जात्रा पर्वफाेटाे फिचरसंस्कृति

थेचो नवदुर्गा भवानी देवीको १२ वर्ष जात्रा अन्तर्गत आगँ सिँ देव घर भित्र्याइयो 

१५ भदाै २०७९ । शरण डंगाेल, ललितपुर ।
थेचो नवदुर्गा भवानी देवीको १२ बर्षे जात्रा अन्तर्गत कुल्पी यज्ञ होमको लागि हिजो आगँ सिँ देव घर भित्र्याइयो ।
१२ वर्षे जात्रा तालिका अन्तर्गत हिजो बिहानै नवदुर्गा गुठीका ३४ जना गुठियार मध्ये २९ जना गुठियारहरूले आगँ सिँ लिन दलचोकीका लागि प्रस्थान गरेका थिए । आचाजुद्वारा नवदुर्गा मन्दिरमा पूजाआजा पश्चात् देबगण र  गुठीयारहरुलाई  बन्चरो हस्तान्तरण गरे पश्चात आगँ सिँ को निमित्त दलचोकीका लागि प्रस्थान गरेका थिए ।
देवगणहरू थेचो देव घर, चापागाउँ, सेराफाँट, चारघरे, तिनपाने भञ्ज्याङ्ग हुँदै दलचोकी पुगेका थिए । त्यहाँ पहिले नै आगँ सिँको लागि छानिएको रुखमा पूजा गरी सकेपश्चात् अन्य आगँ सिँको लागि आवश्यक अन्य रुख काटी द्यःबु सहित २९ भारी बनाई पुनः सोही बाटो हुँदै सेराफाँट स्थित चारघरे पुर्याइएको थियो । चारघरेबाट परम्परागत बाजागाजा सहित धूमधामकासाथ जात्रा गर्दै आगँ सिँ देव घर भित्र्याइएको थियो । सो अघि सेराफाँटमा आचाजुद्वारा च्वबां (एक प्रकारको बली) सहित पूजाआजा गरी स्वागत गरिएको थियो ।
द्यःबु को आगँ सिँ जंगलदेखि कतै नबिसाईकन देवघरमा भित्र्याउनु पर्ने मान्यता रहेको छ र देवघरमा पनि भुईँमा नबिसाई झुन्ड्याएर राख्ने गरिन्छ । जुन कुल्पी होमको लागि अन्य आगँ सिँसँगै बालकुमारी शक्ति पिथमा लगिन्छ ।
देवगण र गुठियारहरू आगँ सिँ लिन जाँदा भक्तजनहरू पनि सँगै दलचोकी पुगेका थिए । भक्तजनहरूले आगँ सिँको लागि रुख काट्दा निस्केका स–साना टुक्रा काठहरू, रुखका हाँगाहरू आफूसँगै बोकेर ल्याउने रहेछ । सो काठका टुक्राहरु कुल्पी होममा अर्पण गरेमा पूण्य लाभ मिल्ने तथा लक्ष्मीपूजाको दिन लक्ष्मीदेवीलाई सो काठबाट बनेको धूप बत्ती अर्पण गरेमा धनधान्यले पूर्ण हुने जनविश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *