बाल्ने परम्परा गत वर्षदेखि पुनः शुरु गरिएको थियो । केही दिन अघि यहाँका नारीहरुले आकाशदीप दानको लागि ल्याइएको यःसिं तानेर भिमसेनस्थानमा पु-याइएको थियो जुन हिजो नारीहरुले नै तानेर उठाइएको थियो भने महानगरका उपमेयर सुनिता डंगोलले दीप प्रज्ज्वलन गरी एक महिनासम्म चल्ने उक्त आकाशदीप दानको शुरुवात गरेका थिए ।
सम्पदा संरक्षण समाज, नेपालको अगुवाईमा विगत २५ वर्षदेखि रोकिएको यो आकाशदीपको परम्परा गत वर्षदेखि शुरु गरिएको थियो । यसको लागि स्थानिय संस्कृतिप्रेमी युवाहरु लगायत यःसिं उठाउनको लागि स्थानिय मानन्धर समुदायको पनि सहयोग र सहकार्य रहेको छ ।

भिडियाेकाे लागि लिंकमा क्लिक गर्नुहाेस् ः