ललितपुर २० मा उद्घोषण प्रशिक्षण सम्पन्न
८ असार २०७९, सुरज, ललितपुर ।
ललितपुर महानगरपालिका २० वडा युवा समितिको आयोजनामा एक हप्ते मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । ललितपुरको ख्वाय्बहीस्थित लोटस रिसर्च सेन्टरमा भएको उक्त प्रशिक्षणमा करिब २० युवाहरुको सहभागिता रहेको थियो ।
ललितपुर महानगरपालिका २० वडाको आर्थिक सहयोगमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको हिजो सम्पन्न समापन समारोह वडा अध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण पश्चात आफ्नो मन्तब्यका क्रममा वडाले भौतिक विकासलाई मात्रै प्राथमिकतामा नराखी वडाबासीको आर्थिक, सामाजिक एवं ब्यक्तित्व विकासलाई पनि उत्तिकै ध्यान दिने बताउनु भयो । यस प्रशिक्षणमा सहभागी सम्पूर्णमा मात्र एक साताको प्रशिक्षणले मन्तब्य तथा उद्घोषण कलामा देखिएको प्रगतिले आफू निकै प्रभावित भएको उहाँको भनाई थियो ।
कार्यक्रमका सभापति नेपाली काँग्रेस २० वडा इकाई समिति सभापति तथा वडा सदस्य शैलेन्द्र शाक्यले प्रशिक्षणबाट प्रशिक्षार्थी तथा आयोजक निकै हौसिएको बताउँदै अबका दिनहरुको यस्तै प्रशिक्षणको आयोजना बृद्धि गरिने बताउनु भयो ।
समारोहमा वडा सदस्यहरु गीता महर्जन, इकाई उपसभापति तथा प्रशिक्षण संयोजक रामगोपाल महर्जन, प्रशिक्षक सुरजवीर बज्राचार्यले आफ्ना भनाई राखेका थिए भने प्रशिक्षार्थीहरु सानुलाल महर्जन, हिराकाजी शाक्य, मदन महर्जन, प्रमिला शाक्य, पुनिता श्रेष्ठ, रुपकृष्ण कर्माचार्य, राजेन्द्र महर्जन, दुर्गालक्ष्मी शाक्य आफ्नो अनुभव मन्तब्य राखेका थिए ।