जात्रा पर्वफाेटाे फिचरसंस्कृति

हरसिद्धि त्रिशक्ती भवानी १२ वर्षे जात्रा अन्तर्गत देय भ्वय्

१७ मंसिर २०७८ ।
शरण डंगोल, ललितपुर ।

हरसिद्धि त्रिशक्ती भवानीको १२ वर्षे जात्रा अन्तर्गत गत १५ गते देय भ्वय् अर्थात् देशभरीका बासिन्दालाई खुवाइने भोज सकिएको छ । हरिसिद्धि नगरको नासःद्य डबली र यसको वरपरसम्म बाटोबाटोमै लस्करै राखी परम्परागत सांस्कृतिक देय भ्वय् कार्यक्रम गरिएको थियो ।

हरसिद्धि त्रिशक्ती भवानीको २९ देवगण मध्ये च्यागु खलः अन्तर्गतका १० जना गुथियारद्वारा १२ वर्षे जात्राको प्रसाद वितरण स्वरुप सो देय भ्वय् नगरवासीहरुलाई खुवाइएको थियो ।

विभिन्न देवगणद्वारा नै प्रसाद वितरण शुरु गरिएको सो कार्यक्रममा पछि स्वयंसेवकहरुले देवगणहरुलाई सहयोग गरेका थिए ।

एकदिन अगाडि च्यागु खलःका देवगणहरुले श्री भैरवको प्रतिकस्वरुप १० वटा ताकु थ्वःको घ्याम्पो घरघरबाट ल्याई यहाँ नासःद्य डबलीमा पूजा गरिएको थियो भने सम्पूर्ण देवगणहरुले कार्यक्रमको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री तयार गरेका थिए ।

उक्त कार्यक्रममा देवगणबाट टीका वितरण गरी देय भ्वय् खुवाइएको थियो । भ्वय्का परिकारहरुमा चिउरा १ माना र १ मुठ्ठि, मुस्या, पालु, तःखाला, छोयला, हिंला, पुकाला र ताकु थ्वं आदि प्रशाद स्वरुप खुवाईको थियो । हरेक व्यक्तिले निजी थाल नै ल्याउनु पर्ने एक विशेष प्रकारको परम्परागत संस्कृति अझै पनि यहाँ जीवन्त रहेको छ ।

हरसिद्ध भवानीमा आस्था राख्ने यस नगरका परम्परागत हरेक परिवारबाट एकजना पुरुषलाई खुवाइएको देय भ्वय्मा जंकु गरिसकेका बूढापाकादेखि युवासम्मको उत्साहजनक सहभागिता रहेको थियो ।

हरेक १२ वर्षमा गरिने यो देय भ्वय् देवगणहरुबाट आयोजना गरिएको थियो भने आगामी २५ गते परम्परागत स्थानीय परिवारबाट प्रति घर निश्चित रकम संकलन गरी स्थानीयबाटै अर्को देय भ्वय्को आयोजना गरिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *