शिक्षास्थानिय समाचार

एसईई परिक्षार्थी र अभिभावकलाई विज्ञहरुको परामर्श, अभिभावकले विशेष ध्यान दिन विज्ञहरुको सुझाव

२१ जेठ २०७९, काठमाडौं ।
एसईई परीक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम हिजो यहाँ सम्पन्न भएको छ ।

शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै अभिभावकहरुलाई कुशल अभिभावकत्वबारे परामर्श दिइएको थियो ।

कार्यक्रममा शैक्षिक परामर्शदाता इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङले विद्यार्थी र अभिभावकहरुलाई परामर्श दिएका थिए । साथमा विभिन्न विद्यालयका प्रधानाध्यापकले पनि विगतका शैक्षिक गतिविधिको अनुभवका आधारमा सुझाव दिएका थिए । ‘विद्यार्थीको जीवनमा एसईई परीक्षा महत्वपूर्ण समय हो, यसपछि अगाडी बढ्न विद्यार्थीको साथमा अभिभावकीय भूमिका पनि महत्वपूर्ण हुन्छ,’ परामर्शदाता इन्द्रले भने, ‘अहिले तपाईँहरुले आफ्ना बालबच्चाको लागि अझ बढि समय दिनुस्, धेरै भन्दा धेरै कुराकानी गर्दै उनीहरुलाई आवश्यक सल्लाह सुझाव दिनुस् ।’ अभिभावकहरुले आफ्ना सन्तानलाई पढाई वा विषय छनौटमा कुनै किसिमको दबाब नदिन गुरुङले आग्रह गरे । विद्यार्थीहरुलाई अरुको लहलहैमा लागेर विषय नचुन्न र आफ्नो चाह, कार्य कुशलता र क्षमताको आधारमा शैक्षिक यात्रा अगाडी बढाउन सुझाए ।

एसईई विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रमहरु हुने गरिए पनि कुशल अभिभावकत्व तालीम खासै नहुने गरेको कार्यक्रम संयोजक दिनेश महर्जनको दावी छ । ‘एसईई पछि विषय छनौटमा विद्यार्थीहरु निकै गम्भीर हुनुपर्छ, यसमा अभिभावकको सुझाव, मार्गनिर्देशन पनि निकै महत्वपूर्ण कुरा हो,’ संयोजक महर्जनले भने, ‘कुशल अभिभावकत्व परामर्शको सवालमा यो पहिलो कार्यक्रम नै हुनसक्छ ।’

सोही कार्यक्रममा काठमाडौ बर्नहार्ट कलेजका उपप्राध्यापक सुरज शिवाकोटीले आफ्नो कलेजमा ज्यापु महागुथिको सिफारिसमा दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे । आर्थिक अवस्था, परीक्षामा प्राप्त अङ्कको आधारमा छात्रवृत्ति दिने जानकारी शिवाकोटीले दिनुभयो । कार्यक्रममा समृद्धी कलेजका प्रधानाध्यापक नरेश श्रेष्ठले विद्यार्थीहरुलाई शुभकामना दिँदै विज्ञहरुको परामर्शलाई मनन गर्दै अगाडी बढ्न सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *