समालोचक अपर्णा प्रधानका चार पुस्तक विमोचित
१० भाद्र २०७९, ललितपुर ।
समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाको यान्त्रिकपुर, ल्वहं द्यः, पुनर्जन्म र प्रतिबिम्ब गरी चार वटा पुस्तक हिजो यहाँ विमोचन गरिएको छ । विमोचित पुस्तकहरूमा लघु कथा संग्रह, आत्मवृत्तान्त र समालोचना संग्रह छन् ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोबिन्द श्रेष्ठले लुभु क्षेत्रमा पुस्तक विमोचन गरी साहित्यमा श्रीवृद्धि गर्ने अवसर दिनुभएकोमा कुतः पिकाक र समालोचक अपर्णा प्रधानप्रति आभार व्यक्त गरे । भाषा, साहित्य, लिपि तथा संगीतले निश्चित ठाउँको समृद्धि हासिल हुने जनाउँदै महालक्ष्मी नगरपालिकाले यस्ता काममा सहकार्य गर्ने आश्वासन समेत दिए ।
लघु कथा संग्रहमा टिप्पणी गर्दै नेपालभाषा एकेडेमीका महासचिव डा. पुष्पराज राजकर्णिकारले साहित्यिक कार्यक्रमको महत्त्व र त्यसले अभिव्यक्त गर्ने दूरगामी प्रभावको विषयमा विचार पोखे । ‘अहिले हाम्रा छोरा नाति पढेर सक्षम भइसकेपछि विदेश पलायन हुने क्रम बढेको छ । यो क्रम नरोक्ने हो भने नेपाललाई एक ढंगको वृद्धाश्रम जस्तै बनाउनेछ । यो सबभन्दा चिन्ताको विषय हो ।’ डा. राजकर्णिकारको भनाइ थियो । यान्त्रिकपुर पुस्तकभित्रको लघु कथामा लेखकले बहुत मार्मिक ढंगले नयाँ पुस्ता बिदेसिने क्रम बढेको विषय उत्थान गरेकोप्रति धन्यवाद दिँदै यसलाई सरोकारवाला पक्षले बेलैमा ध्यान दिन आग्रह समेत गरे । डा. राजकर्णिकारले मातृभाषाको अवसर, प्रयोग र कार्य क्षेत्र संकुचन भएकोमा चासो व्यक्त गर्दै यसप्रति पनि ध्यान दिन अनुरोध गरे ।
कुतः पिकाक प्रकाशन गृहको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा तिलक प्रकाश कायस्थ, कृष्णभक्त बोडे, विष्णु केशरी ताम्राकार, पूर्ण ताम्राकार, ई. रामबहादुर श्रेष्ठ, विमल ताम्राकार लगायतको सहभागिता थियो । समालोचक प्रधानले साहित्यका विभिन्न विधामा कमल चलाउँदै अहिलेसम्म २९ वटा पुस्तक प्रकाशन गरेकी छन् ।